|

काठमाडौं : सरकारले चालु आर्थिक बर्षको असार मसान्तसम्ममा  थप १५ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने तयारी गरेको छ। स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने निकाय सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका निर्देशक डा.गुणराज लोहनीले आगामी असार मसान्त सम्ममा थप १५ जिल्लामा स्वास्थ्य बिमा लागू गर्ने तयारी अगाडि बढाइएको बताए।

'हामीले चालु आर्थिक बर्षको असारसम्म भोजपुर, खोटाङ, सिरहा, रामेछाप, रौतहट, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, रुकुम  डोल्पा कालिकोट, मुगु, हुम्ला, बाजुरा र बझाङमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने तयारी अगाडि बढाएका छौं' डा. लोहनीले भने।

तीमध्ये केही जिल्लाहरुमा गरिबीको पहिचान गरी तिनीहरुलाई परिचयपत्र वितरणको तयारी अगाडि बढाइएको उनले जानकारी दिए। सरकारले २०७२ साल चैत २५ गते कैलाली, बाग्लुङ र इलाम जिल्लाबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको थियो। त्यसपछि कास्की, पाल्पा, बैतडी, अछाम र म्याग्दी र तेस्रो चरणमा चितवन, मकवानपुर, तनहुँ, जुम्ला, भक्तपुर, जाजरकोट र गोरखा जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिसकेको छ।

यस्तै यही असोजदेखि झापा, सोलुखुम्बु, सुनसरी, सिन्धुली, रोल्पा, सुर्खेत र बर्दिया समेत गरी हालसम्म २२ जिल्लामा स्वास्थ्य बिमा सञ्चालन गरिसकेको छ।सरकारले आर्थिक वर्ष ०७३/०७४ को बजेटमार्फत आगामी तीन वर्षभित्र सबै नेपालीको स्वास्थ्य बिमा गर्ने लक्ष्य सार्वजनिक गरेको थियो।

सरकारी योजना अनुसार नै स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्दै लाने योजना सहित बिमा कार्यक्रम विस्तार गर्दै लगेको डा. लोहनीले बताए। यसै सम्बन्धमा गत साता व्यवस्थापिका संसदबाट स्वास्थ्य बिमा विधेयक पारित भइसकेको छ। हालसम्म एउटा कार्यक्रमको रुपमा रहेको स्वास्थ्य बिमा अब ऐन अनुसार सम्पूर्ण नागिरकलाई अनिवार्य रुपमा सहभागी गराउन बाटो खुलेको छ।

के हो स्वास्थ्य बिमा?

सरकारले अहिलेसम्म ५ जना सदस्य रहेको एक परिवारसँग वर्षमा २ हजार ५ सय रुपैयाँ लिएर स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउँछ। एउटा परिवारमा सामान्यतया ५ जना सदस्य रहने अनुमान गरी सरकारले ५ जनाको परिवारबाट २ हजार ५ सय लिएर परिवारका सबै सदस्यको स्वास्थ्य बिमा गराउँछ। परिवारमा ५ भन्दा बढी सदस्य भएमा एक जनाको थप ४२५ रुपैयाँ तिरेर सदस्य बन्‍न सकिनेछ। स्वास्थ्य बिमामा सहभागी भएपछि परिवारका सदस्यलाई वार्षिक ५० हजार रुपैयाँ बराबर उपचार खर्च प्रदान गर्ने व्यवस्था छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.