|

रुपन्देही : नेपाल विद्युत् प्राधिकरणले बुटवल–मैनहिया १३२ केभिए प्रसारण लाइन विस्तारका लागि वैकल्पिक मार्गको अध्ययन थालेको छ। प्राधिकरणले सिद्धार्थ राजमार्ग क्षेत्रलाई रोजे पनि सडक विभागले स्वीकृति नदिएपछि विकल्पको रुपमा तिनाउ नदी किनारबाट लैजानका लागि अध्ययन थालिएको छ।

रुपन्देहीको दक्षिणी क्षेत्रमा विद्युत् आपूर्तिलाई सहज बनाउन बुटवल–मैनहिया १३२ केभी प्रसारण लाइन विस्तार गर्न लागेको प्राधिकरणले सडक क्षेत्रबाट प्रसारण लाइन बनाउन सडक विभागले स्वीकृति नदिएपछि तिनाउ नदी आसपासको क्षेत्रबाट अघि बढाउने गरी नयाँ विकल्प अघि सारेको हो।

प्राधिकरणले १३२ केभिएका लागि मैनहियामा सव स्टेसन बनाइरहेको छ। त्यही सवस्टेसनसम्म लैजाने प्रसारण लाइनको बाटो निश्चित हुन नसकेपछि आयोजनाको काम एक वर्ष पछाडि धकेलिएको बुटवल–लुम्बिनी १३२ केभी प्रसारण आयोजनाका प्रमुख हरिप्रसाद पाण्डेले जानकारी दिए।

तिनाउ किनारबाट प्रसारण लाईन विस्तार सहज नभएकाले प्राधिकरणले सिद्धार्थ राजमार्गको योगीकुटी–कोटिहवा सडक खण्डबाट विस्तार गर्न दिन सडक विभागसँग अनुरोध गरेको थियो। सडक क्षेत्रबाट विस्तार गर्दा कुनै क्षति नहुने र पूर्णतः सुरक्षात्मक उपाय अपनाउने प्राधिकरणको भनाईलाई सडक विभागले बेवास्ता गरेपछि विकल्प खोजिएको हो।

बुटवल–लुम्बिनी १३२ केभी प्रसारण आयोजनाका प्रमुख पाण्डेले तिनाउ नदीको दायाँ वा बायाँ कताबाट राम्रो हुन्छ, त्यसबारे सर्भे सहितको सबै कामको जिम्मेवारी दिनेगरी ठेकेदार कम्पनी छनोट गर्ने बताए। आयोजनाले प्राधिकरण केन्द्रीय कार्यालयमा इस्टिमेट पठाइसकेको र स्वीकृत भइसकेपछि थप प्रक्रिया अगाडि बढाउने उनले बताए।

विद्युत् भार अनुसार प्रसारण लाईन विस्तार र सव स्टेशनको अभावले भैरहवा र लुम्बिनी क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या भइरहेको छ। लुम्बिनी करिडोरका उद्योगलाई पनि प्राधिकरणले माग गरेअनुसार विद्युत दिन सकिरहेको छैन। ‘सरकारी निकायबीच समन्वय छरितो हुन नसक्दा ढिलाइ भयो, अब काममा ढिलाइ नगर्ने गरी काम अघि बढाउँदै छौं’ पाण्डेले भने।

बुटवल–मैनहिया प्रसारण लाइनका लागि प्राधिकरणले तीन विकल्प अघि सारेको थियो। पहिलो बुटवल–योगीकुटी–कोटिहवा–लखनचोक हुँदै मैनहिया, दोस्रो योगीकुटी–तिनाउ किनारको पूर्व क्षेत्र हुँदै र तेस्रो तिनाउ किनारको पश्चिम क्षेत्र हुँदै मैनहिया लैजान सकिने विकल्प अघि सारिएको हो।

त्यसमध्ये पहिलो विकल्पका लागि सडकले स्वीकृति नदिएपछि दोस्रो र तेस्रो विकल्प अघि सारिएको हो। आयोजना प्रमुख पाण्डेले राजमार्गको योगिकुटी–कोटिहवा हुँदै मैनहियाको १९ किमी दूरीको विकल्प छरितो र सस्तो पर्ने तर अरु विकल्पमा जाँदा लागत बढ्ने बताए।

पहिलो विकल्पबाट प्रसारण लाईन विस्तार गर्दा ८० करोड रुपैयाँ लागत लाग्ने इस्टिमेट गरिएको थियो। तिनाउ किनारको दुवै क्षेत्र प्रसारण लाइनका लागि जोखिमयुक्त भए पनि यही ठाउँबाट लैजानुपर्ने बाध्यता प्राधिकरणलाई छ। नदी किनारको कमजोर भू–बनोट र बाढीको जोखिमलाई ख्याल गर्दै प्रसारण लाईन बिस्तारको विकल्प नभएको उनले बताए।

प्राधिकरणका अधिकारीहरुका अनुसार तिनाउ किनारको पुर्व क्षेत्र हुँदै लैजान स्थानीय बासिन्दाको अवरोध हटाउनुपर्छ। नदीको सय मिटरकै दुरीमा बाक्लो बस्ती छ। पश्चिम क्षेत्र हुँदै लैजान मोतीपुर औद्योगिक कोरिडोर पर्छ। पाँच नम्बर प्रदेशको नमुना औद्योगिक क्षेत्र बनाउने गरी मोतीपुरमा ८ सय बिघाहा जग्गा स्वीकृत भई औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा लालपुर्जा आइसकेको छ।

२०६७ सालमा सुरु भएको यो आयोजना विभिन्न कारणले रोकिएको थियो। विद्युत अभावले जनजीवन अस्तव्यस्त हुन थालेपछि गत वर्षदेखि यो आयोजना अघि बढाइएको हो।

सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष रामकुमार शर्माले प्रसारण लाईन बिस्तारमा व्यक्ति मात्रै नभएर सरकारी निकाय नै बाधक बन्नु दुर्भाग्य भएको बताए। ‘प्रसारण लाईन विस्तारमा कोही बाधक नबनी द्रुत गतिमा काम अघि बढाउन सहयोग गर्दा मात्रै रुपन्देहीको विकासमा सहयोग पुग्छ’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.