|

  • विकास डाँगी-

दाङः चाडवाडमा उपभोक्ताहरू उपभोग्य वस्तु खरिदका लागि बजार छिर्ने क्रम बढ्दो छ। व्यवसायीहरूले उपभोक्ताको चापलाई थेग्नै नसक्ने अवस्था देखिन्छ। उपभोक्ताको चापलाई व्यवस्थापन गर्न त हम्मेहम्मे त छ नै, उपभोग्य वस्तु बिक्री वितरण पनि अस्तव्यस्त बनेको छ।

दाङका बजारका मुख्य चोक र सडकहरूमा खुला रूपमा व्यापारीहरूले दैनिक उपभोग्य वस्तुलगायत तिहारका लागि आवश्यक अन्य सामानहरू बिक्री वितरण गर्दै आएका छन्। खुला रूपमा बेच्न राखिएका ती सामानहरूमा धुलो पर्ने भएकाले उपभोक्ताहरूको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने स्थानीय बताउँछन्। 

त्यति मात्र नभई सडक छेउमा राखेको खुला व्यापारले दुर्घटना नित्याउनुका साथै अन्य थोक व्यापारीहरूलाई समेत घाटा पर्ने व्यापारीहरू बताउँछन्।

सडक छेउमै सामान राखेकाले उपभोक्ताहरू पनि आफ्ना पसलमा नआउने, सडकमै सामान किन्ने र त्यसले उपभोक्ताहरूको स्थास्थ्यमा असर पुग्ने तुलसीपुरको वीरेन्द्र चोकमा किराना व्यवासाय गर्दै आएका व्यापारी दुर्गा भुसालले बताए। 

त्यस्तै, फुटपाथमा कुनै पनि व्यापारीहरूलाई सामान बेच्न नदिएको भन्दै आफूहरू पनि केही दिनदेखि बजार अनुगमनमा हिँडिरहेको र त्यस्ता व्यापारीहरूलाई खुला रूपमा सामान नबेच्न आग्रह गरेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावत (वीरु)ले बताए। उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने यस्ता सामान भेटिएमा उनीहरूलाई कारवाही गर्नेसमेत अध्यक्ष रावतले जानकारी दिए। 

यता, तुलसीपुर उपमहानगरपालिकाका वातावरण तथा सरसफाई शाखाका नायव सुब्बा खेमकान्त पाण्डेले आफूहरूले सडक पेटीका व्यापारहरूलाई हटाउन निरन्तरता दिँदै आए तापनि बजारवासीका अटेरीका कारण त्यो सफल हुन नसकेको बताए। ‘पटक पटक अनुरोध पनि गरियो, जरिवाना पनि तिराइयो तर अझै हटाउन सकिएको छैन’, पाण्डेले भने।

जरिवानाबाट मात्र एक लाख रुपैयाँ बढी रकम संकलन भएको उनले जानकारी दिए। त्यस्तै, चाडपर्वलाई मध्यनजर गर्दै बेलाबेलामा सरकारी निकाय र संघसंस्थाहरूवाट बजारको छड्के चेक जाँच भइरहेको पनि उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.