|

इलाम : यसवर्ष इलाममा स्थानीय जातका सयपत्री कम फूलेकाले आफूले लगाएको फूलले राम्रो मूल्य पाउने आशा इलाम नगरपालिका– १० की रमला गुरुङ पाख्रिनलाई छ। गतवर्ष ५० हजार रुपैयाँको फूल बेचेकी रमलाले यसवर्ष १ लाखसम्म आम्दानी गर्ने लक्ष्य राखेकी छन्। ‘काग तिहारको अघिल्लो दिनदेखि लक्ष्मीपूजाको दिनसम्म फूलको व्यापार हुन्छ,’ रमलाले भनिन्, ‘छोटो समय खटेर काम गर्ने हो भने आम्दानी पनि राम्रै हुन्छ।’ ३५ सय रुपैयाँ प्याकेट मूल्य पर्ने २ प्याकेट अस्ट्रेलियन जातको सयपत्री रोपेकी रमलाको आँगन, करेसाबारी र चारैतिर आजभोलि पहेँलपुर छ।

यस्तै इलाम नगरपालिकाकै कृषक गीता तामाङले पनि सयपत्री फूल खेती गरेकी छन्। यसै वर्षदेखि फूल खेतीमा लागेकी गीताले ३० देखि ४० हजार रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य राखेकी छन्। ‘खेती गर्न सजिलो तथा रोग किरा पनि कम लाग्ने भएकाले फूल खेतीप्रति आकर्षित भएका हौँ,’ गीताले भनिन्, ‘छिमेकीले केहीवर्ष अघिबाटै फूल खेती गर्दै आएकाले यस वर्षबाट मैले पनि खेती गरेको हुँ।’

इलाममा बाली तथा पुष्प विज्ञान सम्बन्धी अध्ययन/अध्यापन सुरु भएपछि फूल खेतीमा कृषकहरुको आकर्षण बढेको महेन्द्ररत्न बहुमखी क्याम्पस इलामका फ्लोरिकल्चर विभाग प्रमुख योगेन्द्रमान श्रेष्ठ बताउँछन्। फूलमा इलाम आत्मनिर्भर हुँदै गएको उनको अनुभव छ।

श्रेष्ठका अनुसार  वर्षअघि १० लाख रुपैयाँ बराबरको भारतीय सयपत्री पूmल इलाम भित्रिएको थियो, गतवर्ष त्यो २ लाखमा झर्‍यो। यो वर्ष त भारतीय फूल बिक्दै नबिक्ने हो कि भन्ने अवस्था आइसकेको छ। फूलसम्बन्धी अध्ययन भएपछि स्थानीय कृषकले फूलको महत्व बुझ्न थालेको उनी बताउँछन्।

यता जिल्ला कृषि विकास कार्यालय इलामले भने फूल खेतीसम्बन्धी कुनै पनि कार्यक्रम सञ्चालन गरेको छैन। केही वर्षअघि आलंकारिक फूल भनेर फिक्कल बजार क्षेत्रमा केही गमला वितरण गर्नुबाहेक त्यस किसिमको कुनै कार्यक्रम नगरेको जिल्ला कृषि विकास कार्यालय इलामका योजना अधिकृत प्रकाशमणि काफ्ले बताउँछन्।

फूलबारीमा रमाउँदै जेष्ठ नागरिक

ढकमक्क फूलेका फूलले जेष्ठ नागरिकहरुलाई पनि राम्रैसँग भुल्याएको छ। इलामको माईभगवती वृद्धाश्रममा बस्दै आएकी देवकुमारी घिमिरे अहिले ८० वर्षकी भइन्। उनको दैनिकी आजकल वृद्धाश्रम परिसरमा लगाइएको फूल गोड्नमै बित्ने गरेको छ।

उनीमात्र होइन, पवित्रा विक लगायत त्यहाँ बस्ने सबै जेष्ठ नागरिक फूलको स्याहार सुसारमै रमाइरहेका छन्। ‘फूल फूलेपछि परिवारको याद आउँदो रहेछ, मन भुलाउने ठाउँ भएको छ यो फूलबारी,’ घिमिरेले भनिन्, ‘परिवारको माया पनि भुलाइदियो यो फूलले।’

इलाम नगरपालिका वडा नम्बर १० मा रहेको यो वृद्धाश्रम मेची राजमार्गनजिकै माइखोलाको किनारामा अवस्थित छ। २०६३ साल माघमा स्थापित वृद्धाश्रममा हाल ९ जना जेष्ठ नागरिकले आश्रय लिइरहेका छन्।

१० रोपनी क्षेत्रफलमा फैलिएको वृद्धाश्रम परिसरको २ रोपनी जग्गामा फूल खेती गरिएको छ। त्यसलाई बेचेर हुने आम्दानी वृद्धवृद्धाकै स्याहार सुसारमा खर्चिने वृद्धाश्रम सञ्चालक समिति सदस्य राजेश पराजुली बताउँछन्। फूल खेती गर्न महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा रहेको बाली तथा पुष्प विज्ञान विभागका प्रकाश भट्टराईले १० हजार मूल्य बराबरको सयपत्रीको विरुवा नि:शुल्क उपलब्ध गराएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.