|

पोखरा : कास्कीको लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णहरि भण्डारी विजयी भएका छन्। ११ औं महाधिवेशनअन्तर्गत शनिबार भएको मतदानमा अध्यक्षका प्रत्यासी इञ्जिनियर वसन्तमोहन भट्टराईलाई ५ सय ७ मतान्तरले पराजित गर्दै अघिल्लो कार्यसमितिका प्रथम उपाध्यक्ष भण्डारी अध्यक्षमा निर्वाचित भएका हुन्। नवनिर्वाचित कार्यमसमितिमा एक सदस्यबाहेक अन्य सबै भण्डारी प्यानलबाटै निर्वाचित भएका छन्।

निर्वाचन आयुक्त अधिवक्ता खगेन्द्रराज आचार्यका अनुसार अध्यक्षमा विजयी भण्डारीले ८ सय २४ र भट्टराईले ३ सय १७ मत प्राप्त गरे। संघको नयाँ नेतृत्वका लागि विभिन्न १७ पदका लागि ३२ जनाबीच प्रतिस्पर्धा भएको थियो। यसवर्ष थपिएको वरिष्ठ उपाध्यक्षमा वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष बलराम ढकाल ६ सय ६५ मतका साथ विजयी भएका छन्। उनका प्रतिष्पर्धी गीतादेवी सुवेदीले ४ सय ५० मत प्राप्त गरिन्।

प्रथम उपाध्यक्षमा वर्तमान महासचिव छत्रधर आत्रेय ८ सय ४२ मत प्राप्त गरी विजयी भए। द्वितीय उपाध्यक्षमा विनोदकुमार श्रेष्ठले ७ सय १८ मतसहित विजयी भए।

महासचिवमा भरतकुमार अधिकारी झिनो मतअन्तरले विजयी भए। ५ सय ६० मतसहित अधिकारी विजयी हुँदा अर्का प्रतिस्पर्धी ऋषिराम जमरकट्टेलले ५ सय ५३ प्राप्त गरे। उपमहासचिवमा वर्तमान कोषाध्यक्ष गोपीचन्द्र बास्तोला ६ सय ३५ मतका साथ विजयी भए भने कोषाध्यक्षमा राजेन्द्र ओझा विजयी भए।

दुई महिला सदस्यमा जानुका अधिकारी ८ सय ३४ र राधा सापकोटा ६ सय ८८ मतसहित विजयी भए। आठ जना खुला सदस्यमा १५ जनाबीच प्रतिस्पर्धा भएको थियो। त्यसमध्ये उपेन्द्रराज सुवेदी राजु (८७१), रामजी पौडेल (७५०), मेनुका श्रेष्ठ (७२७), भरतराज ओझा (६९३), सरोजराज अधिकारी (६७७), भीमबहादुर नेपाली काईला (६२४), शिवप्रसाद भण्डारी (६२१) र धीरजकुमार श्रेष्ठ (५७६) विजयी भए।

संघमा संस्थागततर्फ शैलेन्द्रमोहन भट्टराई र एशोसियटतर्फ प्रशान्तराज धमला यसअघि नै निर्विरोध निर्वाचित भएका थिए। २३ सदस्यीय कार्यसमितिमा निर्वाचित अध्यक्षले तीन जना सदस्य मनोनित गर्न पाउने व्यवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.