|

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गर्ने १७ मन्त्रीलाई विना विभागीय बनाएका छन्।

गत जेठ २४ गते माओवादी केन्द्रसहितका दलको समर्थनमा प्रधानमन्त्री बनेका कांग्रेस सभापतिसमेत रहेका देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी एक उपप्रधानमन्त्री, आठ मन्त्री र आठ राज्यमन्त्रीलाई विभागीय मन्त्रालयबाट हटाएर विना विभागीय बनाएका हुन्।

प्रधानमन्त्री देउवाले माओवादीको तर्फबाट उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेका कृष्णबहादुर महरा, गृहमन्त्री जनार्दन शर्मा, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, शहरी विकासमन्त्री प्रभु साह, सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत, आपूर्तिमन्त्री शिवकुमार मण्डल, ऊर्जामन्त्री महेन्द्रबहादुर शाही, महिला बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइराला र पशुपंक्षी विकासमन्त्री सन्तकुमार थारूलाई मन्त्रालयको जिम्मेवारीबाट अलग गरी विना विभागीय बनाएका हुन्।

त्यस्तै, माओवादीका तर्फबाट सरकारमा रहेका राज्यमन्त्रीहरू मोहम्मद जाकिर हुसैन, रामसिंह यादव, श्यामकुमार श्रेष्ठ, शम्भुलाल श्रेष्ठ, कर्णबहादुर विक, छमबहादुर गुरुङ, गोमा कुँवर र ओङदी शेर्पालाई पनि मन्त्रालयको जिम्मेवारीबाट मुक्त गरेका छन्।

राप्रपाका मन्त्री र राज्यमन्त्रीलाई विभागीय जिम्मेवारी

प्रधानमन्त्री देउवाले शुक्रबार सरकारमा सहमागी भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापासहित आठ जनालाई विभागीय जिम्मेवारी दिएका छन्। मन्त्रिपरिषदमा प्रधानमन्त्री र उपप्रधानमन्त्री विजयकुमार गच्छदारपछिको तेस्रो बरियतामा रहेका थापालाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ।

राप्रपाबाट मन्त्री भएका जयन्त चन्दलाई आपूर्ति, दिलनाथ गिरीलाई शहरी विकास, विक्रमबहादुर थापालाई महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै, राज्यमन्त्री कुन्तीकुमारी शाहीलाई शहरी विकास, भाष्कर भद्रालाई ऊर्जा, कान्ता भट्टराईलाई महिला बालबालिका तथा समाकल्याण र सुशीलकुमार श्रेष्ठलाई आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ।

राप्रपा (प्रजातान्त्रिक)बाट सरकारमा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका दीपक बोहोरालाई स्वाथ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ।

प्रधानमन्त्रीसँग ६ मन्त्रालय

प्रधानमन्त्री शेरबहादुर देउवाले ६ वटा मन्त्रालयको जिम्मेवारी आफैँले लिएका छन्। उनले शान्ति तथा पुनर्निर्माण मन्त्रालय पहिलेदेखि नै आफैँसँग राखेका थिए भने विज्ञान तथा प्रविधि मन्त्रालय दीपक बोहोराबाट लिएका छन्। बोहोरालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ। देउवाले माओवादी मन्त्रीहरूलाई विना विभागीय बनाएपछि उनीहरूले सम्हाल्दै आएको गृह, परराष्ट्र, सामान्य प्रसाशन र पशुपंक्षी विकास मन्त्रालय आफैँले राखेका छन्।

माओवादी केन्द्रले गत असोज १७ गते प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पार्टी एकता गर्ने घोषणासँगै सत्तारुढ गठबन्धन कांग्रेस र माओवादीबीचको सम्बन्ध चिसिएको थियो। प्रधानमन्त्री देउवासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार भेटघाट गरेपछि सरकारबाट अलग्गिने निर्णय गरेका थिए।

सरकारबाट माओवादीका मन्त्रीहरू बाहिरिने विषयमा जानकारी दिन गृहमन्त्री जनार्दन शर्माले गृहमन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारबाट बाहिरिने निर्णय स्थगित भएको जानकारी दिइएको थियो। ‘प्रधानमन्त्रीलाई लिखित जानकारी दिने पत्रमा हस्ताक्षर गर्नै लाग्दा सरकारले निर्वाचन नगर्ने षड्यन्त्र गरेकाले तत्काल सरकार नछाड्ने निर्णय भयो’, दिउँसो गृहमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलनमा भनेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.