|

काठमाडौं : गैर आवसीय नेपाली संघ (एनआरएनए)को सोमबार हुने निर्वाचनको लागि आइतबार उम्मेदवारी दर्ताको कार्यक्रम छ। उम्मेदवारी दिनको लागि एनआरएनएए आचार संहिताले निश्‍चित मापदण्ड तोकेको छ।

निर्वाचन समितिले आचारसंहिता र उम्मेदवारी दस्तुर पनि तोकिसकेको छ। पदाधिकारीमा मात्रै २० भन्दा बढी आकांक्षी देखिएका छन्। त्यस्तै क्षेत्रीय संयोजक, युवा र महिला संयोजक तथा उपसंयोजकमा उम्मेदवारी दिनेको संख्या पनि धेरै देखिन्छ।  एनआरएनएको पदाधिकारी तथा अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्यमा उम्मेदवारी दिनको लागि लाग्ने शुल्क भने मध्यम स्तरीय नेपालीले वर्षभरी आम्दानी गर्न सक्ने भन्दा बढी रकम तोकिएको छ।

कुन पदमा कति शुल्क?

एनआरएनए निर्वाचन समितिको असोज ६ गते बसेको बैठकले निर्वाचन शुल्क तोकेको छ। जस अनुसार अध्यक्ष पदको लागि ४ हजार ५०० अमेरिकी डलर अर्था ४ लाख ६८ हजार रुपैयाँ शुल्क तोकिएको छ। अध्यक्षको लागि भवन भट्ट, जमुना घले गुरुङ र टीबी कार्कीले उम्मेदवारी घोषणा गरेका छन्।

त्यस्तै उपाध्यक्ष र महासचिवको लागि ३ हजार ७५० डलर अर्थात ३ लाख ९० हजार रुपैयाँ शुल्क तोकिएको छ। उपाध्यक्षमा ७ जना र महासचिवमा दुईजनाले उम्मेदवारी घोषणा गरेका छन्। सचिव र कोषाध्यक्षको लागि ३ लाख १२ हजार (डलर ३०००), सहकोषाध्यक्षको लागि २ लाख ७३ हजार रुपैयाँ (डलर २६२५) शुल्क रहेको छ।

त्यस्तै महिला युवा तथा क्षेत्रीय संयोजकको लागि २२५० डलर अर्थात २ लाख ३४ हजार  र उपसंयोजकको लागि १ लाख ५६ हजार अर्थात १५०० डलर उम्मेदवारी शुल्क तोकिएको छ। आईसीसी सदस्यमा उम्मेदवारी दिन १ लाख ४ हजार (डलर १०००) शुल्क तोकिएको छ। यो शुल्क एनआरएनए निर्वाचन समितिले रुपैयाँमा नभइ डलरमा बझाउनु पर्ने बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.