|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका सबै मन्त्री विनाविभागीय बनाउँदा एक मन्त्री भने बचेकी छिन्।  माओवादी केन्द्रसँग पार्टी एकता गरेको भर्खर नेकपा संयुक्तको तर्फबाट मन्त्री बनेकी मिथिला चौधरी जोगिएकी हुन्।  

बालुवाटार स्रोतका अनुसार माओवादीसँग एकता गरे पनि निर्वाचन आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग एकताको औपचारिक जानकारी नभएका कारण उनी जोगिएकी हुन्।चौधरीले जनसंख्या तथा वातावरण मन्त्रालय सम्हालेकी छिन्। गत साता उनको दलले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गरेको थियो।

ठूलो मन्त्रिपरिषद् भएकाले प्रधानमन्त्री देउवाले नचिनेर चौधरीलाई मन्त्रालयविहीन बनाउन नसकेको भन्दै सामाजिक सञ्जालमा खिल्ली उडाइको छन्।

कांग्रेस सभापति देउवा माओवादी केन्द्रको समर्थनमा व्यवस्थापिका संसदमा २३ जेठमा प्रधानमन्त्रीमा चयन भएका थिए। उनको नेतृत्वमा दोस्रो र तेस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो। माओवादीसँग सम्बन्ध राम्रो भए पनि माओवादीले एमालेसँग चुनावी तालमेल गरेकै कारण दुई दलको सम्बन्धमा तिक्तता उत्पन्न भएको हो।

गत २९ असोजमा आगामी १० र २१ का लागि तोकिएको संघ र प्रदेशको निर्वाचनका लागि दलहरूले मनोनयन दर्ता गरेसँगै संवैधानिक व्यवस्थाअनुसार २८ असोज १२ बजे रातिदेखि संसद्को आयु सकिएको छ भने वर्तमान सरकारसमेत काम चलाउ बनिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.