|

जाजरकोट : जिल्लाको भेरी नगरपालिकाले कर बढाएको विरोधमा नगरवासीले देउसी भैलो मार्फत विरोध जनाएका छन्। जिल्ला सदरमुकामसमेत रहेको नगरपालिकाले अस्वभाविक रुपमा कर बढाएको विरोधमा उनीहरुले जनप्रतिनिधिहरुलाई भत्ता दिन ५ रुपैयाँ मुठीदान माग्दै देउसी भैलो निकालेका हुन्।

नगरप्रमुख चन्द्रप्रकाश घर्ती, उपप्रमुख भावना भण्डारी, कार्यकारी अधिकृत रामप्रसाद शर्मा, १३ वटा वडाका वडा अध्यक्ष र सदस्यहरु तथा नगरकार्यपालिकाका सदस्यहरु गरी ७१ जनालाई ५ रुपैयाँका दरले एकमुष्ट ३ सय ५५ रुपैयाँ र १ मुठी चामल भत्ता स्वरुप तिहार खर्च दिनको लागि संकेतिक विरोध स्वरुप देउसी भैली निकालिएको नागरिक जाजरकोट उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले बताए। देउसी भैलीबाट संकलन भएको रकम तिहार लगत्तै हस्तान्तरण गरिने अध्यक्ष खत्रीले जानकारी दिए। नगर सभाले आफ्नो भत्ता कायम गर्न भन्दै चर्को कर निर्धारण गरेपछि विरोध गर्नुपरेको खत्रीको भनाइ छ।

जिल्ला सदरमुकाम खलंगामा बुधबार निकालिएको भैली कार्यक्रममा ठूलो संख्यामा स्थानीय बासिन्दा सहभागी भएका थिए।

नगरपालिकाले राजश्वका दरहरु अस्वभाविक रुपमा बढाएकोमा स्थानीय बासिन्दाले चर्को असन्तुष्टि ब्यक्त गदै आएका छन्। विभिन्न सिफारिस गर्दा लाग्ने दस्तुर र सम्पत्ति कर अस्वभाविक रुपमा बृद्धि भएको छ।

केही समय अघि सम्पन्न नगर परिषदको बैठकले कार्यपालिका सदस्य गोपाल बटालाको अध्यक्षतामा एकीकृत कर निर्धारण समिति गठन गरेको थियो। सोही समितिले पेश गरेको एकीकृत कर नगर कार्यपालिकाले पारित गरेपछि नगरबासी चर्को मुल्यको कर तिर्न बाध्य भएका हुन्। यसअघि ५० रुपैयाँ लाग्ने विभिन्न सिफारिस दस्तुर वृद्धि गरेर एक हजार रुपैयाँसम्म बनाइएको छ। भेरी नगरपालिका ४ का सुनिल शाहीले नगरपालिकाको करले आफुहरु मर्कामा परेको बताए। अचल सम्पत्तिका आधारमा आयस्रोत नभएका नागरिकलाई कर लगाएर जनप्रतिनिधिले राम्रो काम नगरेको उनको गुनासो छ। जनताको ढाड सेक्ने गरी लगाइएको एकीकृत सम्पत्ति कर तत्काल खारेज हुनु पर्ने शाहीले बताए। निर्वाचित जनप्रतिनिधिले नगरबासीको अवस्था नहेरेर कर्मचारीको सल्लाहमा हचुवाको भरमा कर लगाएको गुनासो गरे। कर एकदमै अवैज्ञानिक र अब्यवहारिक रहेकोले तत्काल निर्णय सच्याउनुपर्ने नगरवासीको माग छ।

वडा नं ४ का वडा सदस्य विष्णु भडेलले पनि नगरपालिकाले निर्धारण गरेको भनिएको कर प्रति आफुहरुको असन्तुष्टि रहेको बताए। उनले भने ‘कर जस्तो महत्वपूर्ण विषयमा नगर परिषदबाट पारित नगरेर नगर कार्य समिति पारित गर्नु सरासर गलत हो।’ गलत निर्णय तत्काल सच्याउनु पर्ने उनको माग छ ।

चर्को कर बृद्धि गरेकोमा विरोध गदै स्थानिय सरोकारवालाले सघर्ष समिति नै गठन गरेर आन्दोलनको तयारी गरिरहेका छन्। अवैज्ञानिक र अब्यवहारिक रुपमा जनताको ढाड सेक्ने गरि निर्धारण गरिएको करको पुर्नविचार गर्न ज्ञापनपत्र दिएको छ।

प्रत्येक परिवारको सबै सम्पत्तिलाई एकीकृत गरी सोही अनुसार कर निर्धारण गरिएको छ। समितिले नगर भित्रको विभिन्न स्थानको जग्गाको मूल्य निर्धारण समेत गरेको एकीकृत सम्पति कर निर्धारण समितिका संयोजक बटालाले बताए। उनले नगरपालिको आयस्रोत बढाउन पहिलेको भन्दा केही राजश्व तथा करमा बृद्धि भएको बताए। नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले पहिलेको तुलनामा केही कर बढेकोले अस्वभाविक लागे पनि नगरकै विकास र आयस्रोतका लागि वृद्धि गरिएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.