|

आज लक्ष्मीपूजा। वर्षा ऋतुको हिलो मैलो हटेर वातावरण स्वच्छ देखिएको छ, रूखो र गेग्रानमा पनि रंगीचंगी फूल फुलेर जताततै हराभरा छाएको छ। मखमली र सयपत्रीको साम्राज्य भएको प्रकृति मानौँ, भर्खर अन्माइन लागेकी दुलही जस्ती देखिएको छ। रातो माटो र कमेरोले गाउँका घरहरू फूलबारीको फूलका थुंगा जस्ता देखिन्छन्। के गाउँ, के शहर प्रकृतिको शारदीय शोभा जताततै छताछुल्ल पोखिएको छ।

गाउँघरतिर कसैकहाँ क्यामुनाको पातको खोरीमा, कसैकहाँ केराको सुप्लामा कपासको झिलीमिली बत्ती बाटादेखि लहरै बाल्दै ल्याएर लक्ष्मीपूजा गरिएको ठाउँसम्म लक्ष्मीलाई बाटो देखाउन बालिएको हुन्छ। मट्टितेल सकिएला कि भनेर मधुरो टुकी बत्ती बालेर बेलुकाको कार्यसम्पादन गर्ने ग्रामीणहरूको घर प्रकाशले जाज्वल्यमान बनेको छ। शहर त झन शहर भइहाल्यो। अघिपछि त बिजुलीको प्रकाशमा चम्कने शहर यस दिन मानौँ ज्योतिः पुञ्जमा परिणत भएको आभाष हुन्छ। झ्याल ढोकालाई समेत सयपत्री र मखमली फूलका माला पहिर्‍याइदिई सजीवताको दर्जा प्रदान गरिएको छ। बास्नादार धूप र फूलहरूको सुगन्धले वातावरणमा एक किसिमको मादकता फैलिरहेछ।

प्रकृतिको सहायतामा मान्छेले आजको दिनलाई स्वर्गको अमरावती समान बनाउनुको मूल जड धनकी देवी लक्ष्मीलाई खुसी पार्नु र आफ्नो 'धनधान्यले भरिपूर्ण हौऔँ' भन्ने वर साकार पार्नु रहेको हुन सक्छ। आजको दिन लक्ष्मीपूजा गर्ने अरू मान्छेभन्दा म विशेष रूपले खुसी हुने गर्छु, हर्षले रमाउने गर्छु, गर्वले उफ्रने गर्छु र म लक्ष्मी होइन, लक्ष्मीप्रसादको पूजा गर्छु, दीपावली गर्छु- आजको दिन नेपाली साहित्यका ध्रुवतारा महाकवि लक्ष्मीप्रसादको जन्म दिन पनि हो। मलाई धनकी देवी लक्ष्मीको पूजा गरेर कुवेर हुने मन छैन, मलाई त सरस्वतीको वरदपुत्र, नेपाली साहित्यका सम्राट, त्यो अतुलनीय व्यक्तित्वको पूजा गरेर उनी जस्तै गरेर उनी जस्तै बन्नु छ, उनले खनेको गोरेटो पहिल्याउँदै हिंड्नु छ। त्यसैले म कहाँ लक्ष्मीको पूजा गर्न सक्छु र!

देवकोटाले भनेका छन्- 'मलाई यस्तो लाग्दछ- कुवेरभन्दा गरिब व्यक्ति दुनियाँमा कतै पनि छैन...। अहिले मलाई कसैले यस्तो प्रश्न गरोस्- सबभन्दा धनी पुरुष नेपालीमा को छ? म सजिलैसँग उत्तर दिन सक्छु- हाम्रा कुवेर लेखनाथजी पौड्याल हुन् र अर्का बालकृष्ण शमशेर।' कति सटिक र मार्मिक छ देवकोटाको यो 'कल्पना'। धनका भिखारी भए पनि विद्याका कुवेर यस्ता व्यक्तिको आदेशको उलंघन गरेर मलाई दुनियाँको सबभन्दा गरिब व्यक्ति बन्नु छैन। त्यसैले म लक्ष्मीपूजा गर्न सक्दिनँ। म यसबेला लक्ष्मीप्रसादको पूजा गरिरहेको छु।

सियोसमेत उत्पादन नहुने देशमा आयातीत पटाका पड्काएर गुन्डाहरू आफू त पतीत भए भए अरूको शान्त वातावरणलाई समेत खल्बल्याएर, झ्यालको ऐना फुटाएर गुन्डाहरू अझ उल्टै 'तेरो बाबुको पड्काएको छु र?' भनेर आइलाग्छन्। बाटामा पर्यटक हिँडिरहेको देखे भने गुन्डाहरू 'हान् हान् त्यो खैरेलाई हान्' भनेर चिच्याउँछन्। पर्यटक मानौँ, बम नै पड्केझैँ तर्सेर भाग्छन्; गुन्डाहरू आफ्नो पुरुषार्थमा प्रफुल्ल हुन्छन्।

मान्छेहरू प्रत्येक वर्षको लक्ष्मीपूजाको दिन गाउँ शहर सिँगार्छन्, दीपावली गर्छन्, हर्ष मनाउँछन्- आ-आफ्नै अभीष्ट पूरा गर्नका लागि। तर मलाई भने सबैले लक्ष्मी जयन्ती नै मनाइरहेझैँ लाग्छ, सबैले नेपाली साहित्यका पूर्णचन्द्र त्यो विराट व्यक्तित्वकै पूजा गरिरहेका होलान् जस्तो लाग्छ। यौ भौतिक साहित्यमा रस लिने मानिस कति होलान् र! स्वदेशमा तस्करी, कालोबजारी, दलाली गरेर होस् अथवा विदेशीको भाडाको टट्टु बनेर वा कुल्ली भएर भए पनि ठूलो घर, धन दौलत, कार, मोटरसाइकल, जम्मा गर्नुमै सबैको ध्यान एकत्रित भइरहेको छ। 'भौतिक इच्छामा लोभ ज्यादा देखाउनु र त्यो पनि यस्तो परिवर्तनशील संसारमा कति नीचताको चिह्न हो, बुझ्नेले बुझ्छन्।' 

उनीहरूलाई महाकविको यो उद्गार थाहा छैन, उनीहरूको संसारै भिन्न छ। यसमध्ये कति त यस्ता पनि छन्, जो लक्ष्मीप्रसाद देवकोटा भनेको कुन चराको नाम हो हँ? भनेर लेघ्रो तान्छन्। महाकविले वि. सं. २००२ सालमा "हामी ज्यादा पोशाकमा भाउ र भडक राख्नेलाई गुन्डो भन्छौँ। बोक्रेपन नै गुन्डोको प्रधान लक्षण हो' भनेर गुन्डोको परिभाषा गरेथे। आझ ४७ वर्षपछि पनि गुन्डाको आनीबानीमा कत्ति फरक देखिँदैन, बरु उनीहरूमा नयाँनयाँ विशेषताहरू थपिएका छन्। सायद देवकोटा बाँचिरहेका भएक अर्को 'नेपाली गुन्डो' लेखिन्थ्यो होला।  

शान्त र स्निग्ध मधुमय वातावरणलाई गुन्डाहरू पटका, भुइँचम्पा र रकेट पड्काएर दूषित बनाइरहेछन्, ध्वनि आतंकको सिर्जना गराइरहेछन्। सियोसमेत उत्पादन नहुने देशमा आयातीत पटाका पड्काएर गुन्डाहरू आफू त पतीत भए भए अरूको शान्त वातावरणलाई समेत खल्बल्याएर, झ्यालको ऐना फुटाएर गुन्डाहरू अझ उल्टै 'तेरो बाबुको पड्काएको छु र?' भनेर आइलाग्छन्। बाटामा पर्यटक हिँडिरहेको देखे भने गुन्डाहरू 'हान् हान् त्यो खैरेलाई हान्' भनेर चिच्याउँछन्। पर्यटक मानौँ, बम नै पड्केझैँ तर्सेर भाग्छन्; गुन्डाहरू आफ्नो पुरुषार्थमा प्रफुल्ल हुन्छन्।

वल्लो घर र पल्लो घरका गुन्डाहरूमा रकेट उडाउन र पटका फड्काउनमा तँभन्दा म के कमको गति तीव्र हुन पुग्छ, एकले अर्काको घरमा प्रहार गर्ने क्रम जारी रहन्छ। मानौँ, कुनै विश्वयुद्ध नै भइरहेजस्तो अथवा आन्तरिक्षको कुनै अज्ञात ग्रहको खोजीमा कुनै दुई देशबीच कसले पहिले पत्ता लगाउने भन्ने प्रतिस्पर्धा भएजस्तै! बाँदर जस्ता गुन्डाहरू आफू पनि शान्तिमय बस्दैनन्, अरूको शान्तिसाथ बस्ने अधिकारको पनि भिटो पावरको प्रयोग गरेर उलंघन गर्छन्। लक्ष्मीपूजाको महत्त्व र महिमालाई गुन्डाहरू यसरी विकृत तुल्याउँदै छन्।

'मार्रा... ...! पाँचै ठाडा!!'

पल्लो घरमा अर्काथरि गुन्डाहरू मानौँ कुनै अन्तरिक्षयात्री नौलो ग्रहमा पदार्पण गरेर फर्कंदाको अवस्थामा झैँ जूवाको खालमा आफ्नो सम्पूर्ण सामर्थ्य खन्याएर चिच्याइरहेछन्, उफ्रिरहेछन्। पञ्चक लागेपछि कात्तिकको कुकुर जस्तै हुन्छन् यस्ता गुण्डाहरू- जहाँजहाँ जूवा, तासको खाल छ, उहीँउहीँ चहार्छन्। यिनीहरूलाई खान सुत्नको समेत कुनै परवाह हुँदैन। घरमा भान्सामा खाना कुरेर बसिरहेकी स्वास्नीको कुनै वास्ता हुँदैन। मेरा एक विद्वान् गुरुजी जूवा फुक्नासाथ खालमा उपस्थित हुन्थे र बिहान-बेलुका भात खानको फुर्सद शिवाय लिँदैनथे। जुन युगमा पनि उस्तै हुँदो रहेछ जुवाडेको चर्तिकला। जुवाडेहरू महाभारत युगको अर्ति दिँदै 'पाण्डवहरूले जुवामा स्वास्नीसमेत हारेका थिए, महादेवले डमरुसमेत हारेका थिए भने मैले त कति हारेको छु र!' भनेर स्वास्नीको कान बुच्चै बनाएर पनि नपुगेर घरखेत हारेको समेत पत्तो पाउँदैनन्।

'थोरै लिन, तर त्यसको सर्वोत्तम उपयोग गरेर सबभन्दा धेरै मनोरञ्जन प्राप्त गर्न सकियोस्। जुवा थौलोको महत्त्वमा रहँदैन, तर रहन्छ मानसिक अवस्थाको महत्त्वमा।' स्वस्थ मनोरञ्जनको लागि मात्र जूवा खेलिने हो भने एकआपसमा वैमनस्य र इर्ष्या होइन, मित्रता र भाइचाराको भावना विकसित गर्न कति सहयोग पुग्दो हो। देवकोटाले भनेथे, 'निष्कामको भावना लिन जुवाडे सबभन्दा उत्तम दर्जाको हो।' महाकविको उत्तम दर्जाको जुवाडे सायद शिला खोजे पनि नपाइएला।

जूवा खेलिन्छ त मुख्य रूपले हारजीतकै लागि खेलिन्छ। हार्नेको सर्वस्व स्वाहा हुन्छ, जित्नेले जितेको पैसा कोही रक्सी र वियरमा पोख्छ भने कोही विदेशी चुरोटमा उडाउँछ। नेपाली जूवामा पारंगत सायद अरू कुनै खेलमा छैनन् होला। हातबाट कौडा खसिसक्न पाएको हुँदैन, जुवाडेहरूले कुन दाउ पर्‍यो, थाहा पाइसकेका हुन्छन्। जूवालाई ओलम्पिक खेलमा समावेश गरिए सायद नेपाली खेलाडीहरूको नाक काटिँदैन थियो कि?!

आँगनमा भैलिनीहरू 'अहिले आउँदा परालको छानो, आगौँ आउँदा सुनको छानो' गाएर आशिष दिइरहेछन्।

हातका मैला सुनका थैला के गर्नु धनले।
साग र सिस्नु खाएको वेश आनन्दी मनले।।

मलाई यी भैलिनीहरूले 'मुनामदन' पढेका छैनन् जस्तो लाग्यो। नत्र सबभन्दा चुत्थो धातु सुनको छानो होस् भन्ने आशिष किन दिन्थे? म भैलिनीहरूलाई एकप्रति 'मुनामदन' दिँदै भन्छु, 'कृपया मलाई सुनको होइन, साहित्यको छानो निर्माण गर्न सक् भन्ने आशिष दिनुहोला। लक्ष्मीप्रसादको यो अमूल्य 'प्रसाद' अन्यत्र पनि फिँजाएर यस देशका आजका कैयौँ मदनहरूलाई जापान, कोरिया, अरब, मलेसिया, ब्रुनाई जस्ता देशहरूमा कुल्ली हुन जान रोकेर कैयौँ मुना र कैयौँ वृद्धा आमाहरूलाई बचाउनुहोला।'

(साहित्यकार व्याकुल पाठकको यो निबन्ध २०५० मा प्रकाशित 'समकालीन साहित्य'को माघ-फागुन-चैत अंकबाट साभार गरिएको हो।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.