|

  • पेमा लामा-

काभ्रेपलाञ्चोकः गाउँका युवाहरू पैसा कामाउनकै लागि विदेश जाने लहर चलिरहेका बेला काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– ३ नाला चुनातालका दुर्गानाथ दाहालले भने फूल खेती गरेर महिनामा लाखौँ रुपैयाँ कमइ गरिरहेका छन्।

दाहालले चुनातालमा रहेको आफ्नै बारीमा सयपत्री जातका फूल खेती गरेर आम्दानीको स्रोत पहिल्याएका हुन्। दाहालले त्यहाँ दुई रोपनी जग्गामा सयपत्री जातको फूलको खेती गरेका छन्। तीन महिनामै फुल्ने उक्त फूलको बीउ भने थाइल्याण्डबाट मगाएर खेती थालनी गरेको उनले बताए। 

पहिला पहिला घर वरिपरि बारीको कान्लातिर रोपेर आवश्यक काम चलाउन मात्रै प्रयोग गर्दै आएकामा यसपालिबाट व्यावसायिक रूपमा नै खेती गरेको उनले बताए। पहिलो पटक सुरु गरेको हुनाले सुरुमा २० ग्राम बीउ ल्याएर खेती गरेको उनको भनाइ छ।

‘यस खालको सयपत्री जात नेपालमा नपाइने भएकाले थाइल्याण्डबाट मगाएर खेती गरेको हुँ’, दाहाले भने, ‘बीउ महँगो भए पनि राम्रोसँग फुल्ने भएकाले खेती गर्न जाँगर चल्दोरहेछ।’ उनले एकै पटक फुल्ने र खेती गर्न पनि खासै धेरै मिहिनेत नचाहिले भएकाले फूल खेतीबाट राम्रै आम्दानी गर्न सकिने बताए। बीउ महँगो भएकै कारण नर्सरीतिरसमेत बिरुवा किन्न नपाएको उनको गुनासो छ। 

२० ग्राम बीउको आठ हजार रुपैयाँ लगानी गरेका दुर्गानाथ भन्छन्, ‘नर्सरीमा एउटा बिरुवाको २० रुपैयाँ जति पर्दोरहेछ, मैले एक हजार बोट लगाएको छु।’ एउटा बोटबाट २०० देखि ३०० रुपैयाँसम्म कमाइ हुने उनी बताउँछन्। यसरी हेर्दा दुई रोपनी जग्गामा गरेको फूल खेतीबाट तीन महिनामा दुई लाखदेखि तीन लाख रुपैयाँसम्म कमाइ हुने उनको अनुमान छ।

फूलको खेती देखेर काठमाडौंका विभिन्न स्थानहरूबाट अग्रीम रूपमा बुकिङ गर्न भन्दै धेरै फोन आएको दाहाल बताउँछन्। ‘धेरैको फोन आएको छ, खेती थोरै मात्रै सुरु गरेको छु, आगामी दिनमा १० रोपनी जग्गामा लगाउँछु’, दाहालले आगामी योजना सुनाए।

काठमाडौंमा कपडा पसल सञ्चालन गर्दै आएका दाहालले साथीहरूको सल्लाहमा फूल खेती सुरु गरेको बताए। ‘यो मेरो अर्को व्यवसाय हो’, दाहाल भन्छन्, ‘विशेष गरेर गाउँका युवा साथीहरू, जो काम गर्नकै लागि घर परिवार सबै छोडेर विदेश जान्छन्, तर गर्न चाह्यो भने यहीँ पनि काम गरेर धेरै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणका लागि पनि मेरो यो अर्को व्यवसाय हो।’ 

युवाहरू आफ्नो भएको सम्पत्ति धितो राखेर विदेशमा जाने, कमाउने र फर्केर आएपछि त्यो पैसा नसकिउन्जेल बसेर खाने अनि त्यो पैसा सकेपछि फेरि कमाउन विदेश जाने गरेको उल्लेख गर्दै दाहाल भन्छन्, ‘भएको जग्गामा श्रम ग¥यो भने यहीँ पनि कमाउन सकिन्छ।’ दाहालले थपे, ‘मैले गरेको फूल व्यवसाय देखेर सबैले सल्लाह लिन आएका छन्, सायद आउँदा दिनहरूमा गाउँमा फूल खेती गर्नेहरूको संख्यामा वृद्धि हुनेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.