|

हुम्ला : जन्म र मृत्यु भएकाको परिवारलाई सरकारले निशुल्क दिनुपर्ने चामलको रकम लिएको खाद्य संस्थानले अन्तत:  उक्त रकम फिर्ता गरेको छ।

सरकारले कर्णालीबासीलाई जन्म र मृत्यु संस्कारमा प्रति परिवार निशुल्क दिएको २० किलो चामलको २ सय ४० रुपैयाँ लिएको खाद्य संस्थानको हुम्ला कार्यालयले थाहाखबर डटकम लगायतका सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि रकम फिर्ता गरेको हो।

दसैं र तिहारको बीचमा संस्थानले यस्ता पाँच परिवारबाट रकम लिएको थियो। उक्त रकम फिर्ता गरेको संस्थानको हुम्ला जिल्ला प्रमुख नारायणसिंह केसीले बताए।

स्थानीय तहबाट जन्म र मृत्यु भएको प्रमाणित गरेको कागजात लिएर संस्थानको कार्यालयमा आउने स्थानीयले चामल पाउने व्यवस्था गत वर्षदेखि सरकारले गरेको छ।

खाद्य संस्थान शाखा कार्यालय हुम्लाका प्रमुख नारायणसिहं केसीले कार्यालय सहयोगीले यो नियमबारे थाहा नपाएर भुलवश लिएको बताए। यसअघि रकम लिएकाहरुलाई फिर्ता गर्ने र अबदेखि रकम नलिने उनले बताए। दसैं विदामा आफू लगायत कर्मचारी विदामा घरमा गएको वेला कार्यालयमा रहेका सहयोगीहरुबाट भएको गल्तीमा कार्यालयप्रमुख केसीले क्षमा समेत मागेका छन्।

दसैंदेखि अहिलेसम्म ५ जनालाई मात्र निशुल्क चामल वितरण गरिएको संस्थानका कर्मचारी हर्कधनु शाहीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.