|

उदयपुर : जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका ३० जना जुवाडे माफी मागेर रिहा भएका छन्। बुधबार राति पक्राउ परेका रौतामाई गाँउपालिका ८ का वडा अध्यक्ष टेकबहादुर बलम्पाखी मगरसहित ३० जना जुवाडे बिहीबार राति माफी मागेर छुटेका हुन्।

उदयपुरका प्रहरी प्रमुख एसपी नवराज भट्टले एक पटकलाई मात्र माफी दिएको बताएका छन्। 'वडा अध्यक्ष सहित धेरै राजनीतिक दलका नेता कार्यकर्ता परेका थिए’, उनले भने, ‘आम गाईघाटवासी एक पटकलाई माफी दिनु भन्दै आए, जनताको बीचमै माफी माग्न लगाएर छाडिदिएँ।’

दसैंको बेला गएको असोज १३ गते राति प्रहरीले तास खेलिरहेको अवस्थामा केही व्यक्ति पक्राउ गरी फेरि नदोहोर्‍याउने शर्तमा छाडेको थियो। अहिले पनि प्रहरी त्यही गरेको स्थानीयको आरोप छ। ‘आखिर प्रहरीले जुन बाहना बनाए पनि उही पुरानै क्रियाकलाप दोहोरिएको छ' स्थानीय शिक्षक पदम राईले भने, ‘प्रहरीले पक्राउ गरेका जुवाडेलाई कारबाही हुन्छ भन्ने आशा लागेको थियो, तर भएन।'

छुटाउन नेताहरुको दवाब

पक्राउ परेका जुवाडेलाई छुटाउनको लागि नेपाली कांग्रेस, नेकपा एमाले र  नेकपा माओवादी केन्द्रका जिल्ला स्तरीय नेताहरुले प्रहरीलाई दवाब दिएका थिए।

एमालेका जिल्ला सचिव परमेश घिमिरे, सामुदायिक सेवा केन्द्रका अध्यक्ष तथा एमाले जिल्ला नेता प्रकाश बस्नेत, महेश रेग्मी, कांग्रेसका पूर्व जिल्ला सचिव भीमचन्द्र राई, तरुण दल कार्यबाहक जिल्ला अध्यक्ष तथा नेता भूपेन्द्र थापा, माओवादी केन्द्रका जिल्ला नेता किरण राई, नारायण वुर्जा समेतले पक्राउ परेकाहरुलाई माफी मगाएर रिहा गर्न प्रहरीलाई आग्रह गरेका थिए। ‘चुनावको बेला प्रहरीले जुवाको नाममा ताण्डव देखाउने,’ छुटाउन जानेमध्येका एक नेताले भने, ‘सर्वेसर्वा प्रहरी मात्र हो भन्ने देखाउन खोजियो।’

यसरी पक्राउ परेका थिए जुवाडे

बुधबार राति ११ वजे त्रियुगा नगरपाकिला ११ संगम टोलमा रहेको कांग्रेसका  स्थानीय नेता तथा निर्माण व्यवसायी सुमन्त कोइरालाको घरमा प्रहरीले छापा मार्यो । एसपी नवराज भट्ट नेतृत्वको टोलीले एक्कासी घर घेरा हालेपछि तास खेलिरहेकाहरुको भागाभाग भएको थियो।

‘गेटमै ५० हजार देखाएर मात्र भित्र जान पाइने व्यवस्था थियो,’ नाम नबताउने एक प्रहरी अधिकारीले भने, ‘घरको तीन वटा ढोकामा चावी थियो, प्रहरीले फोड्दै भित्र पस्यो।’

प्रहरी घर ढोका फोडेर भित्र पस्दा कोही जुवाडे दराज भित्र पसे, कोही घर छतबाट हाम फालेर भागे, कोही, पानी ट्याङ्कीभित्र लुके, कोही कुखुरा छोप्ने डोकाभित्र समेत छिरेको अवस्थामा पक्राउ गरेको प्रहरीको दावी छ। ‘पानी ट्याङकीभित्र डुबेर हातमा ५० हजार नगद बोकेर लुकेको अवस्थामा समेत पक्राउ गरिएको थियो,’ थाहाखबरसँग एक प्रहरी जवानले भने, ‘सुत्ने पलङमुनि लुकेको अवस्थामा समेत पक्राउ गरेका थियौं, त्यो दृश्य पुरै चलचित्रको जस्तो थियो।’

कोइरालाको घरमा प्रहरीले केही समय अघिदेखि विशेष निगरानी राख्दै आएको प्रहरीको स्रोतको दावी छ। केही सूचनाको आधारमा बुधबार राति प्रहरीले एक्कासी घर घेरा हालेको थियो। विभिन्न पटक जुवा केसमा पक्राउ पर्नेहरुले कोइरालाको नाम लिदै आएकाले एसपी भट्टको निशानामा उनको घर परेको थियो।

प्रहरीले छापा मार्दा नगद दुई लाख ७२ हजार ९ सय ८० रुपैयाँ, ३२ थान कौडा, ६ सय ८७पत्ति ताससहित जुवाडे पक्राउ परेका थिए। ‘घर घेरा हालेको केही समय प्रहरी पनि मौन बस्यो,’ छापा मार्न एसपीसँगै गएका एक प्रहरीले भने, ‘त्यहाँ ५० लाख भन्दामाथिको रकममा जुवा खेलिएको हुनुपर्छ, प्रहरीले ढिलाई गर्दा जुवाडेले पैसा समेत लुकाउन भ्याएका थिए।'

प्रहरी प्रमुख एसपी नवराज भट्टले पक्राउ गरे पनि जुवाडेलाई कारबाही गर्न नसकिएको बताए। ‘पक्राउ त गरियो सार्वजानिक विदा थियो,’ उनले भने, ‘आम गाईघाटवासीले जिल्ला प्रहरी कार्यालय नै घेरेपछि हाम्रो केही चलेन।’

जुवा ऐन २०२० अनुसार जुवा खेलेमा पहिलो पटकलाई दुई सयसम्म जरिवाना, दोस्रो पटकलाई एक महिनादेखि तीन महिनासम्म कैद र तेस्रो पटक देखिको १ वर्ष कैद हुने व्यवस्था छ। जिल्लाका पहिलो तहका नेताहरु प्रदेश र प्रतिनिधि सभाको टिकटको लबिङका लागि काठमाडौं गएकाले जिल्लाका दोस्रो तहका नेताहरु प्रहरी कार्यालयमा पुगेर जुवाडे छाड्न दवाब दिएका थिए। पक्राउ परेका व्यक्ति छाडे पनि बरामद गरिएको कुनै पनि सामान छाडिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.