|

काठमाडौं : साविकको विजेता रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा टोटनह्याम हट्सपरसँग बराबरीमा रोकिएको छ। घरेलु मैदानमा गएराति भएको खेलमा रियल टोटनह्यामसँग १-१ गोलको बराबरीमा रोकियो।

२८औं मिनेटमा रफायल भराने आत्मघाती गोलमा १-० ले पछि परेको रियलका लागि ४३औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत बराबरी गोल गरे। खेल अवधिभर दुवै टोलीले केही राम्रा अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन। यससँगै समूह एच समान खेलबाट समान अंक जोडेका दुवै टोलीको गोल अन्तरसमेत समान छ। सोही समूहमा रहेको बोरुसिया डर्टमुण्डले एपोइल निकोसियासँग १-१ कै बराबरी खेलेको छ।

यस्तै गएराति नै भएको खेलमा इंग्लिस प्रिमियर लिगको लिगलिडर म्यान्चेस्टर सिटीले इटालियन 'सिरी ए' लिडर नापोलीलाई २-१ ले पराजित गरेको छ। समूह एफअन्तर्गत भएको खेलमा घरेलु टोली सिटीलाई जित दिलाउन रहिम स्ट्रलिङ र ग्याब्रियल जेससले १-१ गोल गरे।

पहुना टोलीका लागि अमाडोउ दिवाराले पेनाल्टीमा सान्त्वना गोल फर्काए। यसअघि ३८औं मिनेटमा प्राप्त पेनाल्टी नापोलीले सदुपयोग गर्न सकेको थिएन। जितसँगै ३ खेलबाट शतप्रतिशत ९ अंक जोडेको सिटी समूहको शीर्ष स्थानमा छ। ६ अंकसहित सख्तर एण्ड डोनेक्स दोस्रो र ३ अंक जोडेको नापोली तेस्रो स्थानमा छन्।

यसैगरी लिभरपुरलले मरिबोरलाई ७-० तथा स्पार्टक मस्कोले सेभियालाई ५-१ ले पराजित गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.