|

काठमाडौं : संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यमा नेपाल पहिलोपटक सदस्य बनेको छ। अमेरिकाको न्युयोर्कमा सोमबार साँझ सम्पन्न निर्वाचनबाट नेपाल सदस्य पदमा विजयी भएको राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगले जनाएको छ।

नेपाल सन् २०१८ देखि २०२० सम्म ३ वर्षका लागि मानवअधिकार परिषदमा सदस्य बनेको हो। सन् २००६ मा मानवअधिकार परिषद् बनेयता पहिलोपटक नेपाल राष्ट्रसंघ मानवअधिकार परिषद् सदस्य बनेको हो।

यद्यपि, संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चआयोग रहँदा सन् १९९३ र २००३ मा गरी दुईपटक नेपाल आयोग सदस्यमा निर्वाचित भएको थियो।एसिया प्यासिफिक ग्रुपबाट नेपालसँगै कतार, पाकिस्तान र अफगानिस्तान परिषद् सदस्यमा विजयी भएका छन्। निर्वाचनमा मलेसिया पराजित भएको छ।

परराष्ट्रसचिव शंकरदास बैरागीले नेपालले मानवअधिकार परिषद् सदस्यमा जित्नु गौरवको विषय भएको बताए। ‘एसिया प्यासिफिक ग्रुपमा सबैभन्दा बढी मत पाएर मानवअधिकार परिषद् सदस्यमा हामी विजयी भएका छौं। यो हाम्रो बहुपक्षीय कूटनीतिमा महत्वपूर्ण उपलब्धि हो। आगामी दिनमा मानवअधिकारका क्षेत्रमा अन्तर्राष्ट्रिय तहमा अझ बढी काम गर्न मौका प्रदान गर्नेछ’ सचिव बैरागीले भने।

उनले नेपालले मानवअधिकार प्रवद्र्धनका क्षेत्रमा अन्तर्राष्ट्रिय र घरेलु तहमा गरेका काम, प्रयास र प्रतिबद्धताको परिणामस्वरूप मानवअधिकार परिषद् सदस्यमा नेपाल निर्वाचित भएको प्रतिक्रिया दिए। उनले अब नेपालले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्य बन्न प्रयास गर्ने बताए। परिषद् सदस्यमा विजय सुनिश्चित गर्न न्युयोर्क र जेनेभास्थित राष्ट्रसंघ हेर्ने नेपाली नियोगमार्फत राष्ट्रसंघ सदस्य मुलुकसँग केही समययता नेपालले विभिन्न मुलुकसँग लबिङ गरेको थियो।

परिषद् निर्वाचनमा विजयी हुने एसिया प्यासिफिक ग्रुपबाट नेपालबाहेक अन्य सबै मुस्लिम मुलुक छन्। संयुक्त राष्ट्रसंघको न्युयोर्कमा जारी ७२ औँ महासभाका क्रममा मानवअधिकार परिषद् सदस्यका लागि निर्वाचन भएको हो। परराष्ट्र मन्त्रालयले मावअधिकार परिषद् सदस्यका लागि दुई वर्षअघि उम्मेदवारी दिएको थियो। त्यसयता समय-समयमा भएका द्विपक्षीय तथा बहुपक्षीय फोरममा नेपालले परिषद् सदस्यका लागि विभिन्न मुलुकसँग आग्रह गर्दै आएको थियो।

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चार महिनाअघि भारत भ्रमणका क्रममा नयाँदिल्लीबाट नेपाल मामिला हेर्ने विदेशी राजदूतसँग अन्तरक्रिया गरी नेपाललाई मानवअधिकार परिषद् सदस्यमा समर्थन गर्न आह्वान गरेका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रसंघको ७२ औँ महासभाका क्रममा न्युयोर्कमा सम्बोधन गर्दै नेपाललाई मानवअधिकार परिषद् सदस्यमा समर्थन गर्न विश्व समुदायलाई आह्वान गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.