|

काठमाडौं : इतिहासको संयोग। दस वर्षअघि टिकटमा कुरा नमिलेकै कारण बालुवाटारबाट कांग्रेस छाडेको घोषणा गर्दै निस्केका विजयकुमार गच्छदार ठीक दस वर्षपछि बालुवाटारबाटै कांग्रेस फर्किए। ०६४ माघ १८ गते कांग्रेस छाडदा गच्छदारले बालुवाटारमा गिरिजाप्रसाद कोइरालाका सामुन्ने जसरी आँसु झारेका थिए, त्यसैगरी सोमबार पार्टी प्रवेश कार्यक्रममा पनि सम्हालिन सकेनन्। हुँक्क–हुँक्क गर्दै भावविह्वल भएका गच्छदारको वाक्य नफुटेपछि दुईपटक पानी पिए। बिस्तारै आफूलाई सम्हाल्दै भने, ‘पार्टी छाडदा र मिल्दा बालुवाटारबाटै हुन पुग्यो। यो पनि इतिहासमा गज्जबकै संयोग पर्‍यो।’ 

त्यतिबेला कांग्रेस नेतृत्वले तराई–मधेसको भावना नबुझेकै कारण आफूले पार्टी छाडेको स्मरण पनि उनले गरे। पहिलो संविधानसभा निर्वाचनका बेला आफूनिकट तराई–मधेसका केही नेताहरूलाई टिकट दिन तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँग उनले आग्रह गरेका थिए। आफूले भनेअनुसार नभएपछि उनी निर्वाचनको मुखमै पार्टी छाडेर मधेसी जनअधिकार फोरम प्रवेश गरे। तर, अहिले ती विवाद सल्टाएर नै उनी कांग्रेस फर्केका हुन्। उनीसहित फोरम लोकतान्त्रिकका करिब आधा दर्जन नेतालाई प्रतिनिधिसभाको प्रत्यक्ष र त्यति नै संख्यामा समानुपातिकतर्फको उम्मेदवार बनाउने सहमति बनेपछि नै दुई पार्टीबीचको एकता सम्भव भएको हो। यसमा सहमति हुन ढिलाइ भएकै कारण आइतबार हुने भनिएको घोषणा सोमबार सरेको हो।  

गच्छदारले एमाले नेतृत्वमा कम्युनिस्ट गठबन्धन निर्माण भएपछि कांग्रेस प्रवेश गर्ने बाध्यता आइपरेको बताए। ‘कार्यगत एकतासम्म गर्ने कुरा थियो। पार्टी एकता नै गर्ने कुरा थिएन, तर असोज १७ गते एमाले नेतृत्वमा कम्युनिस्ट गठबन्धन जसरी निर्माण भयो त्यसले कांग्रेस प्रवेश गर्न मलाई बाध्य बनायो’ गच्छदारले भने, ‘कम्युनिस्टहरूले दुई तिहाइ ल्याएर संविधान संशोधनमार्फत अधिनायकवादको बाटो समात्ने जुन लक्ष्य बनाए, त्यसलाई परास्त गर्न नै म कांग्रेस फर्किएको हुँ।’

बालुवाटारको प्रधानमन्त्री बस्ने कार्यकक्षमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल लोकतान्त्रिक फोरम अध्यक्ष गच्छदारबीच सहमतिपत्रमा हस्ताक्षरपछि पार्टी एकताको औपचारिक घोषणा सभाहलबाट गरिएको थियो। सहमति पत्र सार्वजनिक गर्दै दुवै नेताले औपचारिक रूपमा पार्टी एक भएको उद्घोष गरेका थिए।

सहमति पत्रमा ‘राजनीतिलाई अधिनायकवादतर्फ धकेल्ने प्रयत्न भइरहेका बेला संविधानको लोकतान्त्रिक जगलाई सुदृढ एवं सर्वस्वीकार्य बनाउन एकता भएको’ उल्लेख गरिएको छ। सहमतिमा पार्टीको जिम्मेवारी बाँडफाँटलगायत प्रदेश र प्रतिनिधिसभाको चुनावको सिट बाँडफाँटको विषय सार्वजनिक गरिएको छैन। यति मात्रै भनिएको छ, ‘एकतापछि कांग्रेसको सांगठनिक संरचनामा केन्द्र, प्रदेश, जिल्ला, नगर र गाउँसम्मका लोकतान्त्रिक फोरम र यसका भ्रातृ/भगिनी संस्थाहरूको संरचना एवं सदस्यहरूको यथोचित समायोजन गर्न हामी दुवै दल सहमत छौं।’ 

सहमति पत्रमा थारू, मधेसी, जनजाति, आदिवासी, महिला, दलित, मुस्लिम र सीमान्तकृत समुदायलगायतको हक, अधिकारका मुद्दा सम्बोधन गर्न कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गरिएको छ। दुई दलबीच भएको यो प्रतिबद्धतालाई पूरा गर्न पुन: संविधान संशोधनको मुद्दा अघि बढाउने विषय पनि सहमति पत्रमा उल्लेख छ। ‘यस प्रतिबद्धतालाई मूर्तरूप दिन हामी दुवै दलहरूले संविधान संशोधनको प्रयास व्यवस्थापिका संसदमा गर्‍यौं, संविधान संशोधन हुन सकेन,’ सहमतिपत्रमा उल्लेख छ, ‘आगामी दिनमा यो कार्य सम्पन्न गर्नु हाम्रो साझा जिम्मेवारी हो।’ 

कांग्रेसले थरुहट र मधेस आन्दोलनको सिलसिलामा गिरफ्तार भएका व्यक्तिहरूको मुद्दा राजनीतिक रहेको स्वीकार गरेको छ। सहमति पत्रमा छ, ‘यस क्रममा निर्दोष नागरिकहरूको मुद्दा फिर्ता गरी रिहाइ गर्न सरकारसँग आवश्यक पहल गर्न हामी दुवै दल सहमत छौं।’ 

०४८ सालदेखि गच्छदार निरन्तर सत्ता र शक्तिको निकट रहे। कांग्रेसमा रहँदा र छाडेपछि पनि उनी पटकपटक मन्त्री भए। गच्छदार २०४८ यताका पाँचवटै संसदीय र संविधानसभा चुनाव जित्ने चारजना नेतामध्ये पर्छन्। उनीबाहेक शेरबहादुर देउवा, रामचन्द्र पौडेल र नारायणमान बिजुक्छेमात्रै पाँचैपटक प्रत्यक्ष निर्वाचित भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.