|

 मनोज भट्टराई-

    ओखलढुंगा : ओखलढुंगाका अधिकांश ठाउँहरुमा लगाइएका फलफूलमा फलभित्र किरा पर्ने समस्याले कृषकहरु मारमा परेका छन्। जुनार सन्तोला निबुवा लगायतका  फलफूलमा यस्तो समस्या देखा परेपछि यहाँका  किसान चिन्तित बनेका छन्।

    ‘जुनार सन्तोला लगाएतअमिलो जातका फलफूलमा त किरा परेकै थियो तर, अहिले सबै जातका फलफूलमा किरा पर्न थाल्यो’ गाम्नानङगारका जुनार कृषक ज्ञानबहादुर  बुढाथोकीले भने, ‘गत वर्षदेखि त कोदो मकैको फलमा समेत किरा देखिन थालेको छ।’

    जिल्लाको विशेष गरी लिखु र खजिदेम्बा गाउँपालिकाका अधिकांश भूभाग, मोलुङ गाउँपालिकाको रामपुर, सिद्धिचरण नगरपालिकाको रुम्जाटार, मानेभञ्ज्याङ गाउँपालिकाको उँवु, वाक्सा, मानेभञ्ज्याङ र  केतुके क्षेत्रका फलफूलमा यस्तो समस्या रहेको कृषि विकास कार्यालय ओखलढुंगाका प्रविधिक सहायक हेम आले मगरले बताए।

    फलफूलमा किरा पर्ने समस्यालाई समाधान गर्नका लागि फूल फूल्ने समयमा सबै कृषकहरु चनाखो हुनुपर्ने र फूल फूल्ने समयमा विसाषि प्रयोग गरे केही समाधान हुने उनको भनाइ छ। ओखलढुंगामा कुल १ सय ४५ हेक्टर जमिनमा फलफूल लगाइएको तथ्यांक छ।

    यो समस्याका कारण व्यावसायिक रुपमा जुनार खेती गर्दै आएका गाम्नानङगारका रामचन्द्र भट्टराईले किराको प्रकोपका कारण बगान मास्न लागेको बताए। उनले भने, ‘५ रोपनी जग्गामा लगाएका सबै विरुवाहरु रोग किराको प्रकोपकै कारण मास्न लागेको  छु।’

    जुनार सन्तोलाका हाँगाहरुमा ढुँसी पर्ने समस्याले समेत सताइरहेको भट्टराईले सुनाए। ओखलढुंगामा वार्षिक प्रतिरोपनि चारसय केजीका दरले १ हजार १ सय ६० मेट्रिक टन  अमिलो जातका फलफूल फल्ने गरेको कृषि विकास कार्यालय ओखलढुंगाको तथ्यांकमा उल्लेख छ।

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.