|

डडेल्धुराः नेपालीहरूको दोस्रो ठूलो महान चाड तिहार नजिकिएसँगै डडेल्धुरामा तिहारमा प्रयोग हुने सामग्रीको व्यापारमा वृद्धि भएको छ। 

तिहारमा सजाउने तथा प्रयोग हुने सामग्री अनिवार्य हुने भएकाले तिहार सामग्रीको व्यापारमा वृद्धि भएको हो। तिहार नजिकिएसँगै डडेल्धुरा सदरमुकामका पसलहरूमा किनमेल गर्ने ग्राहकहरूको भीड लाग्ने गरेको छ। 

जिल्ला सदरमुकाममा आवश्यक सामग्री किन्नेको घुइँचो नै लाग्ने गरेको छ। सदरमुकामका फेन्सी पसल, शृंगारिक पसललगायतका अन्य पसलहरू पनि तिहारका सामग्रीले झकिझकाउ भएका छन्। 

डडेल्धुराका ग्रामीण क्षेत्रका स्थानीयलगायत छिमेकी जिल्ला डोटी, बैतडीबाट पनि डडेल्धुरा सदरमुकाममा सामान किन्न आउनेहरूको भीड लाग्ने गरेको बागबजारका व्यापारी गुड्डु मन्सुरीले बताए। ‘तिहारको समयमा विशेषगरी माला, भगवानका पोष्टरहरू, झिलिमिली बत्ती, सप्तरंगी रङ, दियो, सजावटलगायतका सामग्री बिक्री हुन्छ’, उनले भने।

तिहारको बेला मात्र दिनमा ८० हजारदेखि एक लाख रुपैयाँसम्म बिक्री हुने गरेको अर्का स्थानीय व्यापारी लक्ष्मण जोशीले बताए। अरू समयको तुलनामा दसैँ र तिहारको बेला व्यापार राम्रो हुने व्यापारी जोशीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.