|

काठमाडौं: तिहार भन्नेबित्तिकै विभिन्न प्रकारका रङ, बत्ती, मिठाई, रोटीहरूको पर्व भनेर चिनिने गरिन्छ। तिहारमा टीका लगाएर दिदीबहिनीले आफ्ना दाजुभाइलाई विभिन्न प्रकारका मिठाईका साथै रोटीहरू भाइमसलाका रूपमा दिने गरेको पाइन्छ।

यसले गर्दा अरू बेलामा भन्दा तिहारको बेलामा मिठाईहरूको व्यापार धेरै हुने व्यापारीहरू बताउँछन्। छिटो र बजारमा सजिलै किन्न सकिने यस्ता मिठाईका परिकारहरूमा प्रयोग हुने विभिन्न प्रकारका रङ र रसायनहरू स्वास्थ्यका लागि हानिकारक हुने गर्दछन्।

मिठाईमा मिसाइने रसायन र रङहरूले तत्कालीन रूपमा 'फुड प्वाइजन' हुन सक्छ भने स्वास्थ्यमा दीर्घकालसम्म असर गर्न सक्छ। त्यसैले यस्ता मिठाईहरू किन्दा विशेष ख्याल गर्नुपर्छ।

बजारमा पाइने रंगीन मिठाईहरू कम दिअौँ

विभिन्न प्रकारका रोटी र मिठाईहरूको प्रयोग तिहारमा बढी नै हुने गर्छ। तर तिहारमा दाजुभाइलाई सगुनको रूपमा दिइने कतिपय यस्ता खानेकुराहरू स्वास्थ्यको दृष्टिकोण हानिकारक पनि हुन्छन्। तिहारमा बासी तेल र विभिन्न रसायनिक रङहरूको प्रयोगबाट बनाइने यस्ता मिठाईहरू  दाजुभाइलाई दिँदा  शरीरमा चिनीको मात्रा बढ्नुका साथै धेरै गुलियो मिठाईहरू खाँदा माइग्रेन, मिर्गौलाको समस्या देखिने गर्छ। साथै यस्ता मिठाईहरू धेरैजसो दूध र मैदाबाट बनाइने हुँदा ग्यास्ट्रिक हुनसक्ने संभावना बढी हुन्छ। सकेसम्म दाजुभाइलाई बजारमा बनाइएका यस्ता मिठाईहरू खान दिनु उचित हुँदैन। बिभिन्न रङहरूको प्रयोग गरेर बनाइने मिठाईहरूमा क्यान्सर निम्त्याउने विभिन्न खालका रासायनिक तत्त्व हुने गर्छन्।

घरमै बनाएको खानेकुरा उत्तम

तिहारको बेलामा दाजुभाइलाई विभिन्न प्रकारका मीठामीठा परिकारहरू दिने भन्दै दिदीबहिनीहरूले बजारमा लामो समयदेखि बनाएर प्लाष्टिकमा राखेका खानेकुराहरू दिने गर्छन्। लामो समयसम्म प्लाष्टिकमा प्याक गरेर राखिएका बासी खानेकुराभन्दा आफ्ना दाजुभाइलाई सकेसम्म घरमै बनाएको खानेकुरा दिनु राम्रो हुन्छ। यस्ता खानेकुराले दाजुबहिनी, दिदीभाइबीचको आत्मीयतालाई बलियो बनाउनुका साथै घरमै बनाइएका खानेकुराहरू स्वास्थ्यका लागि पनि त्यति धेरै हानिकारक हुँदैन। घरकै ताजा ध्यू, तेलमा बनाइएको विभिन्न प्रकारका रोटीहरू स्वादिष्ट हुनुका साथै शक्तिवर्द्धक पनि हुने गर्छन्।

बदाम, ओखरहरू धेरै दिनु राम्रो

तिहारमा सगुनका रूपमा दाजुभाइलाई ओखर, पास्ता, बदाम, काजु जस्ता खानेकुरा प्रशस्त मात्रामा दिँदा राम्रो हुन्छ। यस्ता खानेकुरामा शरीरलाई चाहिने विभिन्न प्रकारका पौष्टिक तत्त्वहरू पाइन्छ। यी पौष्टिक तत्त्व शरीरका लागि फाइदाजनक हुने गर्छन्। ओखरमा हुने तेल मुटुका लागि अत्यन्त राम्रो मानिन्छ।यस्तै ओखरमा हड्डी र छालालाई राम्रो बनाउने विभिन्न प्रकारका भिटामिन, मिनरल, आइरन र ओखरमा क्यान्सरबाट बचाउने बिशेष प्रकारको तत्त्व पाइने भएकाले दाजुभाइलाई सगुनको रूपमा ओखर दिनु राम्रो हुन्छ।

फलफूल धेरै दिनु राम्रो

तिहारमा दिदीबहिनीले दाजुभाइलाई स्नेहपूर्ण रूपमा दिइने खानेकुराहरूमा सकेसम्म मिठाई, चिल्ला रोटीभन्दा फलफूल, दही दिनु राम्रो हुन्छ। चाडपर्वको समयमा धेरै खानेकुरा खाने र शारीरिक व्यायाम कम गर्ने हुँदा शरीरमा उल्टो असर गरिरहेको हुन्छ। तिहारको बेलामा धेरै प्रयोग हुने गुलिया परिकारहरूले शरीरमा ठूलो हानि पुर्‍याइरहेका हुन्छन्, जसले गर्दा तिहारलगत्तै धुमेह उच्च हुनुका साथै उच्चरक्तचाप भएका धेरै बिरामीहरू उपचारका लागि आउने गर्छन्। त्यसैले दाजुभाइलाई सकेसम्म मौसमअनुसारका विभिन्न प्रकारका फलफूल, दूध-दही दिनु राम्रो हुन्छ। यी खानेकुरा सजिलै पच्ने र स्वास्थ्यको दृष्टिकोणले पनि राम्रा मानिन्छन्।

(वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीसँग गरिएको कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.