राजनीति

एमालेका यी 'हाई प्रोफाइल' नेता, जो केन्द्र छाडेर प्रदेशमा चुनाव लड्दै छन्
SHARES

असोज २७, २०७४

    काठमाडौं: आगामी मंसिरमा हुन गइरहेको प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि दलहरू अहिले उम्मेदवार छनोटको तयारीमा छन्। मुलुक निर्वाचनतिर केन्द्रित भइरहेका बेला दलहरू निर्वाचनको तयारीमा जुटेका हुन्।

    प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीचको वाम गठबन्धन बनेयता कुन दलबाट को नेता कहाँबाट निर्वाचन लड्दै छन् भन्ने विषय पनि चासोको विषय बन्दै गएको छ।

    प्रतिनिधिसभाको निर्वाचनसँगै नेपालको संविधानअनुसार प्रदेशसभाका लागि हुने निर्वाचनबाट मुख्यमन्त्रीका लागि निर्वाचन हुनेछ। त्यसैलाई मध्यनजर गरी दलहरूले प्रदेशमा मुख्यमन्त्री बनाउने उद्देश्यले केन्द्रीय तहका केही नेतालाई प्रदेशसभाको निर्वाचनमा उठाउने तयारी गरेका छन्। यसै सन्दर्भमा एमालेले पनि सातवटै प्रदेशमा मुख्यमन्त्री बनाउने उद्देश्यले केन्द्रीय नेताहरू उठाउने तयारीमा छ। एमालेका केही नेताहरूले आफैँ पनि दाबी प्रस्तुत गर्दै आएका छन्। 

    प्रदेश नम्बर १

    प्रदेश नम्बर १ मा एमालेका विभिन्न नेताहरू प्रदेशसभामा उठ्ने चर्चा छ। खासगरी एमालेका लागि अनुकूल प्रदेशका रूपमा समेत मानिने प्रदेश १ मा एमाले सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई उठ्ने तयारी छ। यी दुई नेताले प्रदेशको मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन्।

    सँगै अर्का पोलिटब्युरो सदस्य लालबाबु पण्डित पनि प्रदेशसभाको उम्मेदवार बन्ने चर्चा छ। गएको स्थानीय तहको निर्वाचनमा एमालेले बहुमत सिट जितेको क्षेत्र हो प्रदेश नम्बर १। यो प्रदेशमा अर्का सचिव योगेश भट्टराईको पनि नाम चर्चामा छ। केन्द्रीय तहका नेताहरू धेरै भएको प्रदेशसमेत रहेको प्रदेश १ मा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि छन्। तर उनी संविधानसभा अध्यक्ष र सभामुख भइसकेकाले मुख्यमन्त्रीको दौडबाट बाहिरिइसकेका छन्।

    प्रदेश नम्बर २

    एमाले कमजोर मानिएको प्रदेश हो, प्रदेश २। भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा कमजोर परिणाम ल्याएको एमालेले यस निर्वाचनमा कसरी हुन्छ आफ्नो अवस्था सुधार्ने पक्षमा छ। यस प्रदेशमा खासगरी प्रदेशसभाका लागि स्थायी समिति सदस्य सत्यनारायण मण्डल, पोलिटब्युरो सदस्य नागेन्द्र चौधरी र केन्द्रीय सदस्य रघुवीर महासेठलगायतका नेताहरू चर्चामा छन्।

    मुख्यमन्त्रीका लागिसमेत दाबी गर्दै आएका यी नेताहरूमध्ये कुनै एकलाई अगाडि सार्ने एमाले तयारी छ तर हालसम्म निश्चित भने गरिसकेको छैन। त्यसो त कमजोर क्षेत्र भएकाले तथा वाम तालमेलअनुसार अगाडि बढ्ने भएकाले पनि निर्वाचनमा जाँदा मुख्यमन्त्रीका रूपमा यी नेताबाहेक अन्य नेतालाई पनि ल्याउन सक्ने संभावना देखिन्छ।

    प्रदेश नम्बर ३

    स्थानीय तहको निर्वाचनमा राम्रो नतिजा ल्याउन सफल भएको प्रदेश हो, ३ नम्बर प्रदेश। केन्द्रीय राजधानी तथा धेरै केन्द्रीय नेता भएको क्षेत्र भएकाले पनि यस प्रदेशमा चलखेल बढी नै गर्दछ। त्यसैले मुख्यमन्त्रीका दाबेदार नेताहरू पनि धेरै देखिन्छन् एमालेबाट।

    निर्वाचन नजिकिँदै जाँदा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीमा दाबी गर्दै आएकी छन्। एमाले स्थायी समितिमा एक मात्र महिला सदस्य शाक्य प्रदेश प्रमुखसमेत हुन्। त्यससँगै स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, पोलिटब्यूरो सदस्य राजेन्द्र पाण्डे, पशुपति चौलागाईं, आनन्द पोखरेलसमेत मुख्यमन्त्रीको दाबेदार रहेका स्रोतले बतायो।

    यस्तै, तामाङ बाहुल्य क्षेत्र रहेको यस प्रदेशमा केन्द्रीय सदस्य शेरबहादुर तामाङले समेत मुख्यमन्त्रीमा दाबी गर्दै आएका छन्। तर सर्वसम्मति भएमा मुख्यमन्त्रीको उम्मेदवार हुने राजेन्द्र पाण्डेको तयारी देखिन्छ। पाण्डे आफैँले समेत सार्वजनिक रूपमा प्रदेशसभामा उठ्ने बताएपछि मुख्यमन्त्री पाण्डे नै हुने नेताहरू बताउँछन्।

    प्रदेश नम्बर ४

    एमालेले प्रदेश नम्बर ४ मा भएको स्थानीय निकायको निर्वाचनमा सोचेजस्तो परिणाम ल्याउन सकेन तर निराशाजनक स्थिति पनि देखिएन। त्यही क्षेत्रमा मंसिरमा हुन गइरहेको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि को बन्लान् त मुख्यमन्त्रीको उम्मेदवार? चासोको विषय बनेको छ।

    यस प्रदेशमा आगामी निर्वाचनका लागि मुख्यगरी मुख्यमन्त्रीका लागि एमालेका दुई ठूला नेताहरूले दाबी गर्दै आएका छन्। खासगरी प्रदेश ४ बाट एमालेका पार्टी सचिव तथा संगठन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङ र प्रदेश संयोजक तथा स्थायी कमिटी सदस्य किरण गुरुङले मुख्यमन्त्रीको दाबी गर्दै आएका छन्।

    त्यसो त मिडियामा सधैँ चर्चामा रहने युवा नेता तथा संसदको विकास समितिका सभापति रवीन्द्र अधिकारी, स्थायी समिति सदस्य खगराज अधिकारी पनि मुख्यमन्त्रीको दाबी गर्दै आएका छन्। स्थानीय तहको निर्वाचनमा कांग्रेसको बहुमत देखिएको यस प्रदेशमा एमालेले वाम तालमेलपछि भने आफ्नो संभावना अगाडि बढाएको छ।

    प्रदेश नम्बर ५

    केन्द्रीय तहका नेताहरू धेरै भएको फराकिलो भूगोल भएको प्रदेश ५ नम्बरमा आधा दर्जन बढी एमाले नेताहरूले मुख्यमन्त्रीको दाबी गर्दै आएका छन्। खासगरी उपाध्यक्ष वामदेव गौतम, युवराज ज्ञवाली, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल, सचिव प्रदीप ज्ञवाली, गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य शंकर पोखरेल तथा छविलाल विश्वकर्मा यही प्रदेशका नेता हुन्।

    त्यसैले यीमध्ये को बन्लान् मुख्यमन्त्रीका उम्मेदवार भन्ने प्रश्न छ। तर विशेषगरी प्रदेश नम्बर ५ मा उपमहासचिवद्वय विष्णु पौडेल, घनश्याम भुसाल, सचिवद्वय प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, स्थायी समिति सदस्य छविलाल विश्वकर्मा, नेताहरू बैजनाथ चौधरी, दलबहादुर रानामगरको नाम मुख्यमन्त्रीका लागि चर्चामा छन्। तर पार्टीले अनुमति दिएका नेता मात्र मुख्यमन्त्रीका लागि प्रदेशसभामा उठ्ने भएकाले यीमध्ये कसले पाउँछन् भन्ने भने तय भइसकेको छैन।

    प्रदेश नम्बर ६

    एमालेका लागि प्रदेश नम्बर ६ खासै अनुकूल जिल्ला होइन। हालै सम्पन्न स्थानीय तह निर्वाचनमा दुई सिटले मात्र यो प्रदेशमा एमाले पहिलो पार्टी बन्न सफल भएको छ।

    तुलनात्मक रूपमा माओवादी पनि राम्रो स्थानमा रहेको यस प्रदेशमा एमालेबाट पोलिटब्युरो सदस्यहरू प्रकाश ज्वाला, यमलाल कँडेल, गोरखबहादुर बोगटी मुख्यमन्त्रीका चर्चामा छन्। प्रदेश नम्बर ६ मा एमालेका कोही पनि स्थायी समिति सदस्य नभएकाले पोलिटव्यूरो सदस्य प्रकाश ज्वाला, प्रदेश सहसंयोजक पोलिटब्युरो सदस्य यमलाल कँडेल र पोलिटव्यूरो सदस्य गोरखबहादुर बोगटीले मुख्यमन्त्रीको दाबी गर्दै आएका छन्।

    प्रदेश नम्बर ७

    यो प्रदेश प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृहप्रदेश हो। स्थानीय चुनावभन्दा पहिले एमालेको कमजोर क्षेत्र भएको प्रदेश मानिए पनि स्थानीय चुनावमा भने राम्रो मत ल्याउन सक्यो। यस प्रदेशमा एमाले उपाध्यक्ष भीम रावलसँगै पोलिटब्युरो सदस्य कर्णबहादुर थापा, पूर्व मन्त्री भानुभक्त जोशीलगायतका नेताको चर्चा छ। यस प्रदेशमा उपाध्यक्ष भीम रावलले नेतृत्व गर्न चाहेमा रावलका लागि बाटो खुला छ।

    तर उनी केन्द्रमा आउन चाहेमा चर्चामा आउन चाहेका नेताहरूमध्येबाट मुख्यमन्त्रीको उम्मेदवार छनोट गरिनेछ। एमालेले यस निर्वाचनमा मुख्यमन्त्रीको उम्मेदवार छनोट गर्दा सिंगो प्रदेशको नेतृत्व गर्न सक्ने केन्द्रीय तहकै नेताको कमाण्डमा उम्मेदवार बनाउने तयारी गरेको छ। त्यसको नेतृत्व एमालेको स्थायी समितिले गर्नेछ।

    स्थायी समितिले कुन नेतालाई प्रदेशमा उठाउने र कुन नेतालाई प्रतिनिधिसभामा उठाउने भन्ने निर्णय लिनेछ। एमाले पोलिटब्युरो सदस्य प्रकाश ज्वाला प्रदेशसभामा उठ्ने उम्मेदवारका विषयमा अहिले पार्टीभित्र छलफल भइरहेको तर मुख्यमन्त्रीका विषयमा भने गम्भीर छलफल सुरु भइनसकेको बताउँछन्। प्रदेश ६ का तर्फबाट मुख्यमन्त्रीका दाबेदारसमेत रहेका नेता ज्वाला कसलाई कहाँ उठाउने भन्ने निर्णय पार्टीले लिने बताउँछन्।

देविका घर्ती मगर

देविका थाहाखबरकी संवाददाता हुन्। उनी राजनीतिकसँगै महिला, जनजाति तथा सांस्कृतिक मुद्दामा कलम चलाउँछिन्।

Follow @devikamagar

 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]