|

काठमाडौं : साढे दुई वर्षअघि गएको भूकम्पमा ध्वस्त रानीपोखरीको नक्सा त्रुटिपूर्ण रहेको फेला परेको छ। काठमाडौं महानगरपालिकाले करिब तीन महिना लगाएर रानीपोखरीको नक्सा ‘ड्रइङ एन्ड डिजाइन’ तयार गरेको थियो। पुरानै नक्साअनुसार काम अघि बढाउने कि नयाँ नक्सा बनाउने विषयमा अन्योल भएपछि रानीपोखरी निर्माण वर्ष दिनदेखि अलपत्र बन्न पुगेको छ।

महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले नक्सामा त्रुटि देखिएपछि निर्माण कार्य अलपत्र बनेको बताए। ‘रानीपोखरीको नक्सा हामीले नै बनाएका हौँ। तर, पछि त्रुटिपूर्ण देखियो। पुरानै नक्साअनुसार काम अघि बढाउने कि नयाँ नक्सा बनाउने विषय अझै टुंगो लागेको छैन, यही कारण निर्माण कार्य रोकिएको हो,’ उनले भने।

महानगरपालिकाका भौतिक पूर्वाधार विभाग प्रमुख डा. उत्तरकुमार रेग्मीको नेतृत्वमा रानीपोखरीको नक्सा तयार गरिएको थियो। तयार नक्सा त्रुुटिपूर्ण रहेको तथ्य त्यतिवेला पत्ता लाग्यो, जतिवेला पानी सुकाएर रानीपोखरी पूर्णरूपमा भत्काइसकिएको थियो। महानगरपालिकाका अनुसार इन्जिनियरले रानीपोखरीको आकर्षक नक्सा निर्माण गर्‍यो।

पोखरीवरिपरि मनोरम गार्डेन रहेन भनी नक्सामा उतारियो। पोखरीभित्र म्युजिकल फाउन्टेनसमेत बनाउने भनियो। तर, पोखरीमा पानी अड्याउने विषयतर्फ इन्जिनियरको ध्यान नै गएन। पोखरीमा पानी अड्याउने विषय नै समावेश नभएपछि रानीपोखरीको नक्सामा त्रुटि भेटिएको हो। ‘नक्सा ठीक नभएको पछि मात्रै थाहा भयो। प्राविधिकले पहिले नै यति विषय त सोच्नुपर्ने हो, तर सोचेको देखिएन। गल्ती यहीँ भएको छ,’ उनले भने।

मान्दिर निर्माण पनि सुस्त

महानगरपालिका र पुरातत्व विभागबीच लामो विवादपछि निर्माण सुरु गरिएको रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरको निर्माण कार्य पनि ठप्प छ। सो मन्दिर एक करोड ६० लाख रुपैयाँमा पुरातत्व विभागले बनाउने सम्झौता थियो। गत असारमै मन्दिरकोे निर्माण कार्य सुरु गरिए पनि प्रगति भने शून्य छ। विभागले आगामी तिहारसम्म मन्दिर निर्माण कार्य सक्ने भनेको थियो। नक्सामा त्रुटि देखिएकै कारण मन्दिर निर्माणबारे महानगरपालिका र विभागबीच विवाद भएको थियो। मन्दिरको नक्सा पनि काठमाडौं महानगरपालिकाले नै बनाएको थियो।

पोखरीमा पानी अडाउने योजना छैन

महानगरपालिकाले योजनाअनुसार पोखरीभित्रको पानी झिक्यो। पोखरीमा रहेका माछा अन्तै सारियो। पोखरीवरिपरि पर्खाल लगाइयो। पोखरीभित्र पुरानो माटो थियो। माटो हटाउनुपर्ने भयो। महानगरपालिका माटो हटाउनेतर्फ लाग्यो। माटो हटाउँदै जाँदा पिँधमा बालुवा भेटियो। बालुवामा पानी अड्नै सक्दैन। त्यसका लागि पोखरीको पिँधमा टायल राख्नुपर्ने हुन्छ। टायल राख्दा रानीपोखरीको ऐतिहासिक महत्व हराउने खतरा पनि त्यत्तिकै छ। यस्तो अवस्थामा पोखरीको पानी अडाउने विषयमा नक्सामा केही उल्लेख छैन। पोखरीको पिँधमा टायल राख्ने कि माटो भन्ने विषयमा महानगरपालिका अलमलमा छ। रानीपोखरी निर्माण योजना अलपत्र हुनुको कारण यही हो।

भूकम्पलगत्तै महानगरपालिकाले ०७३ कात्तिकमा सम्पन्न गर्ने गरी रानीपोखरी निर्माण कार्य अघि बढाएको थियो। यसका लागि १० करोड रुपैयाँ बजेट पनि विनियोजन भयो। डिजाइनअनुसार पोखरीभित्र म्युजिकल फाउन्टेन, अत्याधुनिक बगैँचा, मन्दिर पुनर्निर्माण गर्ने भनियो। तर, पोखरीमा पानी अड्याउने विषयमा भने कसैको ध्यान पुगेन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.