समानुपातिकमा सहभागि हुन ८८ दलले लिएका थिए चुनाव चिह्न

|
बन्दसूची पेश गर्नका लागि टोकन लिदै राजनीतिक दलका प्रतिनिधि।

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ४९ वटा राजनीतिक दलहरुले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारको बन्दसूची पेश गरेका छन्।

समानुपातिक तर्फ सहभागिता जनाउनका लागि दलहरुलाई आइतबार समय दिइएको थियो। ८८ दलले समानुपातिक निर्वाचनमा सहभागिता जनाउने भनेर चुनाव चिह्न लिएपनि निर्वाचन आयोगमा रहेको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभामा सहभागिता जनाउनका लागि ४९ दलले मात्रै बन्दसूची पेश गरेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन्।

त्यसैगरी, सातवटै प्रदेशका प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको नामावली प्रदेश अनुसार बेग्ला बेग्लै बन्दसूची समेत निर्वाचन अधिकृतको कार्यालयमा आइतबार नै पेश गरेका थिए।

निर्वाचन आयोगका अनुसार, प्रदेश नम्बर एकमा २७, प्रदेश नम्बर दुईमा २९, प्रदेश नम्बर तीनमा ३१, प्रदेश नम्बर चारमा २०, प्रदेश नम्बर पाँचमा २७, प्रदेश नम्बर छ मा १८ र प्रदेश नम्बर सातमा २० वटा राजनीतिक दलले उम्मेदवारहरुको बन्दसूची पेश गरेका छन्।

बन्दसूची पेश गर्न सुरुमा ५५ वटा राजनीतिक दलले आयोगबाट टोकन लिएकामा अन्ततः ४९ राजनीतिक दलले मात्रै प्रतिनिधिसभामा सहभागिता जनाउने प्रक्रिया पूरा गरेको प्रवक्ता ढकालले जानकारी दिए।

केही राजनीतिक दलले प्रतिनिधिसभामा भाग नलिइ प्रदेश सभाका लागि मात्रै बन्दसूची पेश गरेका छन्।

दलहरुले आयोगमा पेश गरेका उम्मेदवाहरुको बन्दसूचीलाई असोज ३० गते देखि कात्तिक ५ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा जाँचबुझ गर्ने कार्यतालिका रहेको छ। कानुनी व्यवस्था अनुसार उम्मेदवारको बन्दसूची समानुपातिक प्रतिनिधित्व र समावेशी सिद्धान्तका आधारमा तयार भए नभएको वा अन्य रीत पुगे नपुगेको एकीन गरी त्यस्तो रीत पुगेको नपाइएमा सम्बन्धित दललाई सो सूची सच्चाउन आयोगले सूचित गर्ने प्रावधान छ।

निर्वाचन कार्यक्रम अनुसार, समानुपातिक निर्वाचन निर्देशिका अनुसार आयोगले निर्देशन गरे बमोजिम सम्बन्धित राजनीतिक दलहरूले कात्तिक ६ देखि १२ गतेसम्म उम्मेवारको बन्दसूची सच्याई आयोगमा पेश गर्नुपर्ने व्यवस्था छ। उक्त बन्दसूची कार्तिक १७ गते सार्वजनिक हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.