|

काठमाडौं : हिन्दु नेपालीहरुको महानपर्व तिहारको अन्तिम दिन शनिबा भाइटीका लगाइँदैछ। परम्पराअनुसार दिदीबहिनीहरुले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाइदिएर दीर्घायुको कामना गर्ने गर्छन्। यसैक्रममा नेकपा एमालेका शीर्ष नेताहरु चुनावी तयारीका बीच कामबाट एक दिन भए पनि फुर्सद निकालेर आ-आफ्ना दिदीबहिनीसँग भाइटीका लगाउँदैछन्। एमालेका शीर्ष पाँच नेताहरुले भाइटीका कोसँग कसरी लगाउदैछन् भन्नेबारे हामीले खोजी गरेका छौं।

केपी शर्मा ओली
अध्यक्ष

एमाले अध्यक्ष केपी शर्मा ओलीका दुई दिदीबहिनी छन्। ओलीकी एक बहिनी विष्णुकुमारी ढकाल चितवनमा र कौशल्या कोइरालाको झापामा बस्दै आएका छन्।  दुई बिहिनीहरु भाइटीकाका लागि काठमाडौं आइसकेको र शुभसाइतमै ओलीले निजी निवास बालकोटमा टीका ग्रहण गर्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव अनिश दाहालले जानकारी दिए। ओलीले केही वर्षदेखि एकजना दिदीसँग भाइटीका लगाउँदै आएका थिए। तर उनको गत वर्ष निधन भइसकेको छ।

माधवकुमार नेपाल
बरिष्ठ नेता

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले यसपाली काठमाडौंमै भाइटीका लगाउने कार्यक्रम छ। पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले आफ्ना दिदी कालिका भण्डारी र बहिनी इन्दिरा न्यौपानेसँग टीका लगाउने छन्।

भाइटीकाको साइतअनुसार कुपण्डोलस्थित बहिनी इन्दिराको घरमा टीका लगाउने कार्यक्रम रहेको नेता नेपालका स्वकीय सचिव नितेष पौडेलले जानकारी दिए। नेता नेपालकी कान्छी बहिनी भने अमेरिका बस्दै आएकी छन्।

झलनाथ खनाल
बरिष्ठ नेता

नेकपा एमालेका नेता झलनाथ खनालकी कान्छी बहिनी छिन् कुसुम खनाल। अर्को बहिनी बनाएका छन् सपना। ती दुवै बहिनीसँग भाइटिका लगाउने कार्यक्रम रहेको नेता खनालले बताए। 'आज म मेरी बहिनीहरुसँग टिका लगाउछु। कान्छी बहिनी कुसुम खनाल आउँछिन्। सपना बहिनी पनि आउँछिन्,' नेता खनालले भने, 'उनीहरु दुवैजना आइसकेपछि भाइटीका लगाएर तिहार मनाउँछु।' 

बामदेव गौतम
उपाध्यक्ष

एमाले उपाध्यक्ष बामदेव गौतमका ५ दिदीबहिनी छन्। नेता गौतमले आफ्ना ५ दिदीबहिनीसँग भैंसेपाटीस्थित निवासमा भाइटीका लगाउने कार्यक्रम रहेको गौतमका स्वकीय सचिव दीपक टमटाले जानकारी दिए।

ईश्वर पोखरेल
महासचिव

एमाले महासचिव ईश्वर पोखरेलका २ जना दिदीबहिनी छन्। काठमाडौंमा बस्दै आएका दिदीबहिनीसँग नेता पोखरेलका ३ दाजुभाइले भाइटीका लगाउने कार्यक्रम हुन्थ्यो। तर यसपाली नेता पोखरेलको तिहार छैन। केही समयअघि जेठी भाउजूको निधन भएका कारण यसपाली भाइटीका लगाउने कार्यक्रम नभए पनि परिवारमा भेटघाट गर्ने कार्यक्रम रहेको महासचिव पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.