|

काठमाडौं : सामूहिक राजीनामा दिने मुड बनाएका माओवादी केन्द्रका मन्त्रीहरु किन एकाएक रोकिए? मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासामु राजीनामाको टुंगो लगाएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अचानक निर्णय बदलेपछि सबैको मनमा जिज्ञासा उठेको छ।

त्यसको मुख्य कारक वामगठबन्धनले चुनावको अनिश्चयलाई बनाएको छ। सर्वोच्च अदालतमा विचाराधीन मतपत्रसम्बन्धी एक मुद्दामा चुनावको प्रतिकूल निर्णय आए चुनाव सार्न देउवा सरकारलाई सहज हुने निष्कर्ष गठबन्धनको छ।

देउवा-दाहालबीच मंगलबारको भेटमा माओवादीका तर्फबाट सरकारमा सहभागी ९ मन्त्री र ८ राज्यमन्त्रीलाई राजीनामा दिलाउने समझदारी बनेको थियो। 'निकै खुसी मुडमै दाहाल देखिन्थे। तर, २ घण्टा नबित्दै उनले देउवालाई फोन गरेर आफ्ना मन्त्रीहरुले राजीनामा नदिने जानकारी दिएपछि प्रधानमन्त्रीज्यू स्वयम् अचम्मित हुनुभयो,' देउवाको सचिवालयका एक सदस्यले अचानकको राजनीतिक उतारचढावबारे भने।

देउवालाई भेटेर दाहाल बालुवाटारबाट सिंहदरबार फर्किई बैठकमा मन्त्रीहरुको राजीनामा गराउने निर्णय गराउँदै थिए। त्यहीबीचमा सर्वोच्च अदालतबाट मतपत्रसम्बन्धी विवादमा टेकेर चुनाव प्रभावित हुनसक्ने निर्णय आउने सूचना त्यहाँ पुर्‍याइयो। त्यस्तो निर्णय भए निर्वाचन आयोगले समेत तोकिएको मितिमा चुनाव गर्न नसक्ने अवस्था आउने उक्त बैठकमा नेताहरुले बताएका थिए।

उता सर्वोच्चको सम्भावित निर्णयबारे उस्तै सूचना एमालेका नेताहरुलाई पनि पुगेको थियो। माओवादी प्रवक्ता पम्फा भुसालका अनुसार यो विषयमा गठबन्धनको प्रमुख साझेदार दल एमालेका अध्यक्ष केपी ओलीसहितका नेतासँग दाहालले तत्कालै छलफल गरेका थिए। दुवै दलको निष्कर्ष कुनै पिन बहानामा मंसिर १० र २१ गते हुने भनिएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचन अनिश्चित हुन नदिने भन्ने थियो। त्यका लागि मन्त्रिपरिषद्मा भएका मन्त्रीहरुलाई राजीनामा दिलाउनु प्रत्युत्पादक हुने निष्कर्षमा उनीहरु पुगे।

सोही कारण माओवादीले कात्तिक ५ गतेसम्म आफ्ना मन्त्रीहरुलाई सरकारमै राख्ने रणनीति लिएको हो। कात्तिक ५ गते प्रत्यक्षतर्फ मनोनयन गर्ने दिन भएकाले त्यतिबेलासम्म सरकारमै बस्ने माओवादी स्रोतको दाबी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.