|

  • ऋषिराम दाहाल

पोखरा : ‘म विना कसैकसैलाई मुस्किल छ पोखरामा। म छु आज धेरै टाढा, मेरो दिल छ पोखरामा ...’ नेपाल आइडल बुद्ध लामाले गायक प्रमोद खरेलको यो गीत गाएपछि पोखरेली दर्शकहरु एकसाथ झुम्न थाले। मायाप्रेमलाई पोखरासँग जोडेर तयार पारिएको यो गीत गाउने क्रममा दर्शकहरुले संगै गाएर तथा नाचेर बुद्धलाई साथ दिए।

नेपाल आइडल बनेपछि पोखरामा आयोजित पहिलो कन्सर्टमा बुद्धले गृहनगरका दर्शकहरुलाई भरपुर मनोरञ्जन दिए। गीतमात्रै गाएनन्, उनले आफूलाई नेपाल आइडल बनाएकोमा पोखरेली दर्शकलाई धन्यवाद दिन पनि भ्याए।

मुन्टेज इन्टरनेशनलले बुद्धसँगै फर्स्ट रनरअप निशान भट्टराई, सेकेण्ड रनरअप प्रताप दास तथा प्रतिस्पर्धी सन्ध्या जोशीलाई स्टेजमा उतारेको थियो। साँझ ६ बजेदेखि ९ बजेसम्म चलेको कन्सर्टमा निसानले ‘परेलीमा लुकाइराख न..’ तथा प्रतापले ‘हेर्दा राम्रो माछापुछ्रे...’ बोलको गीत गाएका थिए। यस्तै नेपाल आइडलको शीर्ष ८ मा परेकी सन्ध्याले ‘चिसोचिसो हावा सरर..’ बोलको गीत गाइन्।

ग्र्याण्ड फिनालेपछि नेपालमा भएको नेपाल आइडलको यो पहिलो कन्सर्ट हो। यस्तै कन्सर्ट आसोज ३० गते उर्लाबारीमा आयोजना हुने जनाइएको छ। उर्लाबारी फर्स्ट रनरअप निसानको गृहनगर हो।

यस्तै ‘वल्र्ड टूर’अन्तर्गत नोभेम्बर ४, ५ र १२ मा यूकेका विभिन्न सहरमा पनि यस्तै कन्सर्ट आयोजना गरिएको आयोजकले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.