|

धनकुटा : मंसिरमा हुने प्रतिनिधिसभा एवं प्रदेशसभाको निर्वाचनका लागि राजनीतिक दलले उम्मेदवारको नाम तय गरी केन्द्रमा पठाइसकेका छन्। एमाले र माओवादी केन्द्र धनकुटाले वाम गठबन्धनअघि नै पार्टीबाट सबैजसो उम्मेदवारको नाम सिफारिस गरिसकेका थिए।

तर, वाम गठबन्धनका कारण जिल्लामा एमाले र माओवादी केन्द्रले कुन निर्वाचन क्षेत्र पर्छ भन्नेबारे अझै अन्योल छ। प्रतिनिधिसभाका एक र प्रदेशसभाका दुई निर्वाचन क्षेत्र कायम भएको धनकुटामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा  स्थानीय तहमा ‘क्लिन स्विप’ गरेकाले एमालेले सबै क्षेत्र पाउनुपर्ने दाबी गरिरहेको छ भने माओवादी केन्द्रले प्रतिनिधिसभा एमाले लिए पनि प्रदेशका दुईवटा निर्वाचन क्षेत्रमा मध्ये एक पाउनुपर्ने बताउँदै आएको छ। 

दोस्रो संविधानसभाको निर्वाचन र गत असारमा सम्पन्न स्थानीय तहको नतिजाअनुसार चुनावी तालमेल हुने सहमतिअनुसार पाउनुपर्ने दाबी गरेको एमाले जिल्ला अध्यक्ष राजेन्द्र राईले बताए। ‘पार्टी एकता भइसकेको छैन त्यसैले दुवै पार्टीका कार्यकर्ताले एकले अर्को पार्टीमा मतदान गर्छन् भन्ने छैन त्यसैले एमालेले मात्रै लिँदा एमाले सबै मत र माओवादीको केही मतले जित्न सहज हुन्छ,’ उनले भने ‘माओवादीले लिएमा उसको सबै मत र एमालेको केही मत मात्रै आयो भने चुनाव जित्न कठिन हुन्छ।’ 

माओवादीका जिल्ला इञ्चार्ज उज्ज्वल किराँतीले भने तालमेल भएपछि सहमति पालना गर्नुपर्ने बताए। ‘उम्मेदवारीका लागि त पार्टीमा कुनै समस्या छैन तर कुनै निर्वाचन क्षेत्र आफ्नो भागमा लिन चाहिँ निकै प्रयास गर्नु परिरहेको छ’, उनले भने, ‘केन्द्रले सबै निर्वाचन क्षेत्रमा भागबण्डा मिलाउने भएकाले पार्टीको माथिल्लो तहमै यसका लागि प्रयास गरिरहेका छौं।’

एमालेले प्रतिनिधि सभामा जिल्ला अध्यक्ष राजेन्द्र राई उम्मेदवार बनाउने निर्णय गरेको छ भने प्रदेशसभा–१ का लागि निरेन तामाङ, उमेश घिमिरे र टीकाराम चेम्जोङलाई सिफारिस गरेको छ। सिफारिस भएकामध्ये निरेन तामाङको सम्भावना बलियो छ भने प्रदेशको क्षेत्र न २ मा इन्द्रमणि पराजुलीलाई उम्मेदवार बनाउने भएको छ।

यता माओवादी केन्द्रले प्रतिनिधिसभामा एमालेलाई सघाउने लगभग पक्का भएको छ भने प्रदेशसभा–१ का लागि प्रत्यक्षतर्फ सिफारिस भएका ऋषिराम ढुंगाना, तिलकप्रसाद राई, सीताराम श्रेष्ठ, भीमा अधिकारीमध्ये एक उम्मेदवार बन्ने भएका छन्। ढुंगानाको सम्भावना बलियो छ भने प्रदेशसभा–२ पाएमा प्रत्यक्षतर्फ सिफारिस भएका डम्बर सुवेदी (हिमाल), धनबहादुर कार्की (रुपक), कुसुमकुमारी श्रेष्ठ, नेत्र भण्डारी र बलदीप राईमध्ये एकलाई उम्मेदवार बनाउने भएको छ। जसमा डम्बर सुवेदीको सम्भावना बलियो रहेको माओवादी केन्द्रका एक नेताले बताए।

 वाम गठबन्धनपछि धनकुटामा काङ्ग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धन बनाउने विषयमा छलफल चलाइरहेको छ। कांग्रेस स्रोतका अनुसार ऊसहित राप्रपा (प्रजातान्त्रिक), संघीय समाजवादी फोरम बीच लोकतान्त्रिक गठबन्धन बनाएर चुनावमा तालमेल गर्ने तयारी भइरहेको छ। 
राप्रपा प्रजातान्त्रिकलाई प्रतिनिधिसभामा र कांग्रेस र संघीय समाजवादी फोरमले प्रदेशका १\१ निर्वाचन क्षेत्रमा उम्मेदवार लिने गरी छलफल सुरु भएको कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले बताए। राईका अनुसार प्रतिनिधिसभामा राप्रपा प्रजातान्त्रिकका नेता तथा उद्योगमन्त्री सुनिलबहादुर थापा, प्रदेश–१ मा कांग्रेस र प्रदेश–२ संघीय समाजवादी फोरमलाई उठाउने तयारी कांग्रेसले गरेको छ।

०७० को निर्वाचन परिणामअनुसार वाम गठबन्धन बलियो
२०७० सालको दोस्रो संविधानसभा निर्वाचन सम्म २ वटा निर्वाचन क्षेत्र रहेको धनकुटामा स्थानीय तहको पुनःसंरचनापछि हाल प्रतिनिधिसभाको निर्वाचनमा १ र प्रदेशसभाका लागि २ वटा क्षेत्र निर्धारण गरिएको छ। ०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा दुवै निर्वाचन क्षेत्रबाट तत्कालीन नेकपा माओवादी विजयी भएको थियो भने ०७० को दोस्रो संविधानसभाको निर्वाचनमा धनकुटाबाट तत्कालीन क्षेत्र नम्बर १ बाट एमालेका टीकाराम चेम्जोङ र तत्कालीन क्षेत्र न २ बाट तत्कालीन राप्रपा हाल राप्रपा (प्रजातान्त्रिक) का सुनिलबहादुर थापा विजयी भएका थिए।

उक्त चुनावमा चेम्जोङले नेपाली कांग्रेसका अजित नारायणसिंह थापालाई हराएका थिए। माओवादीका हेमराज भण्डारी तेस्रो र संघीय समाजवादी फोरमका रकम चेम्जोङ चौथो स्थानमा पुगेका थिए। त्यस्तै क्षेत्र नं २ मा तत्कालीन राप्रपा र हाल राप्रपा (प्रजातान्त्रिक) का सुनिलबहादुर थापाले एमालेका राजेन्द्र राईलाई हराएका थिए। 

त्यतिबेला जिल्ला भरिमा एमाले र माओवादीले २९ हजार ६ सय ७० मत ल्याएका थिए भने कांग्रेस, राप्रपा, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक र संघीय समाजवादी फोरमले २७ हजार ७ सय एक मत ल्याएका थिए। एमाले र माओवादी एक हजार नौ सय ६९ मतले अगाडि थिए।

स्थानीय तहको नतिजाले पनि वाम गठबन्धन बलियो
गत असार १४ सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लाका ७ वटै स्थानीय तहमा  प्रमुख र उपप्रमुख जितेको एमाले जिल्लामा खसेको ६९ हजार १६ मत मध्ये प्रमुखमा मात्रै २९ हजार ३ सय ९८ मत पाएको थियो भने माओवादी केन्द्रले १० हजार २९ मत ल्याएको थियो। त्यस्तै कतै राप्रपा र कतै संघीय समाजवादीसँग तालमेल गरेको काङ्ग्रेसले १७ हजार ९ सय ५८ मत ल्याएको थियो। यसलाई आधार मान्ने हो भने वाम गठबन्धनले स्थानीय तहको निर्वाचनमा ५७ दशमलव १३ प्रतिशत मत ल्याएको थियो। 

यस्तै जिल्लाका ६० वडामध्ये ४९ वटामा एमालेको प्यानल, ४ वटामा कांग्रेसको प्यानल र  एउटा–एउटामा माओवादी केन्द्र र संघीय समाजवादी फोरमका प्यानल विजयी भएका छन्। बाँकी ११ वडामध्ये कांग्रेस ५ र माओवादी केन्द्रका ४ र संघीय समाजवादी फोरम र नयाँ शक्तिले १\१ वडामा वडाध्यक्ष मात्रै विजयी भएका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.