स्थायी शिक्षकहरु गाउँमा जान नमान्दा समस्या

|

ईश्वर थापा-

    धनकुटा : खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकास्थित खोकुमा रहेको जीवनसुधालय माविका प्रधानाध्यापक छत्रबहादुर राईले एसएलसी मात्रै उत्तीर्ण गरेका छन् र उनी प्राथमिक तहका मात्रै स्थायी शिक्षक हुन्।

    त्यस्तै, महालक्ष्मी नगरपालिकास्थित निगालेको जनता माविका प्रधानाध्यापक लोकबहादुर थापा पनि एसएलसी मात्रै उत्तीर्ण गरेका प्राथमिक तहका स्थायी शिक्षक नै हुन् तर, माविका प्रधानाध्यापक भएर काम गर्दै आएका छन्। यी त उदाहरण मात्रै हुन जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा योग्यता नपुगेका प्रधानाध्यापक कार्यरत रहेको पाइएको छ।

    छथर जोरपाटी गाउँपालिकाको बोझेनीमा रहेको शारदा माविमा कृष्णहाङ्ग लिम्बू र महालक्ष्मी नगरपालिकाको हिमालय मावि घुमाउने टेकबहादुर गुरुङ प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी प्राथमिक तहका समेत अस्थायी शिक्षक भई माध्यमिक तहको प्रधानाध्यापकको जिम्मेवारी लिइरहेका छन्।

    आवश्यक दरबन्दी नहुनु यसको कारण भने होइन। तर, जिल्लाभर रहेका माध्यमिक स्थायी शिक्षक सहरकेन्द्रित हुनु यसको प्रमुख कारण रहेको सम्बन्धित सरोकारवाला पक्षहरूले बताउने गरेका छन्। ‘दरबन्दीअनुसार शिक्षक नभएका त होइनन्,’ जिल्ला शिक्षा कार्यालयका एक कर्मचारीले भने, ‘सहरका विद्यालयमा मात्रै स्थायी शिक्षकहरु बस्न रुचाउँछन् र गाउँका विद्यालयमा स्थायी शिक्षकको दरबन्दी नै छैन, त्यहाँ निजी स्रोतका वा राहत कोटाका प्रधानाध्यापक भएका छन्।’

    शिक्षा नियमावलीअनुसार माध्यमिक तहका लागि शिक्षा शास्त्रमा स्नातकोत्तर वा सोसरह, निम्नमाध्यमिक तहका लागि शिक्षा शास्त्रमा स्नातकले मात्र प्रधानाध्यापक बन्न सक्छन्।

    त्यस्तै, प्राथमिक तहमा शिक्षाशास्त्रमा प्रवीणता प्रमाणपत्र वा सोसरह उत्तीर्ण गरी सम्बन्धित तहमा स्थायी शिक्षक हुनुपर्ने व्यवस्था छ। तर, शिक्षा कार्यालयका अनुसार जिल्लाभर रहेका ७३ माध्यमिक विद्यालय मध्ये १४ जना शिक्षक मात्रै शिक्षा  नियमावली अनुसार सबै प्रक्रिया पुगेर प्रधानाध्यापक भएका छन्। अन्य सबैमा निमावि र प्रावि तहका शिक्षक माध्यमिक विद्यालयका प्रधानाध्यापक छन्।

    शिक्षा कार्यालयको तथ्यांकअनुसार प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका प्राथमिक तहका स्थायी ९ जना, निम्न माध्यमिक राहत १ जना र निम्न माध्यमिक स्थायी ५ जना शिक्षक प्रधानाध्यापक भएर काम गरिरहेका छन्। त्यस्तै,  स्नातक तह उत्तीर्ण गरेका प्राथमिक स्थायी १० जना, निम्न माध्यमिक राहत र स्थायी ४र४ जना, माध्यमिक राहत ४ जना र माध्यमिक अस्थायी र स्थायी ५/५ जना शिक्षक प्रधानाध्यापक पदमा कार्यरत रहेको शिक्षा कार्यालयको तथ्यांकमा उल्लेख छ।

    यसैगरी, जिल्लाका माध्यमिक विद्यालयहरुमध्ये स्नातकोत्तर तह उत्तीर्ण गरी प्राथमिक तहका स्थायी ३ जना, निम्न माध्यमिक राहत १ जना, निम्नमाध्यमिक स्थायी ४ जना, माध्यमिक राहत १ जना र माध्यमिक अस्थायी २ जना शिक्षक पनि प्रधानाध्यापक भइरहेका छन्।

    ‘स्थापनकालदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हालियो। अभिभावक र विद्यार्थीले मलाई विश्वास गरेका छन्। त्यसैले प्रधानाध्यापकको जिम्मेवारी बोकेको छु।’ जिल्ला शिक्षा कार्यालयको तथ्यांकमा कम योग्यता भएका एक प्रधानाध्यापकले थाहा खबरसँग भने।

    जिल्लामा शिक्षक पर्याप्त मात्रामा दरबन्दी भए पनि स्थायी शिक्षक गाउँमा नजाने र शिक्षा कार्यालयले त्यसमा चासो नदिएका कारण योग्यता नपुगेका शिक्षक माध्यमिक विद्यालयमा प्रधानाध्यापक नभएको शैक्षिक अगुवा ज्ञानेन्द्र बहादुर कार्कीले बताए। सामुदायिक विद्यालयको शैक्षिक उपलब्धिमा ह्रास र परिणाम खस्कनुमा यही कारण रहेको उनले बताए ।

    कतिपय विद्यालयमा राजनीतिक खिचातानीका कारण पनि व्यवस्थापन समितिले योग्यता नपुगेका शिक्षकलाई नै प्रधानाध्यापक बनाउन खोज्ने गरेको सरोकारवालाहरू बताउँछन्। व्यवस्थापन समिति र प्रधानाध्यापकबीच तालमेल मिलाउन तल्लो तहका वा अस्थायी वा राहत शिक्षकलाई प्रधानाध्यापक बनाउने गरिएको छ भने समय व्यवस्थापन समितिमा बढ्दो राजनीतिले शैक्षिक क्षेत्रमा विकृति फैलिएको शैक्षिक अगुवाहरू बताउँछन्।

    नेपाल राष्ट्रिय अभिभावक संघका केन्द्रीय उपाध्यक्ष सुन्दरबाबु श्रेष्ठले यस विषयमा शिक्षा कार्यालयले दरबन्दी तत्काल मिलाएर माध्यमिक विद्यालय योग्यता पुगेका शिक्षक मात्रै प्रधानाध्यापक बनाउन माग गरिसकेको बताए।

    यसैगरी, शिक्षा कार्यालयका अनुसार जिल्लाका केही निमावि र प्रावि तहमा पनि शिक्षक नभएका कारणले नियमावली अनुसारका प्रधानाध्यापक छैनन् भने कतिपय प्राथमिक विद्यालयमा त एउटै शिक्षक बहुकक्षा शिक्षण गर्न बाध्य छन्।

    जिल्ला शिक्षा कार्यालयका विद्यालय प्रशासन शाखाका कोमल खड्काले स्थायी शिक्षक गाउँमा जान नमान्ने र सहरका विद्यालयमा विद्यार्थी चाप बढी हुनाले राख्नु पनि पर्ने भएकाले जिल्लाका सबै जिल्लाका विद्यालयमा आवश्यकताअनुसार स्थायी शिक्षक नभकाले योग्यता नपुगेकाहरूलाई प्रधानाध्यापक बनाउनुपर्ने बाध्यता रहेको बताए।

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.