|

लाप्राक : २०७२ वैशाख १२ गतेको भूकम्पको केन्द्रविन्दु बारपाकनजिकैको लाप्राक गाउँ अहिले धमाधम पुनर्निर्माण भइरहेको छ। गैरआवसीय नेपाली संघ (एनआरएनए) को एक अर्ब रुपैयाँ लगानीमा पाँच सय ७३ घर निर्माण भइरहेका छन्। निर्माणमा नेपाली सेना, स्थानीय र विभिन्न मुलुकमा रहेका गैरआवसीय नेपाली र स्थानीयले स्वयंसेवा गरेका छन्।

नमुना बस्तीमा दुई घर पुनर्निर्माण भएका छन् भने तीनसय घरको डिपिसी ढलान मात्र भएको छ। २०७३ साल वैशाख १२ गते गुप्सीपाखामा राष्ट्रपति विद्यादेवी भण्डारी, पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेल, एनआरएन अध्यक्ष शेष घलेले घर बनाउने सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। वैशाखमा सम्झौता भए पनि वस्ती निर्माणको शिलान्याश गत माघमा मात्र भएको थियो।

एनआरएनएका अध्यक्ष शेष घलेले अघिल्लो हप्ता मात्रै लाप्राक पुगेर आउँदो असार मसान्तसम्म लाप्राकीलाई गुप्सीको घर हस्तान्तरण गर्ने बताइसकेका छन्। गुप्सी पाखामा निर्माण हुने घरहरुमा  वातावरण मैत्री जस्ताको छाना रहनेछन्। डिपिसीसम्म ढुङ्गामाटो, तल्लोतलामा इकोब्रिकको गारो र माथिल्लो तलामा ट्रिट गरिएको बाँस रहेछन्। बस्तीका लागि सरकारले १८.३२ हेक्टर क्षेत्रफल जग्गाको भोगाधिकार दिइसकेको छ।

एनआरएनएले पाँचसय ७३ वटा घर निर्माणका लागि गुप्सीपाखामा नै इँटा तयार गरिरहेको छ। इँटा उत्पादनमा स्थानीय, नेपाली सेना र एनआरएन मार्फत लाप्राक आएका विदेशी स्वयंसेवकहरु खटिएका छन्।

घर निर्माणका लागि आवश्यक ढुङ्गा स्थानीयले जुटाएका छन्। एकीकृत नमूना बस्ती निर्माणका लागि नेपाली सेनाका एकसय १२ जनाले श्रमदान गरिरहेको एनआरएनले जनाएको छ। रोजगारको सिलसिलामा बिभिन्न देशमा पुगेका गैरआवासीय नेपालीहरुले पनि विदामा आएर श्रमदान गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.