नगदेबालीको बजारमूल्य अनिश्चितताले किसान र व्यापारी अन्योलमा
नगदेबालीको बजारमूल्य अनिश्चितताले किसान र व्यापारी अन्योलमा
इलाम : नगदेबालीको उत्पादनबाट आर्थिक अवस्था मजबुत भएको इलाममा पछिल्लो समय बजारको अनिश्चितताले कृषक अन्योलमा छन्। नगदेबाली खेतीको विस्तारसँगै उत्पादन वृद्धि हुँदै गए पनि मूल्यमा आउने उतारचढावले कृषक मारमा पर्ने गरेका हुन्।
जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार अलैंची, अदुवा, अकबरे, अम्रिसो लगायतका बालीबाट जिल्लामा वार्षिक १० अर्ब रुपैयाँको हाराहारी रकम भित्रन्छ। भारतीय बजारमा निर्भर यी नगदेबालीको बेलाबेलामा हुने मूल्यको उतारचढावले भने सोचेअनुसार आम्दानी वृद्धि नभएको कार्यालयको भनाइ छ।
यी उत्पादनको परनिर्भरता भारतमा मात्र बढ्दै जानु, आन्तरिक रूपमा प्रशोधन गरेर स्थानीय बजारमा सामग्री पु¥याउनु नसक्नु र राज्यले स्पष्ट निर्यात नीति र सहज वातावरण बनाउन नसक्दा किसानहरुको आम्दानी गुमिरहेको छ। कृषकमा पनि प्राविधिक ज्ञानको अभावमा बजार अनुसारको गुणस्तरीय उत्पादन गर्न नसक्नु जस्ता कारणले इलाममा नगदेबालीको सम्भावना भए पनि बजार बढ्न नसकेको सरोकारबालाहरुको भनाइ छ।
भारतको दार्जिलिङमा चलिरहको गोर्खाल्यान्ड आन्दोलनका कारण नेपालको अदुवा भारततर्फ निकास हुन सकेको छैन। व्यापारीले सस्तो मूल्यमा नै अदुवा किनेर भण्डार गरे पनि बिक्री गर्न मुस्किल छ। अघिल्ला सिजनमा प्रतिमन १२ सय रुपैयाँसम्म मूल्य लिएका कृषकले योपटक ५ सय रुपैयाँमा मात्र बिक्री गर्नुपर्यो।
उत्पादन हुने सिजनमा अदुवाले हरेक वर्ष बजारको समस्या खेप्ने गरेको छ। भारतीय पक्षले मिसावट भएको, गुणस्तररहित भएको लगायत बहानामा अदुवा निर्यातमा झन्झट दिने गरेको छ।
कृषकले अदुवाको बीउ प्रतिमन २ हजार रुपैयाँसम्म खर्चेर किन्ने गर्छन्। ‘कुनै बेला हवात्तै भाउ आउने त कहिले तल झर्ने गरेको छ,’ माईजोगमाई गाउँपालिका प्रेमेजुङका नेत्र दाहालले भने, ‘राम्रो मूल्य पाउने आशामा कृषकले अदुवा रोप्ने गर्छन्। कहिलकाहीँ त मिहिनेत पनि उठ्दैन।’ जिल्लामा ३ हजार २ सय ३३ हेक्टर क्षेत्रफलमा लगाइएको अदुवाबाट ४६ हजार टन उत्पादन हुन्छ।
अम्रिसोको कुचोले पनि कृषकलाई यसैगरी झुक्याउने गरेको छ। प्रतिकिलो १ सय रुपैयाँसम्ममा बिक्री भएको कुचो यस वर्ष २५ रुपैयाँमा पनि बेच्न पनि किसानहरुलाई मुस्किल पर्यो। घाँस, दाउरा र फूल बिक्री हुने भएकाले घरबारीमा अम्रिसो रोप्ने क्रम बढ्दो भए पनि आम्दानी लिने बेलामा किसानलाई चिन्ता नै पर्छ। जिल्लाका अधिकांश स्थानमा व्यावसायिक ढंगले कुचोको उत्पादन हुन्छ।
खोल्साको सुन उपमा पाएको अलैँची फेरि किसानहरुले जगाएका छन्। रोगका कारण मासिएर बगानलाई घरघुरेन छेउमा रोपेर पनि इलामका किसानहरुले उत्पादनबाट आम्दानी लिन थालेका छन्। उत्पादन घट्दा प्रतिमन १ लाख रुपैयाँको हाराहारीमा पुगेको अलैंचीको मूल्य क्रमशः घट्दो छ। अहिले अलैंची प्रतिमन ३५ हजार रुपैयाँमा ओर्लिएको छ। दानाबाट उत्पादन भएका र रोगको प्रकोप नभएका विरुवा खोजेर कृषकले अलैंचीलाई पुनः जगाएका हुन्।
पहिले चिस्यान जमिन र खोलाखोल्सी आसपास मात्र रोपिने अलैंची हिजोआज घरबारीमा रोप्न थालिएको छ। मकै, आलुलगायतका परम्परागत खेती अलैंचीका कारण विस्थापित हुने क्रममा छन्। तर मूल्य अनिश्चितताले कृषकलाई मात्र हैन व्यापारीलाई पनि उत्तिकै सताएको छ।
बढी मूल्य पाउने आशामा कृषकबाट अलैँची खरिद गरेर गोदाममा थन्क्याउने गरे पनि घट्दै गएको मूल्यका कारण व्यपारीहरुले समेत घाटा व्यहोर्नुपरेको छ। अन्तर्राष्ट्रिय बजारको पहुँच नहुँदा भारतमा नै निर्भर रहनुले अलैंचीले उचित मूल्य नपाएको व्यवसायी बताउँछन्।
देशकै नमुना बनेको इलामको चिया पनि भारतीय बजारमा नै निर्भर छ। अग्र्यानिक उत्पादन गर्न नसक्दा पश्चिमा बजारमा न्यून मात्र खपत हुने गरेको छ। आफ्नै ब्रान्ड नहुँदा इलाममा उत्पादन भएको करिव ७० प्रतिशत हरियो चियापत्ती भारतको कोलकातामा दार्जिलिङ टी को नामबाट बिक्री वितरण भइरहेको छ।
उपयुक्त प्रविधि र कामदार अभावका कारण गुणस्तरीय चिया उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमा आफ्नै ब्रान्डमा पुर्याउन समस्या रहेको सूर्योदय नगरपालिकाका किसान एवं उद्यमी काजीमान कागते बताउँछन्।
यहाँका अधिकांश कृषकको उत्पादन स्थानीय कारखानाले प्रशोधन गरेर भारतीय बजारमै पुर्याउँछन्। चियामा गर्ने जनशक्ति अभाव र न्यून मूल्यका कारण कृषक निर्बाहमुखी मात्र भएको गुनासो गर्छन्।
यहाँ उत्पादन हुने अकबरे खुर्सानी सामान्य ढंगले स्थानीय बजारमा कारोबार हुन्छ। भारतको दार्जिलिङ मुख्य बजार रहे पनि त्यहाँ चलेको आन्दोलनका कारण निर्यात ठप्प छ।
यसबाट किसान चिन्तामा रहेका छन्। इलाममा ७० हजार ३ सय ३० हेक्टर खेतीयोग्य जमिनमध्ये ६३ हजार २ सय ९७ हेक्टरमा खेती हुन्छ। यसमा पनि अधिकांश हिस्सा नगदेबालीले ओगटेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।