|

  • मेगराज खड्का-

रुकुमः नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले रुकुम मुसिकोटमा चलिरहेको रुकुम पर्यटन तथा साँस्कृतिक महोत्सवमा आफ्नो प्रस्तुति देखाएका छन्। ११ दिनसम्म चलेको महोत्सवको अन्तिम सोमबार उनले आफ्नो प्रस्तुति देखाएका हुन्। 

उनको प्रस्तुति हेर्न गाउँगाउँबाट ठूलो संख्यामा दर्शकहरूको सहभागिता थियो भने मुसिकोट पुगेलगत्तै उनलाई भव्य स्वागत पनि गरिएको थियो। कार्यक्रममा बोल्दै हमालले आफ्नो उमेर अहिले पनि २५ वर्ष नै हो जस्तो लाग्ने गरेको बताए। ‘२८ वर्ष त नेपाली चलचित्र क्षेत्रमा नै बिताइसकेको छु’, उनले भने, ‘तर मेरो उमेर अहिले पनि २५ वर्ष नै ओ जस्तो लाग्छ।’ आफूसँग २५ वर्षकै युवाको जस्तो जोश अझै भएको र दर्शकहरूले पनि माया गरिरहेको उनको भनाइ थियो।

कुनै पनि मानिस उमेरले बूढो नहुने भन्दै उमेर ढल्केर पनि युवा जस्तै जोश जाँगर देखाइराख्ने हो भने मान्छे कहिल्यै बूढो नहुने उनले बताए। दर्शकहरूको चर्काे हुटिङ र हौसलाका साथ राजेश हमालले फिल्मी डाइलग शैलीमा भने, ‘सूर्य कहिल्यै पनि पश्चिमबाट उदाउँदैन अनि राजेश हमाल कहिले पनि बूढो हुँदैन।’ 

हमालले ‘चट्ट रुमाल’ भन्ने फिल्मी गीतमा आफ्नो प्रस्तुति दर्शक माझ देखाएका थिए। त्यस्तै, गायक तिलक परियारले गाएको ‘सगालैका बारिमा तोरी हरियो, लाग्दैन बाडुल्की माया मरियो’ भन्ने स्थानीय टप्पा भाकामा गाइएको गीतमा पनि खुलेरै दर्शकसँगै नाँचेका थिए। राजेश हमालको प्रस्तुतिमा सयौँ मोबाइलहरू तस्बीर र भिडियोका लागि उनीतिर तेर्सिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.