|

धनकुटा : हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार नजिकएसँगै कृत्रिम फूलले गाउँ सहर रंगिन थालेका छन्।

हेर्दा आकर्षक तथा राम्रो देखिने, माला उन्न झन्झटिलो पनि नहुने र सहजै रुपमा प्रयोग गर्न सकिने भएकाले यतिबेला कृत्रिम फूलको मालाको प्रयोग बढ्दै गएको हो। रबरबाट बनाइएका विभिन्न प्रकारका मालाहरु घरमा सजाउन तथा पूजा गर्न प्रयोग हुने गरेको धनकुटा सदरमुकामका महेन्द्र कार्कीले बताए। उनका अनुसार केही पहिलेको तुलनामा वर्षेनी कृत्रिम फूलहरु किन्ने ग्राहकको संख्या बढेको छ।

तिहारका लागि गाउँमा रोपिएका फूलहरु समयमा नै नफुल्ने हुनाले कृत्रिम फूलमा मानिसहरुको आकर्षण बढेको धनकुटा बजारमा कृतिम फूल किनिरहेकी धनकुटा नगरपालिका वडा न ३ की भीमा अधिकारीले थाहाखबरसँग बताइन्। रबरबाट बनेका फूलका माला धेरै समयसम्म नओइलाउने र झट्ट देख्दा राम्रो र आकर्षक देखिने भएकाले पनि कृत्रिम फूलको प्रयोग गर्नेहरुको सङ्ख्यामा बढ्दो क्रम रहेको स्थानीय व्यापारीहरु बताउँछन्। सहरबजारका मानिसहरूले फुलको अभावका कारण पहिले देखिनै प्रयोग गर्ने गरेको कृत्रिम फूल पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि लोकप्रिय बन्न थालेको छ।

गाउँमा रोपिएका फूलले मात्र माग धान्न नसकेकाले कृत्रिम फूल प्रयोगको विकल्प नभएको हिले बजारका व्यापारी नगेन्द्र बस्नेतले बताए। उनी भन्छन् 'प्राकृतिक फूलको महत्व आफ्नै हुन्छ कृतिम फूल राम्रो र सुन्दर मात्र देखिएको हो तर त्यसको खासै महत्व छैन।' पुर्खाहरुले प्रयोग गर्दै आएको मखमली, सयपत्री र गोदाबारीको महत्व बुझ्न नसकेका कारण पछिल्लो समय कृत्रिम फूलमा आकर्षण बढेको उनले बताए। अहिले बजारमा कृत्रिम फूल न्युनमत १ सयदेखि १ हजार रुपैयाँमा बिक्री हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.