|

भक्तपुर : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सम्वतलाई व्यवहारमा लागु गराउन सरकार सकारात्मक भएको बताएका छन्। नेपाल सम्वत ११३८ को अवसरमा राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले शुक्रबार मध्यपुर थिमीको शंखधरचोकमा आयोजना गरेको साख्वाको शालिकमा माल्यार्पण कार्यक्रममा उनले नेपाल संवत नेपालको मौलिक सम्वत भएकाले यसको व्यवहारमा लागु हुनुपर्ने बताए।

प्रधानमन्त्री देउवाले सरकार प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन गर्न कटिवद्ध भएको बताउँदै निर्वाचन मार्फत संविधानको सफल कार्यान्वयनका लागि सरकार आतुर रहेको धारणा राखे। उनले संक्रमणकालको अन्त्य गरी समृद्ध नेपाल निर्माणको लागि मंसिरको निर्वाचन सफल बनाउने दायित्व सबैको भएको बताए।

रक्षामन्त्री भीमसेनदास प्रधानले मुलुकको लोकतान्त्रिक अभ्याससँगै नेपाल सम्वतले राष्ट्रिय मान्यता पाइसकेको अवस्थामा यसमा विवाद गरिरहनु नपर्ने बताए। उनले पञ्चायतकालमा नेपाल सम्वतको अवसरमा निकालिने भिन्तुना र्‍यालीमा समेत सरकारी दमन हुने गरेको स्मरण गर्दै त्यतिबेला नेवार समुदायको मात्र आल्दोलन जस्तो देखिने नेपाल सम्वत अहिले सबै नेपालीको सम्वतको रुपमा स्थापित भइसकेको धारणा राखे।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर राणाले नेपाल सम्वत नेपाली सभ्यताको प्रतीक भएको बताए। उनले नेवारी कला संस्कृति र सभ्यता नेपालको मौलिक संस्कृति भएकाले यसले नेपाल र नेपालीलाई सधैं गौरवान्तित महसुस गराइरहने धारणा राखे।

कार्यक्रममा नरेन्द्रभक्त हाडा र देबेन्द्रकुमार मल्ललाई प्रतिष्ठानको तर्फबाट प्रधानमन्त्रीले सम्मान गरेका थिए। कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका सह अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठ,  काठमाडौं महानगरपालिकाका नगर प्रमुख विद्यासुन्दर श्रेष्ठ, मध्यपुर थिमी नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठ, पूर्व नगर प्रमुख मदनकृष्ण श्रेष्ठलगायतका वक्ताहरुले नेपाल सम्वतबारे अध्ययन अनुसन्धान गरी यसलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.