|

बैतडी : वर्षातको समयमा पहिरो र हिलाम्मे भएर अवरुद्ध बैतडीका ग्रामीण सडकहरु सुचारु हुन थालेका छन्। ग्रामीण सडक खुलेसँगै विभिन्न प्रशासनिक र बैंकिङ कारोबारका लागि सदरमुकाम आउने स्थानीयलाई सहज हुन थालेको छ। जिल्लाको दुर्गम मानिने तल्लोसोराड क्षेत्रको दूरी देहिमाडौं–सुर्काल–दुर्गास्थान हुँदै सलेना जाने सडकले छोट्ट्याएको छ। यसअघि जिल्लाको सदरमुकामबाट पाटन हुँदै सलेना पुग्ने यात्रुहरुलाई उक्त सडकले सहज भएको छ। जिल्ला सदरमुकामबाट ६० किलोमिटर दूरी यात्रा गरेर सलेना पुग्ने यात्रुहरुले अब २३ किलोमिटरमा नै सलेना पुग्नसक्ने छन्।

देहीमाडौं, कुमालीगाड, सुर्काल, दुर्गास्थान हुँदै निकै कम समयमा सलेना पुग्न सकिने स्थानीय माहादेव बडुले बताए। ‘शिवनाथ, पञ्चेश्वरका नागरिकलाई पहिले ६० किलोमिटर टाढा हुन्थ्यो, अब यो सडक सञ्चालनमा आएपछि २३ किलोमिटरमै पुगिन्छ,’ उनले भने। सडकमा आएको पहिरो र विभिन्न अवरोधहरुलाई हटाइएपछि अब असिमीकेदार लगायतका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकनसहित ३७ किलोमिटर कम दूरीमा सलेना पुग्न सकिने बडुको भनाइ छ।

यस्तै सडक सञ्चालनमा आएपछि किसानहरुले तरकारी लगायतका उत्पादन चाँडै सदरमुकाम पुर्‍याउन सक्ने भएका छन्। दशरथचन्द नगरपालिका– ७ का वडाअध्यक्ष चक्रप्रसाद शर्मालगायत स्थानीयकै पहलमा लामोसमयपछि सुर्काल सडक सञ्चालनमा आएका हो। नियमित रुपमा गाडी सञ्चालन भएकाले नागरिकलाई सहज भएको स्थानीय हरीसप्रसाद  बडुले बताए। ‘सडक बन्द हुँदा हामीले घण्टौ पैदल हिड्नुपर्ने बाध्यता थियो, तर अहिले निकै सहज भएको छ,’ उनले भने।

यस्तै जिल्लाको पुर्चौडी नगरपालिकाको ढोलयामोड–हाट सडकखण्ड पनि सुचारु भएको स्थानीय लाल भण्डारीले बताए। दोगडाकेदारको सिल्लेगडा– बडियाँ १० किलोमिटर सडकखण्ड पनि वर्षात्मा अवरुद्ध बनेको थियो, तर अहिले सडक खुल्दा बजार आउन सहज भएको दोगडाकेदार ८ का परमानन्द भट्टले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.