|

गैर आवासीय नेपालीहरुको छाता संगठन गैर आवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन शनिबारदेखि कठमाडौंमा सुरु भएको छ। सम्मेलनबाट नयाँ नेतृत्व चयन गर्ने भएकाले अध्यक्षसहितका पदहरुमा एनआरएन नेताहरुले उम्मेदवारी घोषणा गरेका छन्। यो आठौं विश्व सम्मेलनमा एनआरएन डेनमार्कबाट विभिन्न पदमा काम गरेका सोम सापकोटाले पनि सहकोषाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्। उनको उम्मेदवारीबारेमा गरिएको संक्षिप्त कुराकानी :

गैरआवासीय नेपालीहरुको आठौं विश्व सम्मेलनको माहोल कस्तो छ?

गैर आवासीय नेपाली संघको इतिहासमा सबैभन्दा बढी गैर आवासीय नेपाली साथीहरु अहिले काठमाडौंमा हुनुहुन्छ। केही दिनदेखि यहाँ फरक खालको मोड आएको उपस्थित साथीहरुले जानकारी गराउनुभएको छ। इमान्दार र जिम्मेवार साथीहरुले यसलाई सहमतिमा एउटा नयाँ कार्य समिति चयन गर्नुहुन्छ भन्ने कुरामा म विश्वस्त छु।

अहिलेको नेतृत्वलाई एकदमै ठूलो चुनौती पनि छ। त्यसैले जो उम्मेदवार साथीहरु हुनुहुन्छ, उहाँहरुले यो विषयलाई अत्यन्तै संयम भएर समाधान गर्नेमा म आशावादी छु। प्रवासमा बस्ने हामी नेपालीहरुले नेपालमा आएर एउटा विश्व सम्मेलन गर्छौं। सम्मेलनका बेला एनआरएनले अत्यन्तै पैसा खर्च गरेर तडकभडक गर्छन् भन्ने एउटा आरोप लाग्दै आएको छ। त्यसलाई निरुत्साहित गरी ‘एक्सन ओरिन्टेड’ हुने लक्ष्यमा हामी छौं। यसको लागि छलफलहरु अगाडि बढिरहेका छन्। मलाई लाग्छ यो सम्मेलन अत्यन्तै भव्य रुपमा सम्पन्न हुन्छ।

संघको सहकोषाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ। त्यसको लागि तयारी कस्तो छ?

मैले गैर आवासीय नेपाली संघको स्थापनाकालदेखि नै विभिन्न तह र भूमिकामा रहेर काम गर्ने अवसर पाएँ। आर्थिक पाटो सबल नभएसम्म स्वास्थ्य सबल हुन्न भन्ने उद्देश्यसहित संघको सदस्य, त्यसपछि डेनमार्कको संस्थापक अध्यक्ष, केन्द्रीय सदस्य, फेरि युरोपको उपसंयोजक भएर मैले संस्थालाई एउटा ईट्टा थप्ने काममा सहयोग गरेँ।  

संघलाई आर्थिक रुपमा दीर्घकालीन मजबुत बनाउन आफ्नो पदीय हैसियतमा रहेर संस्थालाई अगाडि बढाउने उद्देश्यसहित विधानमा व्यवस्था भए अनुसार सह कोषध्यक्ष पदको लागि मैले उम्मेदवारी दिएको छु।

म पहिले पनि युरोप क्षेत्रमा पनि निर्विरोध भएको हो। यसपाली पनि निर्विरोध हुन्छु भन्नेमा विश्वस्त छु। केही साथीहरुले उम्मेदवारीको संकेत देखाउनुभएको छ। यो प्रारम्भिक चरण हो। अरु धेरै साथीहरु पनि आउनु होला तर म ती साथीहरुसंग कुरा राख्नसक्ने क्षमता राख्छु। जस कारण म यो पदमा निर्विरोध हुन्छु। जुन क्षेत्रमा गैरआवासीय नेपाली संघले मलाई जिम्मेवारी दियो त्यसमा मैले गरेको कामप्रति सबै साथीहरु सकारात्मक हुनुहुन्छ। ती कामको मुल्याङ्कनका आधारमा म अहिलेको यो अभियानमा सफल हुन्छु भन्ने कुरामा म विश्वस्त छु।

गैर आवासीय नेपालीहरुको अहिलेको खास मुद्दा वा माग के हो र चुनाव जित्नका लागि तपाईका एजेण्डा कस्ता छन्?

गैर आवासीय नेपाली संघका आफ्नै किसिमका केही सुरुवात देखिका एजेण्डाहरु छन्। हामी धेरै बाहिर जान पनि मिल्दैन। आर्थिक रुपमा हामीले केही प्रोजेक्टहरुलाई परिपूर्ति गर्ने र आकस्मिक घटनाका बेला उपयोग गर्ने गरी प्रत्येक देशमा एउटा अक्षय कोषको स्थापना गर्ने व्यवस्था मैले डेनमार्कमा संस्थापक अध्यक्ष हुँदा सुरुवात गरेको काम हो।

त्यसलाई अब सबै देशमा विस्तार गर्ने मेरो एउटा लक्ष्य रहेको छ। अर्को भनेको १ हजार घर बनाउने प्रोजेक्टमा केही बजेट कम छ। त्यसलाई परिपूर्ति गर्न गैर आवासीय नेपाली संघमा आवद्ध नेपाली साथीहरुलाई म प्रोत्साहन गर्छु। त्यसैगरी हामीसंग धेरै ठूलो एउटा लिस्ट छ। जसलाई हामीले विभिन्न कालखण्डमा प्रतिज्ञा गरेका छौं। ती पैसा उठाउन बाँकी छ र जितपछि सहकोषाध्यक्षको रुपमा त्यसलाई अगाडि बढाउने पक्षमा छु।

हामीले जुन प्रोजेक्ट निर्माण गर्ने प्रतिवद्धता गरेका छौं, त्यसलाई सरल रुपमा सम्पन्न गराउने मेरो लक्ष्य रहेको छ। माग्ने र लगेर दिने मात्रै नभई संस्थालाई फरक तरिकाले अगाडि बढाउने लक्ष्यमा म छु। संस्थाको आर्थिक सबलताको लागि पनि काम गर्छु भनेको छु। त्यसको लागि मैले केही पूर्वाधारहरु तयार गरेको छु। अन्य विषयहरु जस्ता पारदर्शिताका कुराहरुमा काम गरेको एक वर्षपछि रिपोर्ट बुझाउने गर्छौं। ३३ महिनामा संस्थाको रिपोर्ट पेश गर्ने पनि मेरो एउटा कार्यक्रम रहेको छ। संस्थालाई यसै अनुसार अगाडि बढाउनका लागि गैर आवासीय नेपाली संघको सह कोषाध्यक्षको पदमा उम्मेदवारी दिएको छु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.