|

काठमाडौं : महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०९औं जन्मजयन्ती। स्वदेश र विदेशमा विभिन्न कार्यक्रम गरी महाकवि देवकोटाको सम्झना गरिँदैछ। 

वि.सं. १९६६ कार्तिक कृष्ण औंसीका दिन तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मी साइँला छोराका रूपमा जन्मेका देवकोटाले दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेको बताइन्छ। उनका थुप्रै फुटकर कविता, गीत महाकाव्य, खण्डकाव्य प्रकाशित छन्। मूलत: काव्यलेखन विधा भए पनि उनले  निबन्ध, कथा, नाटक र उपन्याससमेत लेखे। 

तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने क्षमता थियो । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको झ्याउरे शैलीको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा बढी ख्याति कमाएको पुस्तक हो।

नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद र प्रकृतिप्रेम  झल्किन्छ । उनमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ। 

भारतका महापण्डित राहुल सांकृत्यायनले समेत देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको एउटै रूप भनी टिप्पणी गरेका थिए। नेपालका नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए ।

विसं २०१६ मा शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराउन र  प्रज्ञा–प्रतिष्ठानको स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेका थिए।

चरम आर्थिक अभाव र पारिवारिक वियोगबीच पनि उच्चस्तरका साहित्य सिर्जना गरेका थिए। क्यान्सरका कारण निधन २०१६ सालमा महाकवि देवकोटाको भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.