|

चितवन : चितवनमा २६५ जनामा स्क्रब टाइफस तथा १८ जनामा डेंगु रोगको संक्रमण रहेको पुष्टि भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार साउनदेखि अहिलेसम्ममा विभिन्न अस्पतालबाट प्राप्त प्रतिवेदनमा डेंगु र टाइफसको संक्रमण २८३ जनामा रहेको पाइएको हो।

कार्यालयका किट नियन्त्रण निरीक्षक रामकुमार केसीका अनुसार यसबीचमा स्क्रब टाइफसका कारण २ जनाको मृत्यु भएको छ। तीन महिनामा १ हजार ७६ जनाको स्क्रब टाइफसको परीक्षण गरिएको थियो भने ६४४ जना बिरामीमा डेंगु परीक्षण गरिएको थियो।

प्राप्त प्रतिवेदनअनुसार भरतपुर अस्पतालमा १०१, रत्ननगर बकुलहर अस्पतालमा ९ जना, चितवन मेडिकल कलेजमा ७० जना, नारायणी सामुदायिक अस्पतालमा ६९ जना, मनकामना अस्पतालमा २, सेन्ट्रल अस्पतालमा १ जना र निजी ल्याबमा १३ जनामा स्क्रब टाइफस भएको पाइएको हो। 

माइट नामको एक प्रकारको सुक्ष्म किरा (किर्ना)ले टोकेमा स्क्रब टाइफस रोग सर्ने चिकित्सकले बताएका छन्। यो रोग लागेमा अत्याधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरिर पनि दुख्ने हुन्छ।

यो रोग मुसाको कानमा बस्ने गर्छ। मुसाबाट घाँसपातमा झर्ने र सोही घाँसपातमा जाँदा मानिसमा सरेर यसले टोक्ने इपिडिमियोलोजी शाखाका प्रमुख डा‍‍. गुणनीधि शर्मा बताउँछन्। त्यस्तो ठाउँमा काम गर्दा सावधानी अपनाउनुपर्ने उनको भनाइ छ।

डेंगु भने एडिस एजेप्टाई नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा सर्र्ने गर्छ। यसबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ। ज्वरो आएमा र २÷३ दिनसम्म निको नभएमा विशेषज्ञ चिकित्सकलाई देखाउनुपर्ने जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.