|

काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग राखेर १३ औं पटक आमरण अनसनमा बसेका त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीको माग पूरा गर्ने विषयमा सोमबारको बैठक निर्णायक हुने भएको छ। केसी पक्षका वार्ताटोलीका सदस्य डा. अभिषेक सिंहले सोमबारको बैठक निर्णायक हुने र सहमति हुन सक्ने बताएका छन्।

आइतबार बेलुका अबेरसम्म प्रधानमन्त्री कार्यालयमा बसेको वार्तामा डा. केसीले राखेका सातवटै मागको विषयमा सकारात्मक छलफल भएको थियो। 'हिजो अबेरसम्म भएको वार्तामा सरले अघि सार्नु भएको सात वटै मागको विषयमा सकारात्मक वार्ता भएको थियो, उहाँहरु (सरकारी वार्ताटोली)ले वार्तामा चिकित्सा शिक्षा विधेयक र आयल निगमका प्रमुख गोपाल खड्काको मागको विषयमा आन्तरिक छलफलका साथै कानुनी सल्लाह लिनुपर्ने भएपछि वार्ता आज बस्ने गरी टुङ्गिएको हो' उनले भने।

डा. केसीले राखेको माथेमा कार्यदलको सुझावमा चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने र आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कारबाही गर्नुपर्ने बाहेक अन्य माग पूरा गर्न सरकारी वार्ताटोली सकारात्मक बनेको छ। सरकारी टोलीले ती विषयमा कानुनी सल्लाह र आन्तरिक छलफल गर्ने भनी समय मागेपछि आइतबारको वैठक निश्कर्षमा पुग्न नसकेको हो।

'केही बुँदामा हामीले गृहकार्य गर्नु पर्ने र केही बुँदामा उहाँहरुको गृहकार्यसहित आज हामी पुन. वार्तामा बस्दैछौं, आज हुने वार्ता निर्णायक वार्ता हो' डा. केसीका तर्फबाट वार्तामा सहभागी सिंहले भने।

डा. केसीले काठमाडौं विश्वविद्यालयले आफूखुसी तोकेको शुल्क सीमा फिर्ता हुनुपर्ने, शिक्षा ऐन संशोधन खारेज गर्नुपर्ने, सीटीईभीटीले हालै दिएको सम्बन्धन खारेज गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल अध्ययन–अध्यापन शुरु गर्ने गरी बजेट तथा अन्य व्यवस्था गर्नुपर्ने लगायतका ७ बुँदे माग राखेका छन्।

केसीले चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने माग राखेर अनसन बसेको १० दिनमा व्यवस्थापिका संसदको अवधि समाप्त भएपछि उक्त विधेयक पारितको सम्भावना छैन। तर वार्ता अध्यादेशमार्फत उक्त विधेयक पारित गर्ने मध्यमार्गी सहमति खोज्ने प्रयास भइरहेको वार्ताका एक सहभागीले बताए।

सरकारले डा. केसीको मागबारे छलफल गर्न गत बुधबार प्रधानमन्त्री कार्यालयका सचिव नागेन्द्र उपाध्यायको संयोजकत्वमा निमित्त शिक्षा सचिव डिल्ली रिमाल र स्वास्थ्य सचिव डा. किरण रेग्मी सम्मिलित वार्ता टोली गठन गरेको थियो। केसीको तर्फबाट भने वार्तामा डा. वाइपी सिहं, डा. अभिषेक सिहं र डा. कश्यप श्रेष्ठ,  ओमप्रकाश अर्याल सहभागी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.