|

पर्वत : बेनी–जोमसोम–कोरला सडक आयोजनामा सरकारले यस बर्ष विनियोजन गरेको ४५ करोड रुपैयाँ सुरुवाती चरणमा नै सकिएको छ। उत्तर–दक्षिण व्यापारिक मार्ग आयोजना प्रमुख भीमार्जुन अधिकारीका अनुसार यस वर्षका लागि छुट्याइएको बजेट तीन महिनामै सकिएको हो। द्रुत गतिमा काम अगाडि बढेकाले बजेट सकिएको र थप बजेट माग गरिएको अधिकारीले बताए।

बेनी–जोमसोम–कोरला सडक आयोजना प्रमुख नरेन्द्र सुवेदीका अनुसार ४५ करोड रुपैयाँले सडक विस्तार तथा ग्राभेलिङ गरिएको छ। उनले भने, ‘यो क्षेत्रमा जाडोमा काम गर्न कठिन हुन्छ, वर्षामा पनि पानी खासै नपर्ने हुँदा सहज तरिकाले काम गर्न सकियो, जसका कारण बजेट सकिएको हो।’

गत वर्ष उक्त सडकका लागि ६९ करोड रुपैयाँ विनियोजन भएकोमा ६८ करोड २५ लाख ५८ हजार रुपैयाँ खर्च भएको थियो। जोमसोम–कोरला एक सय १० किलोमिटर सडक दुई लेनको बनाउन लागिएको छ। रकम सकिएसँगै विभागले उक्त आयोजनालाई बजेट थप गर्ने गरेको छ। सोही करिडोरको राम्दी–मालढुंगा खण्डमा सरकारले ४५ करोड रुपैयाँ विनियोजन गरेको छ।

उक्त खण्ड पनि दुई लेनको बनाउन लागिएको छ। सडकमा पर्ने आठ वटा पुल निर्माणका लागि टेन्डरको काम अगाडि बढेको छ। अन्य स्थानमा भने पुल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको छ। गत वर्ष भने गैंडाकोट–राम्दी–मालढुंगा सडकका लागि २८ करोड ८२ लाख रुपैयाँ छुट्याइएको थियो। त्यसमध्ये २६ करोड ६९ लाख रुपैयाँ खर्च भएको छ।

नवलपरासीको गैंडाकोटदेखि पाल्पा, बागलुङ हुँदै कोरला जोड्ने उक्त सडक चार सय ३५ किलोमिटरको छ। नवलपरासीदेखि पाल्पा र बेनीदेखि कोरला गरी अहिले दुई भागमा सडक आयोजनाको काम भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.