|
फाइल फोटो

काठमाडौं : कार्तिक कृष्ण औँसीको साँझमा घरघरमा लक्ष्मीपूजा गरेपछि रातभरि गाइने गाथालाई  भैलो भनिन्छ। भैलो महिलाले गाउँछन्, विशेषगरी साना नानी र किशोरीहरूले। गोवर्धनपूजाका दिन पुरुषहरूले देउसी खेल्छन्। कतिपय ठाउँमा त तिहारमा सुरु भएको देउसी एकादशीसम्म चल्ने गर्दछ।

देउसीखेल्ने परम्परासँग बलिराजाको कथा जोडिएको छ। दानवराज बलिले वामन अवताररूपी नारायणले मागेको तीन पाइला जमिनमध्ये दुई पाइलामा सम्पूर्ण भू–भाग ढाकिएकोले तेस्रो पाइलामा आफ्नो शिर दिएका थिए। 

त्यसबेला नारायणले ‘देऊ शिर’ भनी मागेकाले अपभ्रंश भई देउसीको गाथा चलेको हो भनिन्छ। आफ्नो सर्वस्वहरण भई पाताल पुगेका बलिलाई विष्णुले वर्षको तीन दिन पृथ्वीमा तिम्रो आधिपत्य रहनेछ भन्ने वरदान दिएको स्मरण गर्दै मानिसहरूले देउसीभैलो खेल्ने परम्परा चलाएका हुन् भन्ने विश्वास गरिन्छ।

यसैकारण पनि देउसीभैलोमा बलि राजाले पठाएको प्रसंग जोड्दै उनको गाथा गाउने गरिन्छ। धार्मिक एवं सांस्कृतिक दृष्टिले तिहारलाई जति छ, यसको साहित्यिक पक्ष पनि त्यतिकै प्रबल रहेको छ। 

वर्षौ अघिदेखि गाउँका कुनाकन्दरामा सिर्जना भएका र समय र स्थानअनुसार परिमार्जन हुँदै आएका साहित्य पनि कम्ता मजबुत हुँदैनन् भन्ने प्रमाण तिहारमा खेलिने देउसीभैलो चुट्का, बालन, भजन आदिले दिइरहेका हुन्छन्। तिनमा भएका शब्दको प्रयोग र सबैको मन जित्न सक्ने प्रस्तुतिले यसको पुष्टि गर्छ।

सुरुदेखि अन्त्यसम्म एउटै फाँकीमा गाइने देउसीभैलो ठाउँअनुसार फरक लबजका भएको पाइन्छ । भैली गाउँदा कतै लेग्रो तानेर ‘भइऽऽलो’ भनिन्छ भने कतै भैलीराम वा कतै ‘भैलिनी हो’। यस्तै देउसीमा पनि कतै ‘देउसी रे’, 'द्यौसी रे' ‘देउसीराम’ कतै ‘देउसु रे’ भनेको पाइन्छ। देउसीभैलो गाउँदा बीचबीचमा ठाउँअनुसारका अन्य लोकगाथाहरू पनि जोडिन्छन्।

गीत भएपनि देउसीभैलो गाउने नभनीकन 'खेलेको' भन्ने पनि गरिन्छ। देउसीभैलो खेल्ने समूहमा एक जना भट्याउने हुन्छ अरुले देउसीवा भैली रे भन्छन्। ठाउँअनुसार खैंजडी मुजुरा कठताल र मादल जस्ता बाजाको प्रयोग गरिन्छ। भैलिनीहरू सुरुवातमै भैली खेल्न आएको घरबेटीको घरको मनमोहक दीपावलीसहितको लक्ष्मीपूजाको वर्णन गर्दै यसरी भैलो शुरु गर्दछन्–
        हरियो गोबरले लिपेको, लक्ष्मीपूजा गरेको 
        हे औँसीबारो गाई तिहारो भैलो...
अन्त्यमा घरपतिले श्रद्धाले दिएको चामल, भेटी, सेलरोटी फलफूल आदि ग्रहण गर्दै भैलिनीहरू घरपतिलाई आशिर्वाद दिन्छन्। भैलिनीहरूले दिएको आशिर्वाद लाग्छ भन्ने विश्वास गरिन्छ। 

यसैगरी गोवर्धनपूजाको दिनदेखि देउसेहरू देउसी खेल्न घरघर डुल्ने गर्छन्। देउसी खेल्दा परम्परागत भेषभूषा दौरा सुरुवाल लगाएर  ए भन भन भाइ हो, देउसी रे भन... भन्दै स्वमा स्वर मिलाएर गाउँछन्। 

पहाडी क्षेत्रमा देउसीखेल्दा ब्राह्मण–क्षेत्री समुदायले बालन भजन गाउने गर्दछन् । बालन गाउँदा रामायण, महाभारत र पौराणिक प्रसंगहरू जोडिन्छन्। मादल र खैंजडीको गाइने कम्ती मनमोहक हुँदैन र रात बितेको पत्तो हुँदैन।

ए लीला सुरु भो 
होऽऽऽऽ हो हो लीला सुरु भो 
हरेराम लीला सुरु भो
हो हो लीला सुरु भो 
श्रीभदभागवत लीला सुरु भो
हो हो श्रीमदभागवत लीला सुरु भो।

नारायण 
हरि हरि
ए सुन राम्ररी
हो हो सुन राम्ररी
हरेराम सुन राम्ररी 
हो हो सुन राम्ररी
बलिराजको कथा भन्छु सुन राम्ररी
हो हो बलिराजकोे कथा भन्छु सुन राम्ररी 
नारायण 
हरि हरि।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.