|

काठमाडौं : नेपाली कांग्रेसबाट निस्किएर मधेसवादी राजनीतिमा लागेको करिब एक दशकपछि विजयकुमार गच्छदार फेरि कांग्रेसमै फर्किने भएका छन्। संघ र प्रदेश चुनावको पूर्वसन्ध्यामा सुरु भएको दलहरुबीचको ध्रुवीकरण र एकीकरणकै बीच गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले कांग्रेससँग एकता गर्ने निर्णय गरेको हो।

एकता घोषणा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा हुने तय भएको कांग्रेस केन्द्रीय सदस्य एवम् अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

संघ र प्रदेश निर्वाचनका लागि समानुपातिक उम्मेदवारको नाम बुझाउने दिन आइतबार नै दुई पार्टीबीच एकता घोषणा गर्ने तयारी थियो। त्यसका लागि अपराह्न साढे ५ बजे सञ्चारकर्मीलाई निमन्त्रणासमेत गरिएको थियो। तर, आउँदो निर्वाचनमा लोकतान्त्रिकबाट नेताहरुको उम्मेदवारीका विषयमा टुंगो लाग्न ढिलाइ हुँदा घोषणा सोमबारलाई सरेको हो।

कांग्रेस स्रोतका अनुसार गच्छदारलाई पार्टी पदाधिकारीमा मनोनित गर्ने तयारी पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन्। 'उनलाई उपसभापति वा महामन्त्रीमध्ये कुनै एकमा मनोनित गर्ने सम्भावना छ,' देउवा निकट एक नेताले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.