|

काठमाडौं : नेकपा एमालेले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी नपाउने पार्टीका नेता कार्यकर्तालाई चित्त नदुखाउन आग्रह गरेको छ।

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारको अन्तिम टुंगो लगाउने तयारी भइरहेका बेला शुक्रबार बसेको एमाले स्थायी समिति बैठकले उम्मेदवारी नपाएकै कारण चित्त नदुखाउन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेको हो।

पार्टी उपाध्यक्ष बामदेव गौतमको निवास भैसेपाटीमा बसेको बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा त्याग गरेका नेताहरुलाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दिने निर्णय पनि गरेको छ। अहिले त्याग गरेका नेताहरुलाई राष्ट्रिय सभामा उम्मेदवारी दिने निर्णय पनि गरिएको पार्टीका सचिव प्रदिप ज्ञवालीले जानकारी दिए। एमालेले मुलुकको हितका लागि माओवादी केन्द्रसँग चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमति गर्नु परेको स्पष्ट पार्दै त्यसबाट निर्वाचनमा उम्मेदवार बन्न बञ्चित भएका नेता, कार्यकर्ताहरुलाई पनि चित्त नदुखाउन सचेत गराएको छ।

एमालेले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पार्टीप्रतिको निष्ठा र लोकप्रियतालाई मुख्य आधार बनाएर उम्मेदवार चयन गरिएको पनि स्पष्ट पारेको छ।

पहिलो चरणमा हुने ३२ जिल्लामा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षमा एमाले ४१ र माओवादी केन्द्रले ३३ सिट लिने सहमति भइसकेको छ। दुवै दलले समानुपातिक तर्फभने आ–आफनै पार्टीबाट उम्मेदवारी दिएका छन्। आगामी आइतबार प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन हुँदैछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.