|

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएपछि धेरै नेपालमा राजनीतिक ध्रुवीकरण निकै बढेको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रले वाम गठबन्धन बनाएको छ भने नेपाली कांग्रेसले लोकतान्त्रिक गठबन्धनको तयारी गरेको छ। कतिपय साना दलहरु ठूला दलमा विलय भएका छन्। तर एउटा सानो कम्युनिष्ट पार्टी नेपाल मजदुर किसान पार्टी भने एक्लै चुनाव लड्दैछ। उसले न कसैसँग गठबन्धन गर्दैछ न अन्य पार्टीसँग एकता नै। यस पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें बहुदलयताका भएका सबै चुनाव जित्ने थोरै नेताभित्र पर्छन्। उनीसँग आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सन्दर्भमा थाहाखबरकी लक्ष्मी गारुले गरेको कुराकानी :

सैंपछि मुलुकको राजनैतिक परिदृष्यमा एकातिर वाम गठबन्धन र अर्कोतर्फ लोकतान्त्रिक गठबन्धनको नाममा राजनतिक ध्रुवकरण शुरु भएको छ। के यसले नेपालको राजनैतिक अस्थिरतालाई स्थिरता तर्फ डोर्‍याउला?

बेलायतको संसदको हिसाबले दक्षिणपन्थी र वामपन्थीको एउटा तरिका छ। सभामुखको दायाँ मन्त्रीमण्डलसहितको बहुमत पक्ष बस्छ भने बाँया अर्थात लेफ्टतिर प्रतिपक्ष बस्छन्। त्यतिखेर सभामुखको बाँयातर्फ बस्नेहरु कम्युनिष्टहरु भएकाले कम्युनिष्टलाई लेफ्टिस्ट भनिएको हो।

यस हिसाबले हेर्ने हो भने माओवादीहरु सरकारमा भएकाले वामपन्थी भएनन्। दोस्रो कुरा, एमालेलाई वामपन्थी मान्ने हो भने अहिलेसम्म सदनमा आएका सबै कुरा जस्ताको तस्तै पारित भएका छन्। प्रमुख प्रतिपक्षको भूमिका खेलेकै छैन र हामीले बारम्बार घच्घच्याउनुपर्‍यो एमालेको भूमिका मिलेन भनेर। उदाहरणका लागि ८० जना पनि मान्छे छैन संसदमा। कोरम पुग्दैन भनेर हाम्रा साथीहरुले आवाज उठाउनुहुन्छ, एमाले चुप लागेर बस्छ। कोरम नपुगेको अवस्थामा पनि सभामुखले विधेयकहरु धमाधम पास गरिरहेकी हुन्थिन्। त्यसो भएको हुनाले एमाले प्रमुख प्रतिपक्ष दल भए पनि धेरै वामपन्थी भएन। त्यसकारण संसदको हिसाबले पनि यी दुबै पार्टी वामपन्थी ठहरिएनन्। 

नेपालमा वामपन्थी त्यो हुन् जसले साम्राज्यवादको विरोध गर्छ र भारतीय एकाधिकार तथा विस्तारवादको विरोध गर्छ। माओवादीले भारतमै जन्मेको, भारतमै हुर्केको र भारतबाटै यो १० वर्षे 'जनयुद्ध' सञ्चालन गर्‍यो। त्यसकारण माओवादी वामपन्थी होइन। एमालेमा धेरैजसो प्रभावहरु विदेशी आईएनजीओको छ। पश्चिमी साम्राज्यवादी देशहरुको पैसा, डलरले चल्ने एनजीओहरुबाट एमाले पार्टी चल्छ भने त्यसलाई कसरी साम्राराज्यवादी विरोधी भन्ने? यो दुबै कारणले पनि यो गठबन्धन न वामपन्थी हो न त कम्युनिष्ट गठबन्धन नै हो।

अर्को, लोकतान्त्रिक गठबन्धन भनेको छ, त्यो लोकतन्त्रवादी नै होइन। किनभने लोकतन्त्रमा त छलफल हुन्छ, प्रजातन्त्र हुन्छ। उनीहरुकै (नेपाली कांग्रेस लगायतका दल) हिसाबले एक वर्ष भइसक्यो त्यहाँ संसदीय बैठक भएको छैन। संसद चलिरहेको छ। संसदीय बन्दोबस्तमा संसद चल्नु भन्दा पहिले के के विषयमा छलफल गर्ने भनेर संसदीय बैठकहरु हुन्छ, त्यो पनि उनीहरुले गरेनन्। झन् सरकार चलाउनुपर्ने दलमा त त्यो विषयमा छलफल हुनुपर्ने हो, त्यसो भएको छैन। अध्यक्षले जे भन्छ त्यही हुन्छ। त्यसलाई तानाशाही भन्ने कि, सामान्तवादी भन्ने कि के भन्ने? लोकतन्त्रवादी चाहीँ होइन।

दोस्रो, जातिवादीहरु पनि त्यसैमा छन्, घुस्याहाहरु छन्, धर्मलाई मान्ने, धर्मको आधारमा पार्टी चलाउनेदेखि क्षेत्रीयताको कुरा गर्नेहरु पनि त्यसैमा छन्। त्यसलाई बेलायतको भाषामा कन्जरभेटिभ पार्टी भनिन्छ। हाम्रो भाषामा पुरानो पन्थीहरुको एउटा गठबन्धन हो। त्यसकारण न वामपन्थी वामपन्थी भयो न लोकतान्त्रिक लोकतान्त्रिक नै भयो।

हाम्रो देशको परिस्थितिमा यसले (गठबन्धनले) झन् अन्योलमा लैजान्छ। कहिलेकाहीँ गंगा बग्यो त्यसमा सबै सानातिना पार्टी पनि मिले भनेर भन्छन्। अब टुकुचाको फोहरलाई गंगा कसरी भन्ने? यो फोहर ढलको दुईवटा हाँगा छन्। दुवैतिर गुण्डाहरु छन्, मोस्ट वान्टेड मान्छेहरु पनि छन्।

अपराधीहरुको वर्चश्व रहेको पार्टीहरु साँचो अर्थमा भन्नुपर्दा तिनीहरुले देशलाई अगाडि लैजादैनन्, झन् अँध्यारोतिर स्थितिमा लैजान्छन्। उनीहरुको बहुमत आयो भने सँगसँगै जान्छन्। सरकार विना बस्नै सक्दैनन्। तीनवटा पार्टी बरोबर सँगसगै बस्छन्, बरोबर झगडा पनि गर्छन्। स्थितिमा कुनै परिर्वतन आउला जस्तो छैन।  एउटा पार्टीको बहुमत आए प्रतिपक्ष पार्टीले कडा भएर काम गर्न दिँदैन। यिनीहरु आपसमा कमजोर रहेकाले आपसमा साथ लिएको हो, जसलाई हामी अन्धो र लंगडोको जोडीको संज्ञा दिन सक्छौं।

तपाईहरु कुनै गठबन्धनमा सहभागी हुनुहुन्छ कि एक्लै लड्नुहुन्छ?

दुवै फोहर ढलमा हामी छैनौं। एक्लै जान सक्छौं। रवीन्द्रनाथ टैगोरको कवितामा भनेझैं 'कसैले आफूले बोलाउँदा आएन भने एक्लै अगाडि बढ्ने हो।' जबसम्म जनताले हाम्रो आवाजलाई सुन्दैन र बुझ्दैन तबसम्म दुबै ढलमा जान उचित छैन। एक्लै जान्छौं।  

तपाईहरु कम्युनिष्ट पार्टी भएकाले वाम गठबन्धनमा सहभागी हुनुपर्ने होइन?

कम्युनिष्ट भनेको कुराले होइन व्यवहारले हुन्छ। अहिलेसम्म एमालेले ४ पटक र माओवादीले ३ पटक सरकारको नेतृत्व गर्‍यो। यो ७ वटा सरकारले कहिले पनि मजदुरको हकहितमा कुनै विधेयक पास गरेको छ? छैन। किसानहरुको हितमा छ? छैन। शिक्षा र स्वास्थ्य निःशुल्क गरेको छ? छैन। अब कसरी कम्युनिष्ट हुन्छ?   

चुनावमा जुन घोषणापत्र प्रचार गरिन्छ त्यो जनतालाई दिएको आश्वासन हो। यसको अर्थ यो हो कि तपाईहरुले हामीलाई भोट दिएर सत्तामा पुर्‍याउनुभयो भने हामी यो अनुसार काम गर्छौं भन्ने प्रतिवद्धता हो। घोषणापत्र एउटा छ, काम भने भागवण्डामा गरेको छ। तिनीहरुले कम्युनिष्टलाई बदनाम गराउने तरिका अपनाएका छन्। नेपालमा कम्युनिष्ट आन्दोलन अगाडि बढेको देखेर विदेशीहरुले नक्कली कम्युनिष्ट बनाएर नेपाली जनतालाई ठगी गरिरहेको स्थिति छ। त्यसैले हामी नक्कली वाम गठबन्धनमा सहभागी छैनौं।

साना पार्टीहरु ठूला पार्टीभित्र विलय हुने वा गठबन्धन गरेर चुनाव लड्ने तयारी गरिरहेका छन्। तपाईहरु चाहिँ किन एक्लै लड्नुहुन्छ?

बिरुवा सानो हुन्छ, बच्चा सानो हुन्छ, त्यो हुर्केर ठूलो हुन्छ। ठूलठूला रुखहरु बिस्तारै भित्रभित्र खोक्रो हुँदै जान्छ र त्यो मर्छ। यी ठूला पार्टीहरु पनि मर्नेवाला छन्, मसानतिर गएका छन्, भौतिक अर्थमा र वैचारिक अर्थमा पनि।

वैचारिक अर्थले यिनीहरु क्रान्तिको निम्ति राणा विरोधी आन्दोलनमा भाग लिएर आगाडि बढ्दै गएकाहरु सब खत्तम भएर तल झरेको अवस्थामा छन्। विचारको हिसाबले आफ्ना पार्टीमा भन्ने उखान छ नि ‘तेल के हेर्नु तेलको धारा हेर्नु, छोरा के हेर्नु छोराको साथी हेर्नु’ भने जस्तै नेपाली कांग्रेसको नेताहरुलाई के हेर्ने, सबै बात लागेका र मोस्ट वान्टेड मान्छेहरु मात्र छन्। कालोबजारीहरु छन्।

एमाले र माओवादीहरु पनि त्यस्तै छन्। हत्या र हिंसामा लागेकाहरु छन्। एक हप्तामा अदालतमा बुझाउनु भन्ने मान्छे त्यसैमा छन्। डनहरु त्यसैमा छन्। सबै त्यस्तै त्यस्तै मान्छेको वर्चश्व भएको पार्टीले जनताको के सेवा गर्ला? यो भनेको पतन शुरु भएको हो भन्ने अर्थ लाग्छ। यसकारण आध्यात्मिक र वैचारिक रुपले पुराना र ठूला पार्टीहरु समाप्त हुँदै गएका छन्। व्यवहारले पनि तिनीहरु पतनतिर गएका छन्। साना पार्टीको विचारबाट जनता प्राभावित भएका छन्। जनताको चेतनाको स्तर बृद्धि भएपछि हाम्रो पार्टी पनि ठूलो हुँदै जान्छ। डुब्न लागेको डुङ्गामा को जान्छ, मुसा पनि भाग्छ। हामी एक्लै अगाडि बढ्छौं।

अहिले समानुपातिक निर्वाचन पद्धतिबाट चुनाव जित्न ३ प्रतिशत मत ल्याउनैपर्ने थ्रेसहोल्डको व्यवस्थाले भोलिको संसदमा तपाईहरुको संख्यात्मक अवस्था कति रहला?

हिजो पार्टी नै खोल्न नपाउने बेला त पार्टी खोलेर लुकी लुकी काम गर्‍यौं। देशभरी संगठन बिस्तार गर्‍यौं। अहिले थ्रेसहोल्ड लगाएर साना दलहरुलाई बन्द गर्ने, समाप्त पार्ने ठूला दलहरुको दृष्टिकोण छ। एटम बम हानेर त अहिले हिरोसिमा र नागासाकीमा घाँस उम्रेको छ। बमले घाँस त खतम गर्न सकेन भने  थ्रेसहोल्डले हामीलाई के गर्छ? जनताको बीचमा हामी जान्छौ, फेरि हामी अगाडि आउँछौं, उनीहरुको आलोचना गर्छौं।

यिनीहरुलाई चित्त नबुझेको कुरा के हो भने, नेमकिपाका २/३ जना सदनमा आउँछ, अनि यी ठूला पार्टीहरुको भए भरको पोल खोल्छ। जनताले हामीलाई भोट दिएकै त्यसैको लागि हो। तिमीहरु प्रखर प्रतिपक्षको रुपमा काम गर्नु, त्यसैले तिमीलाई भोट दिएको भन्ने जनताको आदेश छ। जनताको आदेशलाई शिरोपर गर्दा ठूला पार्टी रिसाउला, सरकार रिसाउला भनेर हामी किन डराउनु? जनताले जे भन्छ हामी त्यही गर्छौं।   

यी ठूला पार्टीले बेइमानी गरेका छन्। जनताको हकहितलाई कुण्ठित पार्दै गएका छन्। आफ्नो कार्यकर्तालाई करोडौं पैसा बाँडेका छन्। ती ठूला पार्टीले गरेका यी सबै कामहरु हामी सबै जनताका अगाडि भन्छौं। त्यही भएर उनीहरुलाई हामीप्रति रिस छ। राजा रिसाएको बेलामा नडराउने, हामीलाई उनीहरुको रिसले के गर्छ? त्यसो भएकाले थ्रेसहोल्डले हामीलाई लछार पाटो लाग्ने होइन।

यो पनि पश्चिमी मुलुकले भनेर ल्याएको हो। नेमकिपाका २/३ जना छन् साम्राज्यवाद र अमेरिका र ट्रम्पको विरोध गर्छ, क्यूवा र उत्तर कोरियाको समर्थन गर्छ। यिनीहरुलाई थेसहोल्ड लगाइदेउ भन्यो, त्यही भएर त्यसो गरिएको हो। थ्रेसहोल्ड ल्याएर हामीलाई केही गर्न सक्दैन। बलिरहेको बत्तीमा पुतली गएपछि जले जस्तै आफै जल्छ।

तपाईहरुले गएको संसदमा धेरै राम्रा एजेण्डा र विषयहरु उठाउनुभयो। तर कुनै विधेयक संशोधन गर्न वा पारित गर्न र नगर्न तपाईहरुको संख्या पुगेन। तपाईहरु भक्तपुरमात्र केन्द्रित किन हुनुभयो?

ती नेताहरु ७५/७६ जिल्लाबाट काठमाडौंमा किन आउने? आफ्नो आफ्नो जिल्ला गएर राम्रो गर्नु, जनताको सेवा गर्नुपर्दैन उनीहरुले? राम्रो स्कूल चाहिन्छ, आफ्नो छोराछोरीको निम्ति भने त्यही गएर राम्रो स्कुल बनाउनु। त्यहाँका जनताका छोराछोरीले पनि पढ्छन्। घर बनाउने भए त्यहीँ बनाउने एउटा बजार खुल्छ, एउटा शहरको निर्माण हुन्छ। हामी यहाँको बासिन्दालाई उल्टै तिमीहरु भक्तपुर र काठमाडौंमा मात्र किन बसेको भन्दा लाज लाग्दैन उहाँहरुलाई? आफ्नो मुख हेर्नु पर्दैन पहिला ?

त्यसकारण म उहाँहरुलाई भन्छु आफ्नो ठाउँमा गएर काम गर्नुस्, जनताको सेवा गुर्नुस्। यी कम्युनिष्ट भनाउँदाहरु काठमाडौं आएर घर बनाउने अनि आफ्ना नातागोता सबै बोकेर ल्याउने। त्यसैले मैले भनेको छु काठमाडौं आउने होइन आफ्नो आफ्नो जिल्लामा गएर जनताको सेवा गर्ने। चुनावको समयमा एकचोटी पैसा खर्च गर्‍यो, अनि चुनाव जित्यो यहाँ आयो। उनीहरुले जनभावना अनुसार काम गर्नुपर्देन?

हामी भक्तपुरमा मात्र सिमित छैनौं। हामी देशभर छौं। हामीले त्यसबेला हुम्ला जुम्लाजस्तो ठाउँमा गएर काम गर्‍यौं जति बेला यी ठूला दलका नेताहरु कि जेलमा थिए कि त भागाभागमा थिए। बाटोघाटो लगायतका कुनै सुविधा नभएको अवस्थामा हाम्रा साथीहरुले देशका मुगु, कालिकोटलगायतका गाउँमा गएर सेवा गरेका छन्। अहिले मोटर चल्न थालेको छ, हवाइजहाज चलेको छ। तर पनि ठूला पार्टीका नेताहरु त्यहाँ बस्दैनन्।

हाम्रो पार्टीको उद्देश्य धनीका छोराछोरी र टाठाबाठा मानिस लिएर पार्टीमा जम्मा गर्ने होइन। हामी गरीबकै बीचमा जान्छौं। नेमकिपाको सिद्धान्त करोडपति र अरबपतिसँग एक्लै लड्ने हो। अरु भए लड्ने हिम्मत गर्दैनथे। राति आकाशमा धेरै ताराहरु हुन्छन्, उज्यालो दिन एउटा चन्द्रमा काफी छ। त्यसैले सदनका लागि हामी एउटै भए पनि काफी छ।

पछिल्लो संसदको उपलब्धि के रह्यो?

पहिला त संविधान बन्यो। संविधानमा हामीले झण्डै ७० वटा असहमतिहरु दिएका छौं। असहमतिहरु भए पनि संविधान बन्यो। हिन्दुस्तानले त्यसलाई फिर्ता लेउ भनिरहेको छ। हामी झन् अल्झिरहेका छौं। साथसाथै हामीले देशको निम्ति गर्नुपर्ने र सरकारले नगरेको कुरा र ठूला पार्टीले शासक दलहरुले कस्तो कस्तो गलत काम गर्‍यो, त्यसको भण्डाफोर गर्ने अवसर पायौं।

उदाहरणका निम्ति पहिलेको संविधानमा नेपालको प्राकृतिक स्रोत र साधनको बारेमा देशी वा विदेशी कम्पनीसँग सन्धी सम्झौता गर्नुपर्दा संसदको दुई तिहाइ बहुमतले पारित गर्नुपर्ने व्यवस्था थियो। तर अहिले लगानी बोर्डले स्विकृति दिए पुग्छ भनेर संसदमा ल्याइयो। कतिसम्म गर्न खोजे भने देशका असिमित भूमि ५० वर्षको लागि देशी वा विदेशी कम्पनीलाई लिजमा दिन सकिन्छ भन्ने व्यवस्था राखियो। हामीले तत्काल विरोध गर्‍यौं, बैठक नै बस्न दिएनौं। पछि व्हिप लगाएर बहुमतले पास गरियो। त्यो पनि एउटा उपलब्धी हो।

अहिले सरकारमा भएको माओवादीले वाम गठबन्धनमा एमालेलाई साथ दियो। प्रधानमन्त्रीले फेरि सरकार बिस्तार गर्नुभयो। यस्ता घटनाक्रमले चुनावलाई कत्तिको प्रभावित पार्छ जस्तो लाग्छ?

सरकारमा बस्नेले चुनावको मुखमा आफ्ना कार्यकर्तालाई १०/१० करोड बाँड्न नहुने। एउटाले आचारसंहिता उलंघन गर्‍यो। अर्कोले झन् गर्‍यो। आचारसंहिता, कानुनको उलंघन गर्नेमा प्रतिस्पर्धा भइरहेको छ शासक दलहरुमा। साधारण जनताले गर्‍यो भने जेल हाल्ने, मुद्दा लगाइदिने अनि उनीहरुलाई चाहिँ केही नहुने त्यसकारण उनीहरु प्रजातन्त्रवादी, लोकतन्त्रवादी कम्युनिष्ट केही होइन।

यिनीहरु नयाँ खानदानी वर्ग हुन्। यिनीहरुलाई कुनै कानुन चाहिँदैन। तीन वटा ठूला पार्टी मिलेपछि जे पनि गर्ने। संविधान पनि फेर्न तयार हुने स्थिति छ। सरकारमा रहेकाहरु प्रतिपक्षसँग मिल्न जानु सिद्धान्तले मिल्दैन। राजीनामा दिनुपर्ने हो। सरकार पनि लाचार छ। यदि प्रधानमन्त्री दह्रो भएको भए फलाना फलाना नेता मन्त्रीहरुले राजीनामा दियो त्यसैले बिदा दिएँ भन्न सक्नुपर्दछ। अर्को कुरा मैले मन्त्रिपरिषदलाई नयाँ ढंगबाट बनाएँ वा पुनर्गठन गरें भनेर भन्न सक्नुपर्दछ। दुवैको उद्देश्य राम्रो छैन। यिनीहरु सबै एउटै ड्याङका मूला हुन्।

चुनाव सर्ने हल्लाहरु पनि चलेका छन्। यसमा कति सत्यता पाउनुहुन्छ ?

आफु नजित्ने भएपछि यिनिहरुले चुनाव सार्न पनि सक्दछन्। अहिलेसम्म स्थिति ठिकठिकै छ भोलि के होला भन्न सकिन्न। चुनावमा नेपाली कांग्रेस खतम हुने भयो भनेर भारतले भन्यो भने यी शासकहरुले चुनाव सार्न बेर छैन। फेरि वामपन्थी भन्नेहरुको नयाँ गठबन्धनलाई पनि चुनावमा तिमीहरुको स्थिति ठीक छैन भन्यो भने उनीहरुपनि चुनाव सार्न तयार हुन्छन्। यसमा भारतले कसरी भूमिका खेल्छ भन्ने मुख्य कुरा हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.