|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले निर्माण गर्न लागेको लोकतान्त्रिक गठबन्धनलाई प्रतिक्रियावादीहरुको गठबन्धनको संज्ञा दिएका छन्। युवा संघ नेपालले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई मंगलबार काठमाडौंमा संबोधन गर्दै अध्यक्ष ओलीले कांग्रेसले दुनियाँभरको प्रतिक्रियावादीहरुलाई एकीकृत गर्न लागेको बताए।

'पहिला मजदुरहरुले दुनियाँभरको मजदुर एक हौं भन्थे। अहिले कांग्रेसले दुनियाँभरका प्रतिक्रियावादी एक हौं भन्न थालेको छ' उनले भने 'एउटै भए हुन्छ। कति फरक फरक शक्तिसँग लडिराख्नु बरु एउटैसँग लड्छौं। तयार भए हुन्छ एमालेले धोवीपाठ लाउनेवाला छ। यो पुरानो कुस्तीसँग सम्बन्धित छ।'

संसदको अवधि समाप्त भएपछि अब एमाले अरुसँग तुलनै गर्न नसक्ने गरी पहिलो ठूलो पार्टी भएको ओलीले दावी गरे। 'एमालेसँग १४ हजार निर्वाचित प्रतिनिधि छन्। दुई महिनापछि बहुमतप्राप्त पार्टी पर्छ। अब सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी हो भनिरहनुपर्दैन।'

नेकपा एमालेको तागतका कारण दक्षिणपन्थीहरुमा छटपटी भइरहेको भन्दै ओलीले अब कांग्रेसले दुई तिहाइ मत ल्याउने जमना गएको पनि बताए। 'बैंसमा दुई तिहाई ल्याउने कांग्रेस दोस्रो भएको छ। चुनावपछि झन् नराम्रो गरी हार्छ' उनले भने।

नेकपा एमालेका नेता माधवकुमार नेपालले सबै कुरा बिर्सेर अब एमाले र माओवादी गठबन्धनलाई जिताउन लाग्नुपर्ने बताए। 'तालमेल भइसकेपछि इमान्दारिता देखाउनुपर्छ,  यो चुनावमा गठबन्धनका उम्मेदवारलाई जिताउनैपर्छ।'

वाम गठबन्धनमा सहभागी नयाँ शक्ति नेपाल पार्टीले १५ सिट मागेपछि गठबन्धन टुटेको नेता नेपालले बताए। 'बाबुरामजी सजिलै आउनुभयो। सजिलै जानुभयो। यो गठबन्धनमा १५ सिट माग्नुभयो। जुन दिन सम्भव नै थिएन' उनले भने।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.