|

काठमाडौं : प्रतिनिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारी चयन पारदर्शी नभएको भन्दै राष्ट्रिय जनता पार्टी (राजापा) नेपालका पदाधिकारीसहित केन्द्रीय नेताहरु नेतृत्व विरुद्ध धर्नामा बसेका छन्। महासचिव केशव झा सहित डेढ दर्जन नेता बुधबार धर्नामा बसेका हुन्। 

उनीहरुले नेतृत्वले उम्मेदवारी चयनका क्रममा विभेद गरेको आरोप लगाएका छन्।

पार्टी केन्द्रीय कार्यालय बबरमहलमा धर्ना बसेका उनीहरुले समानुपातिक सूचीमा पार्टीको मर्यादाक्रम अनुसार नाम सच्याउन, नामै नसुनेका र पार्टीको साधारण सदस्य समेत नरहेका व्यक्तिको नाम तत्काल सूचीबाट हटाउन माग गरेका छन्।

‘आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका सक्षम र योग्य महिलालाई प्रत्यक्ष र समानुपातिक स्थान दिनु पर्ने तथा यूवा र विद्यार्थीहरुको प्रत्यक्ष र समानुपातिक उम्मेदवारीमा न्ययोचित प्रतिनिधित्वको सुनिश्चित हुनुपर्नेछ’,  धर्नामा बसेका नेताहरुले जारी गरेको ६ बुँदे मागपत्रमा भनिएको छ ‘प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार छनौट गर्दा केन्द्रीय निर्वाचन समिति गठन गर्नुपर्नेछ।’

नेताहरुले पार्टीका सबै निर्णय र गतिविधि सचिवालय संयोजन समितिमार्फत गराउन तथा पार्टीको लाभको पदमा बसिसकेकालाई समानुपातिक सूचिबाट हटाउन समेत माग गरेका छन्।  आफूहरुको माग पुरा नभएसम्म धर्ना जारी रहने महासचिव झाले बताए।

धर्नामा बसेका नेताहरुको माग सम्बोधन गर्न आफूले भूमिका खेल्ने अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले प्रतिवद्धता व्यक्त गरेका छन्।

धर्नामा बस्नेमा महासचिवद्वय केशव झा र पेशल ढकाल, केन्द्रीय सदस्यहरु वीपी यादव, दीपककुमार झा, दिपेन्द्र अग्रवाल र नगेन्द्र झा रहेका छन्। त्यस्तै पार्टीको यूवा संगठन संयोजक रोशनसिंह राणा, विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष मनिष मिश्रा र ज्ञानेन्द्र झा, उपाध्यक्ष विनोदकुमार मण्डल, सहमहासचिव इन्दु गुप्ता, यूवा संगठन केन्द्रीय उपाध्यक्ष मुकेश कर्ण, महासचिव गायत्री कुमारी र यूवा इञ्जिनीयर रामविनोद राय रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.