|

प्रचलित पात्रोमा कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मको अवधिलाई यमपञ्चक उल्लेख गरिएको पाइन्छ। यसैले तिहार पनि कागतिहारमा शुरु भएर भाइटीकाका दिन सकिने बताइन्छ। 

कृषि पशुपालन र व्यापारसँग सम्बन्धित रहेर कृष्ण चतुर्दशीदेखि शुक्ल प्रतिपदा तीन दिनसम्म उत्सव मनाउने परम्परा हो। चतुर्दशीदेखि नै गाउँघरमा तोरण टाँगेर, दीपावली गरेर उत्सव मनाउने औँसीका दिन दीपावली लक्ष्मीपूजा गर्ने र प्रतिपदामा कृषिसँग सम्बन्धित गाई–गोरु र गोवर्धन पर्वतको पूजा गर्ने परम्परा छ। यद्यपि तिहारको विशेष दिन लक्ष्मीपूजा हो।

पुराणहरूमा तिहार विशेषगरी तीन दिनको भएको र भ्रातृद्वितीया छुट्टै पर्व भएको बताइएको छ। तिहार वा यमपञ्चकको अन्तिम दिन भनिएको भ्रातृद्वितीया नितान्त फरक पर्व हो। दीपावलीअन्तर्गत भातृद्वितीया पर्दैन। तिहारलाई दीपावलीका रूपमा मनाइने भारतमा लक्ष्मीपूजा, गाई–गोरुपूजा र गोवर्धनपूजाको विधान उही हो। तर कार्तिक शुक्ल द्वितीयालाई ‘भ्रातृद्वितीया’ वा ‘भरद्वितीया’का रूपमा मनाइन्छ। नेपालकै तराई मधेशमा दीपावली छुट्टै र भ्रातृद्वितीया कतै भरद्वितीया, भइयादुज आदि नामले चिनिन्छ। 

भाइटीकाको अर्थ

संस्कृत ‘भ्रातृ’ शब्दले दाजु र भाइ दुवैको प्रतिनिधित्व गर्छ, ‘भगिनी’ शब्दले दिदी बहिनी दुवै जनाएजस्तै। पौराणिक पर्व भ्रातृद्वितीया पनि अपभ्रंश भई भाइटीकामा परिणत भएको बुझिन्छ। भारत र नेपालकै तराई क्षेत्रमा भरद्वितीया वा भइयादुज नामले मनाइन्छ। काठमाडौंको नेवार समुदायले मनाउने किजापूजाको अर्थ पनि भाइ (दाजु)को पूजा नै हुन्छ। 

भाइटीकाको विधि

सबेरै उठी स्नान गरी दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै पूजा गर्ने पर्व, भाइटीका। शिवराज आचार्य कौण्डिन्न्यायनको ‘वैदिक धर्म मूल रूपमा’ पुस्तक (पृ.७२२\२३) अनुसार  यमुना नदीमा नुहाई यमको पूजा गर्दा यमलोक देख्नुपर्दैन भन्ने वचन पद्मपुराणमा पाइन्छ। विधिविधानमा विविधता भए पनि सार एउटै हो, यम र यमुनाको प्रसंग। दिदीभाइको दाजुबहिनीको पूजा। स्कन्दपुराणमा दिदीबहिनी र दाजुभाइले यस दिन गर्नुपर्ने विधानबारे उल्लेख पाइन्छ।

यस दिनका लागि दिदीबहिनीले दाजुभाइलाई निम्तो गर्ने वा नगरे पनि दाजुभाइ दिदीबहिनीको घर जाने उनीहरूले बनाएको भोजन गर्ने विधान छ। यस्तै दाजुभाइलाई श्रृंगार गरी टीका माला लगाइदिने पानमसला, आफ्नो हातबाट बनेका मिष्ठान्न, ऋतुअनुसारका फलफूल दिने गर्छन्। यस्तै दाजुभाइले गच्छेअनुसार दक्षिणा वा उपहार दिने चलन छ। यसो गर्दा दुवैलाई दीर्घायु सुख समृद्धि प्राप्त हुने उल्लेख छ।

पूजाको विधान

पुराणमा यस दिन मार्कण्डेयलगायत अष्टचिरञ्जीवी, यम र यमुनाको पूजा गरी दाजुभाइको पूजा गर्ने विधि बताइएको छ। हिन्दु परम्परामा जन्मदिनमा दीर्घायुको कामना गर्दै अष्टचिरञ्जीवीको पूजा गर्ने विधान छ। तर यस दिन दाजुभाइको दीर्घायुको कामना गर्दै अष्टचिरञ्जीवीको पूजा गर्छन्। सूर्यपुत्र यम (राज) मृत्युका देवता भइहाले। उनीसँग पनि दाजुभाइको दीर्घायुको आग्रह त गर्नु परिहाल्यो। यमुना उनकी बहिनी। उनै दाजुबहिनीको प्रसङ्गबाटै भ्रातृद्वितीया पर्वको सन्दर्भ आएको छ।

चलन आ–आफ्नै

दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्न अपनाउने प्रक्रिया स्थान विशेषअनुसार फरक–फरक पाइन्छन्। पहाडी भेगमा दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी वा पञ्चरंगी टीका लगाउने, गलामा मखमली वा दुवोको माला लगाउने, तेलको धाराले दाजुभाइले घेर्ने, टीका लगाउँदा ओखरको पूजा गरी फोर्ने आदि। यस्तै तराईमा दिदीबहिनीले रेङ्गनीको काँडाले आफ्नो जिब्रोमा घोचेर दाजुभाइलाई श्राप दिने, पुनः श्रापबाट मुक्त गरी उनीहरूको दीर्घायुको कामना गर्ने परम्परा रहेको धनुषाका पत्रकार तथा मैथिल संस्कृतिका जानकार ईश्वरचन्द्र झा बताउँछन्। सनातन समाजमा बिहान टीका लगाउने परम्परा भए पनि नेवारी समाजमा भने यो विधि बेलुकी गर्ने चलन छ।

भावनात्मक पक्ष

पुराणमा यस प्रकारको विधान नभए पनि दाजुभाइको सुख समृद्धि र दीर्घायुको कामना गर्ने विधानअनुसार भावनात्मक रूपमा यी चलन चल्दै गए। जस्तै मखमली फूल माला संधै उस्तै देखिन्छ कहिल्यै ओइलाउँदैन। दुवो कहिल्यै सुक्दैन। अलिकति चिसो भेट्नेबित्तिकै हरियो हुन्छ। तेल माटोमा पर्दा सुक्न धेरै समय लाग्छ। त्यसैले पनि दाजुभाइको दीर्घायुको कामना गर्दा यस्ता प्रसंग जोडिए होलान्, ‘तेलको धारा नसुकेसम्म, मखमलीको माला नओइलाएसम्म र दुबो नसुकेसम्म यमदूतले मेरा दाजुभाइलाई लैजान नसकून्।’ 

खराब तत्त्वमाथि प्रहार

ओखर फोर्दा यमदूतको टाउकोमा बजारेको कामना गरिन्छ, पहाडी भेगतिर। दिदीबहिनीले शुरुमा ओखर पूजा गरी भाइहरूको पूजा अन्त्य भएपछि मात्र ओखर फोर्ने विधि चलेको पाइन्छ छ। त्यसो त पूजाआजा र श्राद्धमा पनि खराब तत्त्वलाई पन्छाउन सस्र्युं वा तिलको प्रयोग गरिएको पाइन्छ। जुनसुकै कार्यमा पनि दृश्य–अदृश्य खराब तत्त्वको उपस्थिति हुन्छ। यस्तै पूजामा बिघ्नबाधा नहोस् भन्ने कामना होला। पूजा नसकिउञ्जेल कसैले विघ्न नहालून् भन्ने उद्देश्य पनि होला। 

तेलको प्रयोग

पूजाअघि शरीरमा दाजुभाइको शरीरमा बुकुवा लगाउने भन्ने पक्ष पुराणमा पनि आउँछ। सोहीअनुरूप तेल लगाउने चलन चलेको होला। अर्कोतिर तेल श्रृंगारको वस्तु पनि हो। स्वास्थ्यका दृष्टिले पनि छालालाई स्वस्थ राख्ने हिसाबले यसको प्रयोग गरिएको हो।

सप्तरंगी टीका 

विशेषगरी पूजाआजामा सेतो र रातो चन्दनको प्रयोग हुन्छ। पुराणमा भ्रातृद्वितीयामा भाइहरूलाई टीका लगाउँदा विविध रंग प्रयोग गर्नु भन्ने विधान छैन। रातो, सेतो, पहेँलो, हरियो, निलो, सुन्तले, बैजनीजस्ता रंग लगाउने चलन पछि थपिँदै गएको हो। भारत वा तराईका अधिकांश स्थानमा सप्तरंगी टीका लगाउने चलन छैन। 

विभिन्न रंगलाई विभिन्न पक्षको प्रतीक मानिन्छ। रातो रंग खुशी वा वीरताको, सेतो शान्ति र सद्भावको, हरियो प्रकृतिको इत्यादि। तर पहिले यी रंगहरू पनि प्राकृतिक रूपमा बनाइने चलन रहेको इतिहास पुराणकी ज्ञाता प्रियंवदा काफ्ले बताउँछिन्। ‘पिठोबाट सेतो, दुवोबाट हरियो, रक्तचन्दनबाट रातो र हलेदोबाट पहेँलो रंग आदि बनाइन्थ्यो’, उनी प्रश्न गर्छिन्, ‘अहिले प्रयोग हुँदै आएको रसायनयुक्त रंगले दाजुभाइको निधारमा टीका लर्काउँदा उनीहरू दीर्घायु होलान्?’

मौसमी फूलको माला

हिन्दू देवकार्य र पितृकार्यमा फूलको ठूलो महत्त्व छ। भगवान्लाई मात्र नभई मान्यजनको सत्कार गर्दा वा कसैको शुभ कामना गर्न पनि फूल दिने चलन छ। सम्मान गर्दा मालाले गरिन्छ। आयुर्वेदमा स्वास्थ्योपचारमा समेत फूलको प्रयोग हुन्छ। मूल्यको हिसाबले सस्तो र गरिमाका हिसाबले उच्च महत्त्व बोकेको छ, मालाले। त्यसैले पनि यो बेला उपलब्ध हुने गोदावरी–सयपत्री र मखमलीका माला आफ्नै हातले उनेर दाजुभाइका गलामा लगाइदिन्छन्, दिदीबहिनीले।

मसला–फलफूल–परिकार 

पूर्वीय परम्परामा कसैलाई सत्कार गर्दा पान–मसला दिने गरिन्छ। कृषिमा आधारित जनजीवन भएकाले फलफूलमा केरा वा दही पनि सगुनका वस्तु मानिन्छन्। तर तिहारमा मसला वा फलफूलभन्दा दिदीबहिनीले बनाएका परिकारका चर्चा हुने गर्दछ। बढी चर्चा हुने परिकार हो, सेल। ‘दिदीबहिनीले आफ्ना दाजुभाइका लागि कस्ता सेल बनाए’ यो अरुको पनि चासोको विषय हुन्छ। अनरसा र अन्य मिठाइ तयार पार्नुको उद्देश्य पनि दाजुभाइ खुशी होउन् भन्ने नै हो।

दिदीबहिनीको पक्षमा 

दिदीबहिनीले दाजुभाइको सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने दाजुभाइले चाहिँ गर्नुनपर्ने ? यो प्रश्न पनि उठ्न सक्छ। सन्दर्भ यमुनाले आफ्ना दाजु यमलाई घरमा बोलाएर पूजा गरेको भए पनि दाजुभाइले समेत यसै बेला दिदीबहिनीको ‘शुभ’ कामना गर्ने वा उनीहरूलाई शुभ आशीर्वाद दिने विधान छ। वाराणसीबाट प्रकाशित बाबू माधवप्रसाद शर्माबाट संकलित ‘वार्षिक रत्नावली पुस्तक’ मा यमद्वितीयाको पूजाविधिमा भाइ वा दाजुले दिदीबहिनीलाई टीका लगाउँदा उच्चारण गरिने मन्त्रको भाव यस्तो छ, ‘तिमीलाई लक्ष्मी–सरस्वती आदि देवीका गुण प्राप्त होस्, आयु–श्री–यशले भरिपूर्ण होस्। तिमी पति–पुत्रको ऐश्वर्यबाट जन्मजन्म सुशोभित भइरहू।’

दिदीबहिनी नहुनेहरू

सहोदर दिदीबहिनी नहुने दाजुभाइले काका, मामा वा फुपूका छोरीको हातबाट टीका लगाउने लौकिक चलन छ। यस्तै कतिले फुपूकै हातबाट टीका लगाउँछन्। दिदीबहिनीकी छोरी अर्थात् भाञ्जीबाट पनि टीका लगाउन हुन्छ भन्ने मान्यता कतैकतै चलेको पाइन्छ। कोही नभए तुलसीको डाँठले आफैंले टीका लगाउने पनि भेटिन्छन्। काठमाडौंमा भने दिदीबहिनी नहुनेहरू रानीपोखरीस्थित यमलेश्वरको दर्शन गर्छन्। मन्दिर परिसरमा भेटिने दिदीबहिनीको हातबाट निधार सप्तरंगी बनाउने पनि धेरै हुन्छन्।

भाइटीकाको सन्देश

भाइटीकाकै बारेमा ठाउँ नै पिच्छे भिन्नाभिन्नै किंवदन्ती चलेका भए पनि तिनको सार के हो भने रक्तसम्बन्ध सबैभन्दा ठूलो सम्बन्ध हो। त्यसको एउटा पाटो दिदीभाइ वा दाजुबहिनीको नाताको महत्त्व बुझ्न र त्यसको गरिमा राख्न सक्नुपर्छ। यो पर्वको सन्देश  के हो भने रक्तसम्बन्ध वा पारिवारिक मूल्य मान्यताको ठूलो महत्त्व हुन्छ। 

सबैका दिदीबहिनी जन्मघरमा बसिरहँदैनन्, एक न एक दिन पराइ घर जाने नै गर्छन्। पराइ घर गएको भन्दैमा रक्तसम्बन्ध टुट्दैन। दिदीबहिनीप्रति दाजुभाइले गर्नुपर्ने कर्तव्य प्रशस्त हुन्छन्। ‘रक्तसम्बन्धभन्दा भावनात्मक नाता ठूलो हुन्छ’ भन्दै दुई–चार वर्ष टीका लगाउने र विभिन्न पक्षमा चित्त नबुझेर नाता तोड्नेजस्ता हल्काफुल्का कार्यलाई निरुत्साहित गर्न पनि यो दिनको महत्त्व छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.