|

जाजरकोट : पाक्नै लागेको बाली बाढीले बगाएपछि समस्यामा परेका कुशे गाउँपालिका ४ का किसानहरुलाई तिहार मान्नको लागि राहतस्वरुप चामल वितरण गरिएको छ। कुशे गाउँपालिका कार्यालयले २२ जना किसानलाई प्रति परिवार ३ सय किलोग्राम चामल उपलब्ध गराएको हो। गत साउनमा स्थानीय पुल्तीखोलामा आएको बाढीले कुशे गाँउपालिका ४ को वालुवागाँउमा सबै खेतीयोग्य जमिन बगाएको थियो।

किसानहरुलाई गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले चामल वितरण गरेका हुन्। गाँउपालिकाले राहत दिएपछि बाढीपीडित किसानहरु खुशी भएका छन्। तिहार मनाउने चिन्तामा भएका कुशे गाउँपालिका ४ का टीकाराम जैसीले राहत पाएपछि तिहार सहज हुने बताए। 'तिहार कसरी मनाउने भनेर चिन्ता लागेको थियो, भएको खेतबारी सबै बाढीले बगायो, अरुसँग गएर मजदुरी गरेर परिवार पालेको छु' उनले भने।

गाउँपालिकाको राहत तथा उद्धार कोषबाट राहत स्वरुप किसानहरुलाई चामल वितरण गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए। 'बाढी पीडितको निवेदन गाउँपालिकामा आएपछि आफै प्रत्यक्ष प्रभावित स्थानहरुमा गएँ, धेरै किसानहरुको बालीसहितको जमिन बगाएको छ, उनीहरुलाई दैनिक छाक टार्न समेत समस्या देखिएको हुदा गाउँपालिकाको तर्फबाट थोरै भए पनि राहत उपलब्ध गराएका छौं' उनले भने।

किसानलाई प्रति परिवार ३ सय किलोग्राम चामल वितरण गरिएको गाउँपालिकाका कार्यकारी अधिकृत थानेश्वर भण्डारीले जानकारी दिए। 'प्रहरीको मुचुल्का र किसानको निवेदन समयमा प्राप्त नहुँदा केही छुटेका छन्, वडा कार्यालय मार्फत सबै संकलन गर्न निर्देशन गरिएको छ, तिहारलगतै बाँकी राहत वितरण हुन्छ' उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.