|

काठमाडौं : हिन्दु धर्माबलम्बीहरुमा दसैंपछिको ठूलो चाडको रुपमा तिहारलाई लिने गरिन्छ। तिहारमा विषेशगरी लक्ष्मीको पूजा गर्ने र आफ्ना दिदी-बहिनीले दाजु-भाइलाई टीका लगाउने गरिन्छ। देउसी-भैलो पनि तिहारको अर्को  रमाइलो पक्ष हो। दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता अझ बढाउने पर्वको रुपमा मनाइने तिहारमा हरेक हिन्दु नेपालीको आआफ्नो योजना हुन्छ। यसपटक कलाकारले यस वर्षको तिहार कसरी मनाउँदैछन् त? यही विषयमा रहेर हामीले छ जना कलाकारसँग कुराकानी गरेका छौं।

१. प्रियंका कार्की : अभिनेत्री

प्रियंका कार्की अहिलेकी एकदमै व्यस्त अभिनेत्रीमा पर्छिन्। प्रियंका अहिले तिहारको सामान खरिद गर्नमै व्यस्त छिन्। तिहारको सामान किन्न सपिङ सेन्टरमा पुगेकी प्रियंकालाई हामीले तिहार कसरी मनाउदै हुनुहुन्छ? भनेर सोध्यौं। 'मेरो तिहार सामान्य नै हुन्छ। सर्वसाधरण नेपालीले जसरी तिहार मनाउनु हुन्छ म पनि त्यसरी नै मनाउँछु' उनले संक्षिप्तमा जवाफ दिइन्।  

प्रियंकाको एकजना भाइ छन्। तर प्रियंकाले आफ्नो भाइलाई टीका लगाउन पाउदिनन्। कारण उनको भाइ विदेशमा छन्। 'मेरो एउटा भाइ छ। तर ऊ बाहिर छ' उनले थपिन् 'आफ्नो भाइलाई टीका लगाउन नपाए पनि मैले ५ जना आफन्त दाजुभाइलाई टीका लगाउँछु।'

देउसी-भैलो खेल्न खासै नरुचाउने प्रियंका यस वर्ष पनि देउसी खेल्न हिँड्दिनन्। आफू सेलीब्रेटी भएका कारण पनि देउसी-भैलो खेल्न हिँड्न अप्ठेरो लाग्ने प्रियंका बताउँछन्।

२. आर्यन सिग्देल : अभिनेता

चकलेटी हिरो आर्यन सिग्देल अहिले फिल्म 'रुद्रप्रिया'को प्रचार-प्रसारमा व्यस्त छन्। आर्यनलाई तिहार त्यति रमाइलो लाग्दैन। भन्छन् 'काठमाडौंमा घर हुनेहरुको तिहार त खासै केही रमाइलो हुदैन।'

आर्यनको एक बहिनी छिन्। तर बहिनी अष्ट्रेलियामा भएका कारण आर्यनले यस वर्षको तिहारमा टीका लगाउँदैनन्। 'मेरो एउटा बहिनी हो, तर उ अहिले अष्ट्रेलियातिर छ। त्यसैले यो वर्ष म तिहारको टीका लगाउँदिन।'

यसवर्षको तिहारमा आर्यनको सबैभन्दा ठूलो कुरा भनेको उनी अभिनित फिल्म 'रुद्रप्रिया' हो।  'मेरो लागि तिहार भनेको रुद्रप्रिया नै हो' उनले भने 'म यसपालिको तिहार रुद्रप्रियासँगै मनाउँछु।' लक्ष्मीपूजाको दिनदेखि प्रदर्शनमा आउने 'रुद्रप्रिया'को दर्शक प्रतिक्रिया लिन हल हलमा पुग्ने उनको योजना छ।

३. विपिन कार्की : अभिनेता

विपिन कार्की फिल्म नगरीमा रुचाइएको नाम हो। 'पशुपतिप्रसाद', 'जात्रा' जस्ता फिल्मबाट आफ्नो पहिचान बनाउन सफल उनी अहिले व्यस्त कलाकारको सुचिमा पर्छन्। यस वर्ष आफ्नो तिहार सामान्य नै हुने विपिन बताउँछन्। 'तिहारमा त्यस्तो स्पेसल प्लान त केही छैन' उनले भने 'म तिहार साधारण तरिकाले नै मनाउँछु।'

विपिनको एक जना दिदी छिन्। यहीँ काठमाडौंमा उनकै हातबाट टीका लगाउने योजनामा छन् विपिन। उनले भने 'एक जना दिदी हुनुहुन्छ उहाँकै हातबाट टीका लगाउँछु।' 

सानो उमेरमा खुबै देउसी खेल्न रुचाउने विपिन अहिले भने देउसी खेल्न हिँड्दैनन्। समय मिलेमा साथीहरुसँग कोठामै बसेर गितार बजाउदै देउसी गाउने  उनी बताउँछन्।

४. वर्षा सिवाकोटी : अभिनेत्री

वर्षा सिवाकोटी नेपाली फिल्म क्षेत्रकी सुन्दर नायिका हुन्। वर्षाको यस वर्षको तिहार खासै रमाइलो नहुने भएको छ। घरमा जुठो परेका कारण आमा-बुवाले तिहार मनाउन पाउनुहुन्न्। तर वर्षाले भने आफ्नो भाइ-बहिनीलाई भेला गरेर टीका लगाइदिन्छिन्। भन्छिन् 'घरमा जुठो परेको छ, बाबा-मम्मीले तिहार मनाउन हुदैन्। तर म चाहिँ भाइ-बहिनीलाई जम्मा गरेर टीका लगाइदिन्छु।'

तिहारमा मम्मीले पकाएको सेल खाने, भाइबहिनीसँग बसेर रमाइलो गर्ने उनको योजना छ। देउसी-भैलोमा त्यति चासो नदिने उनी यस वर्षपनि देउसी खेल्न हिँड्दिनन्।

५. जितु नेपाल : हास्य कलाकार 

'मुन्द्रे'को उपनामले चिनिने हास्य कलाकार जितु नेपाल अहिले 'स्टेज प्रोग्राम', टेलिसिरियल र फिल्मको काममा व्यस्त छन्। जितुको तिहार पनि साधरण नै हुनेवाला छ। जितु चाडपर्वमा खास तडक-भडक गर्न रुचाउँदैनन्।

उनको दुई जना दिदीबहिनी छन्। तर दिदीको ससुराको मृत्यु भएका कारण उनलाई दिदीले टीका लगाउन पाउँदिनन्। 'दिदीको घरमा जुठो परेकाले उसले टीका लगाइदिन मिल्दैन। बहिनी छे विशालनगरमा, त्यतै गएर टीका लगाउँछु' उनले भने।

जितुलाई देउसी-भैलो निकै मन पर्छ। तर पनि उनी देउसी खेल्न हिँड्दैनन्। उनले यस वर्षको देउसी खेलिसकेको बताए। भन्छन् 'मैले यो वर्षको देउसी खेलिसकेँ।' यो हप्ता प्रसारण हुने 'जिरेखुर्सानी'मा मैले देउसी-भैलो विशेष बनाएको छु। त्यसैको लागि मैले देउसी खेलिसकेको छु। अब चाहिँ हिँड्दिन्।'

६. राजनराज सिवाकोटी : संगीतकार

'सुर्के थैली खै', 'पूर्व पश्चिम रेल', 'कुटुमा कुटु' जस्ता हिट गीत दिएका संगीतकार तथा गायक  राजनराज शिवाकोटी अहिलेका व्यस्त संगीतकार हुन्। राजनराजले यस वर्षको तिहार काठमाडौंमा नै मनाउँदैछन्।

राजनराजको एकमात्र दिदी अमेरिकामा छिन्। त्यसैले राजनराजले आफ्नो ठूलोबुवाको छोरीको हातबाट टीका लगाउँदै छन्। भन्छन् 'मेरो एउटा दिदी हुनुहुन्छ तर उहाँ अमेरिकामा भएकाले म ठुलोबुवाको छोरीको हातबाट टीका लगाउछुँ।'

देउसी-भैलो खेल्न रुचाउने राजनराज यो वर्ष पनि देउसी खेल्ने तयारीमा छन्। 'संगीतकार संघले देउसी-भैलोको आयोजना गरेको छ' उनले भने 'त्यतै गएर देउसी खेल्ने योजनामा छु।'  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.