|

जनकपुरधाम : आमा सुनिता यादव आफूहरुसँगै काखमा सुताएर राखेको ७ महिने बच्चालाई अपहरण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। गत असोज १२ गते आफ्नो तीन छोरी र ७ महिने छोरासंगै सुतेको बेला सुटुक्क चोरेर लगेका तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरी आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा बच्चा चोरेर महिलाबाट रकम लिई बच्चा खोजी दिलाइदिने सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नं. १० नरहिया टोल घर भएका ३६ वर्षिया दिलिप मण्डल, बच्चा चोरीको आफ्नै घरमा बसी योजना तयार पार्ने धनुषाको कमलामाई नगरपालिका वडा नं. २ घर भएका ४१ वर्षिया राधाकृष्ण मण्डल र बच्चा बरामद भएको व्यक्ति अर्थात बच्चा अपहरण गराई लिएर जाने सिरहा लक्ष्मीपुर पतार गाउँपालिका वडा नं. ४ लक्ष्मीपुर बस्ने अन्दाजी ४० वर्षिया लिला देवी साह कलवार रहेको प्रहरीले जनाएको छ।

अर्को मुख्य अभियुक्त बच्चा अपहरणमा प्रत्यक्ष संलग्न मानिएका बाला पासमान फरार रहेको र उनको खोजी कार्य तीव्र पारिएको धनुषाका प्रहरी उपरीक्षक चक्र बहादुर सिंहले जानकारी दिए।

यसरी बन्यो अपरहणको योजना

पैसाको प्रलोभन देखाई अपहरण गर्न लगाउने तथा बच्चा बरामद भएका अभियुक्त लिला देवी साह कलवारको अन्दाजी १४ महिना अगाडि दिलीपसँग भेट भएको थियो। भेटको क्रम लगातार रुपमा चल्दै जाँदा सम्बन्ध बढ्दै गई लिला देवीको ४ वटा छोरी मात्र भएकोले सहानूभतिले धामी झाक्री कहाँ संगै देखाउन जाने क्रम निरन्तर चलेको देखिन्छ।

धामी झाँक्रिकहाँ देखाउँदा पेटमा बच्चा भएको अनुमान गरे पनि ५ महिना बित्दा समेत बच्चा पेटमा नभएको यकिन थाहा भएपछि हार मानेर बच्चा किन्ने योजना बनाए अनुरुप दुवै जना दिलिप मण्डल र लिला देवी साह गत वर्षको माघ महिनामा बच्चाको खोजीमा दिल्लीका अनाथ आश्रममा गएका थिए।

तर भारतको महँगो ठाउँ दिल्लीमा ८ महिना बस्दा समेत कुनै बच्चा फेला नपरे पछी भदौमा जयनगर हुदै जनकपुर आएर एक लजमा बसेर धनुषाको कमला नगरपालिका घर भएका राधाकृष्ण मण्डललाई फोन गरी डेरा खोजीदिन आग्रह गरेको थियो।

जनकपुरमा डेरा खोजी बस्ने प्रबन्ध मिलाउँदै आएकोमा राधाकृष्ण मण्डलको घरमा जनकपुरबाट दिलीप र लिलाको आउने जाने गरेकोमा बच्चा चाहिएको र बच्चा दिएबापत आवश्यक प्रबन्धका लागि पैसा तथा बच्चा बापतको रकम दिने प्रलोभन देखाई राधाकृष्ण मण्डललाई प्रलोभन दिई बच्चा व्यवस्था गर्न भनेको थियो। सोहीअनुरुप मण्डलले आफ्नो साथी बाला पासवान बच्चा चोर्ने चाँजोपाजो मिलाए पनि चुनावपछि मात्र बच्चाको व्यवस्था मिलाइदिने आवश्वासन दिएको थियो।

यसरी भयो अपहरण

अपहरणको अघिल्लो दिन वीरे भन्ने वीरेन्द्र यादवसँग राधाकृष्ण मण्डलको घरमा भेट भई ३ लाखमा बच्चा उपलब्ध गराइउने सहमति भएको थियो। सहमतिसँगै पर्साको चौरीमा लीलादेवी र दिलिपलाई साँझ ७ बजे राधाकृष्ण मण्डलले घरमा बोलाई २ लाख ५० हजार दिएको र बाँकी ५० हजार बच्चा प्राप्त भएपश्चात दिने सहमति भयो।

तर पैसा दिएको दिन मौका नपरेको भन्दै काम हुन नसक्ने र अझ एक दिन कुनुपर्ने कारण देखाई धनुषाको मंग्रहा टोलको एक घरमा ती महिला लिला देवीलाई बिरेले एक जनाको घरमा बटुवा भन्दै राख्न लगाएर दिलिप मण्डल पुनः राधाकृष्ण मण्डलको घरमा बस्यो।

असोज १२ गते बच्चा अपहरण भएको दिन योजना अनुरुपमा वीरे भन्ने वीरेन्द्र यादवले राधा कृष्णको घरमा गई राति ८ बजे भेट्ने स्थान तोक्दै रात्रिकालीनमा तीनै जना भेला भएर वीरेन्द्र यादब बच्चा लिन गयो।

र छतमा ३ छोरीहरुसँगै आमा सुतेको सुनिता देवीको बीचबाट सार्वजनिक भवनको छतबाट प्रवेश गरी साढे १२ बजे सुटुक्क बच्चा लिएर धनुषाको सघाराबाट बाँधको बाटो भएर भारतको सिमावर्ती क्षेत्र जयनगर हुँदै सिरहा गई बच्चा र महिलालाई घरमा छोडी दिलिप मण्डल सराबे फिर्ता भएको घटनाको अनुसन्धान प्रक्रियाबाट देखिएको छ। बच्चाका बुबा महेन्द्र यादव वैदेशिक रोजगरीका सिलसिलामा विदेशमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.