|

उदयपुर : नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बाम गठबन्धनबाट उम्मेदवार बन्न अहिले उदयपुरमा सयौँको संख्यामा लाइनमा छन्। चार प्रदेश र दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र कायम भएको उदयपुरमा माओवादी केन्द्र र एमालेका उम्मेदवार आकांक्षी पार्टी केन्द्रसम्मको दौडधूपमा छन्।

२१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा माओवादी केन्द्र र एमालेले ६०÷४० को भागबण्डा गरेपछि उम्मेदवार बन्ने आकाँक्षीको दौडधूप बढेको हो। दुवै पार्टीबाट आकांक्षी धेरै भएकाले दुवैसभाका लागि उम्मेदवार टुंगो नलागेको र दुवै पार्टीबाट छलफल जारी रहेको नेकपा एमाले उदयपुरका सचिव परमेश घिमिरेले बताए।

रोजेको क्षेत्र माओवादीलाई परे उसैलाई भोट माग्न तयार छु

‘एउटा म पनि आकांक्षी हुँ,’ सचिव घिमिरेले भने, ‘मैले रोजेको क्षेत्र माओवादीलाई छोड्नुपर्‍यो भने पनि माओवादीलाई नै भोट माग्न तयार छु।’ यता, माओवादी केन्द्र उदयपुरका जिल्ला इन्चार्ज मोहनबहादुर खत्रीले पनि दुवै पार्टीको छलफल चलिरहेको जानकारी दिए।

‘अहिले कुन क्षेत्र कसले लिने भन्नेबारे टुंगो लागेको छैन,’ उनले भने, ‘एमाले ६०÷माओवादी ४० हुँदा माओवादीको भागमा एक प्रतिनिधसभा र एक प्रदेशसभा हुने मेरो आँकलन छ।’

दुवै पार्टीबाट सिफारिस पर्नेमा को को होलान्?

नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभाको लागि निर्वाचन क्षेत्र नम्बर २ बाट माओवादी नेता तथा पूर्वसञ्चार मन्त्री राम कार्की, मोहनबहादर खत्री दीपक केपी बराल प्रत्यक्षको लागि सिफारिस भएका छन्। यसैगरी, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका स्थायी समिति सदस्य सुरेश कुमार राई हिमाल, मीनबहादुर ठकुरी र पुष्प बस्नेत प्रत्यक्ष तर्फ सिफारिस भएको माओवादी केन्द्र उदयपुरले जानकारी दिएको छ।

वेलका र चौदण्डी भूगोलको प्रदेशको निर्वाचन क्षेत्रमा गणेश थाम्सुहाङ, कुमार सिंह कार्की र राकेश किरातीको सिफारिस भएका छन्। त्यसैगरी, त्रियुगा नगरपालिका क्षेत्रको प्रदेश जीवन कुमार कार्की, रामबहादुर थापा मगर र बिमल किरातीको रहेका छन्।

उता, रौतामाई, उदयपुर गढी र सुनकोसी गाउँपालिका सहितको प्रदेशमा नारायण बुर्जा, काजीमान तामाङ र एबीराज राई नाम छ। त्यसैगरी, कटारी नगरपालिका र ताप्ली गाउँपालिका भुगोल रहेको क्षेत्रमा जिल्ला संयोजक विनोद कटुवाल, हालका सभासद् भेषकुमारी राउत र हेमराज दाहालको नाम छ।

नेकपा एमालेबाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा टेकबहादुर राउत, राममणि पोखरेल र वैकल्पिक केन्द्रीय सदस्य तथा सांसद मन्जु कुमारी चौधरीको नाम सिफारिस भएको छ। यसैगरी, प्रतिनिधिसभा क्षेत्र नम्बर २ को लागि एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वसांसद जगनाथ खतिवडा र लेखा आयोग सदस्य तथा पूर्वसांसद विष्णुबहादुर राउतको मुख्य गरी छ।

प्रदेशसभा निर्वाचनको लागि बेलका र चौदण्डी नगरपालिकाको भूगोलबाट कालु लामा, कुमार जंग कार्की, कुशलवाबु बस्नेत, टेकनारायण चौधरी, डिल्ली विमली, ढक बहादुर विष्ट, धनपति आचार्य, नरेन्द्र राउत, नारद निरौला, पुष्पराज सुवेदी, प्रेम बहादुर सुवेदी, राजेन्द्र कुमार कटुवाल, विमल कार्की, राजकुमार राई, विषन विसन विष्ट, शम्भु पौडेल, शरण राई, शिव अधिकारी, श्याम बहादुर राई, सन्तोष कुमार बस्नेत, सम्झना कुमारी पोखरेल, सुरेन्द्र बस्नेत, सोमन चौधरी र हरिनारायण पँजियारको नाम सिफारिस गरिएको छ।

त्रियुगा नगरपालिका मात्र रहेको प्रदेशबाट ईश्वरमणि राउत, उपाध्यक्ष विमल कार्की, सचिव परमेश्वर घिमिरे, सचिवालय सदस्यद्वय प्रकाश बस्नेत र दुर्गा परियार, जिल्ला कमिटी सदस्यद्वय भागवत राउत र माया भण्डारीको नाम छ। उदयपुरगढी, सुनकोसी र रौतामाई गाँउपालिका भुगोल रहेको प्रदेश सभाको लागि प्रत्येक्ष तर्फ गोपाल खत्री, कैशाल बस्नेत, भरत थापा, होम

बहादुर दाहाल, अम्बर रायमाझी, शैलेश लामा, देवराज राई, मेघराज दाहाल र अमृतध्वज राईको नाम छ। कटारी नगरपालिका र ताप्ली गाँउपालिकाको भुगोलमा पर्ने प्रदेशसभाबाट मणि सुन्दर श्रेष्ठ, नोक श्रेष्ठ र कला घलेको नाम छ।

-कसको बलियो छ सम्भावना?

दुवै पार्टी माओवादी केन्द्र र एमाले उदयपुरमा रहेका नेता कार्यकर्ता दुई समूहमा विभाजित भएका छन्। एमाले सचिव परमेश घिमिरेका अनुसार अहिले दुवै पार्टीका दुई प्रकारका नेता कार्यकर्ता आफ्नो टिकट सुरक्षित गर्नेतर्फ जुटेका छन्। ‘सिंगल रुपमा चुनावमा जाँदा पनि टिकट नपुग्ने दुवै पार्टीमा उम्मेदवारी आकांक्षी धेरै छन्,’ उनले भने, ‘कुन क्षेत्रमा को उम्मेदवार बन्नेमै अहिलेसम्म बहस भइरहेको छ।’

घिमिरेले दुई भित्र उम्मेदवार टुंगो लाग्ने बताउँदै माओवादीले प्रतिनिधिसभा छाडे प्रदेशमा बढी दिन पनि सक्ने बताए। यता, उदयपुरमा माओवादी केन्द्रका इन्चार्ज मोहनबहादुर खत्रीले एउटा प्रतिनिधिसभा र एउटा प्रदेश माओवादीको भाग पर्ने बताए। ‘माओवादीले मतको आधारमा उदयपुरको पश्चिमी भूगोल लिँदा राम्रो हुन्छ,’ उनले भने, ‘पूर्वी क्षेत्र लिँदा कांग्रेले जित्न सक्छ।’

दुवै पार्टीका जिल्ला नेताका भनाइमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ बाट माओवादी केन्द्रका स्थायी समिति सदस्य सुरेश कुमार राई हिमाल र प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ बाट एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वसांसद जगनाथ खतिवडाको बढी सम्भावना छ। एमालेका वरिष्ठ नेता माधवकुमार नेपालनजिक रहेका खतिवडा र

माओवादी केन्द्रमा नजिकको पहुँच भएकाले राई नै उम्मेदवार हुने पक्कापक्की छ। ‘कुनै दैवी शक्तिले नछोए गठबन्धनबाट राई र खतिवडा नै उम्मेदवार बन्ने हुन्,’ एक नेताले भने, ‘प्रदेशमा कसलाई भाग्य चिठ्ठा पर्ने केन्द्रले फैसला गरेपछि मात्र थाहा हुन्छ।’

यस्तो छ, स्थानीय चुनवको अंक गणित

८ वटा स्थानीय तह रहेको उदयपुरमा ६ वटा एमालेको जितेको छ। माओवादी केन्द्र र नेपाली कांग्रेसको एक÷एक वटा मात्र छ। एमालेको जित हुन नसकेको सुनकोसी गाँउपालिका र चौदण्डीगढी नगरपालिकामा पनि एमाले झिनो मतले दोस्रो स्थानमा छ। ७ वटा स्थानीय तहमा माओवादी केन्द्र तेस्रो स्थानमा छ भने कांग्रेस दोस्रोमा सीमित छ।

सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतको आधारमा पहिलो एमाले र तेस्रो हुने माओवादीको केन्द्रको मत जोड्दा दोब्बर जस्तै छ। कांग्रेस र अन्य दल मिल्दा पनि वाम गठबन्धनको मतलाई जित्ने खासै आधार नदेखिएको चर्चासमेत सुरु भएको छ।

गाउँपालिका अध्यक्ष र नगरपालिका प्रमुखले पाएको मत जोडेर प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादी केन्द्र अगाडि छ। जुन चौदण्डीगढी र वेलका नगरपालिका भुगोलको प्रदेशमा एमाले माओवादी २० हजार ७५० छ भने कांग्रेस मात्र १२ हजार १६६ छ।

यसैगरी, त्रियुगा नगरपालिमा मात्र प्रदेशसभामा गठबन्धन १९ हजार १७ र कांग्रेस ११ हजार २९६ छ। ताप्ली र कटारी नगरपालिका प्रदेशमा गठबन्धन १६ हजार ०३१ छ भने काङग्रेस ६ हजार ९१५ छ। यसैगरी रौतामाई, उदयपुरगढी र सुनकोसी गाँउपालिकामा गठबन्धन १४ हजार २८७, काङग्रेस ६ हजार २० छ।

कांग्रेसको प्रतिस्पर्धामा मत पाएको एमालेलाई माओवादीसँग मिल्दा प्रतिनिधि र प्रदेशसभा झनै बलियो देखिन्छ भने माओवादीलाई भाग्य चिठ्ठाजस्तै छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १ मा गठबन्धन ३० हजार ७६७ र कांग्रेस २३ हजार ४६२ मत छ। यसैगरी, प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा गठबन्धन ३० हजार ३१८ र कांग्रेस १२ हजार ९ सय ३५ मत छ।

क्षेत्र १ मा दुवै पार्टीलाई डर

प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा एमाले माओवादी केन्द्र दुवै डराएको अवस्था छ। तालमेलमा प्रदेशसभामा भन्दा प्रतिनिधिसभा गठबन्धनलाई सकस हुने देखिन्छ। माओवादी केन्द्रका एक जिल्ला नेताका अनुसार माओवादीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ लिँदा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वसहरीविकास मन्त्री डाक्टर नारायण खड्काले सामना गर्नुपर्छ।

 ‘त्रियुगा, चौदण्डीगढी र वेलका नगरपालिकामा माओवादी कमजोर छ,’ उनले भने, ‘हामी कमजोर त सबै ठाउँमा छौँ तर, धेरै कमजोर यस ठाउँमा भएकाले एमालेलाई छोड्दा राम्रो हुन्छ।’

यता, कांग्रेसकै हाराहारीमा मत पाएको एमाले पनि डाक्टर खड्कादेखि भाग्ने दाउमा छ। कांग्रेस उदयपुरले यस क्षेत्रमा अन्तर्घात नगर्ने हो भने खड्का बलियो उम्मेदवार मानिन्छन्। ‘एमालेले पनि १ नम्बरप्रति डराउनुनै पर्ने अवस्था छ,’ उनले भने, ‘डक्टर खड्काको धेरै लोकप्रियता छ।’ दुवैले प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ ताक्दा दुवै पार्टीलाई समस्या भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.