रोल्पामा रहेका दाइलाई ओनसरीको टीका

|

काठमाडौं : हिन्दु नेपालीको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन, आज भाइटीका। सर्वसाधारण तिहार मनाउने चटारोमा लागिरहेका बेला अर्को ठूलो चाड निर्वाचन पनि सम्मुख आइरहेको छ। मंसिर १० र २१ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन तय भएको छ भने राजनीतिक दलका नेता र कार्यकर्ताहरुलाई चुनावी चटारोले छोप्न थालेको छ।

भाइटीकाको एक दिनपछाडि अर्थात् कात्तिक ५ गते प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको पहिलो चरणको चुनावका लागि उम्मेदवारी मनोनयनको कार्यतालिका रहेको छ। त्यसैले राजनीतिक दलका नेताहरुलाई तिहारको भन्दा चुनावको उत्सवका लागि तयारी गर्नुपर्ने भएको छ।

वाम गठबन्धन बनाएर निर्वाचनमा होमिन लागेको नेकपा माओवादी केन्द्रका नेताहरु पनि चुनावको तयारीमा जुटेका छन्। शुक्रबार मात्रै एमालेसँग ३२ जिल्लाका निर्वाचन क्षेत्रको भागबन्डा टुंगो लगाएको माओवादी उम्मेदवार चयनको अन्तिम चरणमा पुगेको छ। त्यस्तै कतिपय शीर्ष नेता उम्मेदवारी दर्ता गर्न आफ्नो गृहजिल्ला गएका छन्।

दशवर्ष जनयुद्ध गरेर लामो समय दसैंतिहार नमनाएका माओवादी नेताहरु पछिल्लो समय विस्तारै दसैंतिहार लगायतका चाडपर्व मनाउन थालेका छन्।

टीका लगाइदिन चितवनबाट आइन् प्रचण्डकी बहिनी

झन्डै २२ वर्षपछि प्रचण्डले यसपालि दसैंको टीका लगाए। त्यसको चर्चा सेलाएको छैन। सञ्चारमाध्यम, सामाजिक सञ्जालदेखि पार्टीपंक्ति र विभिन्न तहमा प्रचण्डको दसैंको टीका चर्चाको विषय बन्यो।

प्रचण्डले भाइटीका भने गत वर्षबाट नै लगाउन सुरु गरेका थिए। गतवर्ष उनी प्रधानमन्त्री थिए। प्रधानमन्त्रीको सरकारी निवासमा नै उनले बहिनीहरुको हातबाट अवीर लगाएका थिए भाइटीकाको दिन। बहिनीहरुले किनेर ल्याएको नयाँ लुगा लगाएर उनले एकछिन तास खेलेर रमाइलो पनि गरेका थिए।

यसपालि प्रचण्डको घरमा भाइटीकाको तयारी तीव्र रुपमा भइरहेको छ। उनलाई टीका लगाइदिन चितवनबाट बहिनीहरु काठमाडौं आइपुगेका छन्। तर, प्रचण्ड भने चुनावको चटारोले गर्दा भाइटीकामा पोहोरझैं रमाइलो गर्न पाउने अवस्थामा छैनन्। प्रचण्डका स्वकीय सचिव एवं छोरा प्रकाश दाहालले भाइटीकाको तयारीका लागि अध्यक्ष प्रचण्डले कुनै समय नछुट्याएको बताए। उनले भने, 'प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भर्खर भागबन्डा सकिएको छ (शुक्रबार एमालेसँग कुन क्षेत्रमा को उम्मेदवार बन्ने भन्ने टुंगो लागेको थियो), अब उम्मेदवार छनोटमा लाग्नुभएको छ। छलफल र बैठकले गर्दा भाइटीकाका लागि केही तयारी छैन।'

परिवारसँग तिहार मनाउन भरतपुर महानगरपालिका प्रमुख एवं प्रचण्डकी छोरी रेणु दाहाल पनि काठमाडौं आएकी छन्। प्रचण्डलाई टीका लगाउन दुईजना बहिनी चितवनबाट आएको रेणुले बताइन्। प्रचण्डका पाँच बहिनीमध्ये दुईजना विदेशमा छन् भने एक बहिनी काठमाडौं बानेश्वरमा बसोबास गर्दै आएकी छन्। यसपालि नेपालमा रहेका ३ बहिनी कमला पौडेल, विष्णुमाया भण्डारी र सीता अधिकारीले प्रचण्डलाई टीका लगाइदिने कार्यक्रम रहेको छ।  

रेणुले अध्यक्षको चुनावी छलफल र बैठकहरुका कारण धेरै समय भने नमिल्ने बताइन्। उनले भनिन्, 'बिहानैदेखि भेटघाट छलफल चलिरहेको छ, चुनावी चटारोले बुबालाई भेट्न पनि मुस्किल छ।' तिहारको अवसरमा धेरै पारिवारिक भेटघाट र रमाइलो गर्न नपाएपनि प्रचण्डले भाइटीकाका लागि भने समय निकाल्ने उनले बताइन्।

नारायणकाजीले ठूलाबाका छोरीहरुको हातबाट

गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईसँ चुनाव लड्न लागेका माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको प्राथमिकता पनि चुनावकेन्द्रित नै छ। उनी पार्टीबाट चुनाव लड्ने उम्मेदवार छनोटमा सहभागी भइरहेका छन् भने आफ्नो चुनावी अभियानलाई पनि अगाडि बढाइरहेका छन्।

नारायणकाजी श्रेष्ठका आफ्नै दिदीबहिनी छैनन्। उनलाई ठूलोबुबाका छोरीहरुले टीका लगाइदिँदै छन्। उनका स्वकीय सचिव सुरेश श्रेष्ठका अनुसार बबरमहलस्थित माइला बुबाका छोराहरुको घरमा हुने भाइटीका कार्यक्रममा नारायणकाजीले टीका लगाउनेछन्। सुरेशले भने, 'उहाँका आफ्नै दिदीबहिनी त हुनुहुन्न ठूलोबुबाका छोरीहरु राधादेवी श्रेष्ठ र विष्णुमाया श्रेष्ठले टीका लगाइदिनुहुन्छ।'

यस्तै माओवादी नेता रामबहादुर थापा बादललाई पनि हामीले सम्पर्क गर्ने प्रयास गरेका थियौँ। उनीसँग सम्पर्क हुन सकेन।

महराको निधार खाली

माओवादी नेता एवं उपप्रधानमन्त्री कृष्णबहादुर महराले यसपटक टीका लगाउने छैनन्। महरा एक्ला भाइ हुन् भने उनकी एक दिदी छन्। उनकी दिदी रोल्पामा बसोबास गर्छिन् भने महरा काठमाडौंमा। यसभन्दा पहिले भने तिहारको बेलामा उनी रोल्पा पुगेर दिदीको हातबाट टीका लगाउने गर्थे।

चुनावको व्यस्तताले कृष्णबहादुर महरा रोल्पा जान नसकेको उनका छोरा राहुल महराले बताए। रोल्पामा रहेका राहुलले भने, 'पहिले-पहिले फूपूबाट टीका लगाउनुहुन्थ्यो यसपाली बुबा काठमाडौंमा हुनुहुन्छ र फूपू यता रोल्पामा त्यसैले टीका नहुने भयो।'

वर्षमान पुनको टीका रोल्पामा

वर्षमान पुनले शुक्रबार काठमाडौं छोडेका छन्। उनी रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गर्नका लागि त्यता लागेका हुन्। शुक्रबार साँझसम्म उनको काठमाडौंमा अति व्यस्तता रह्यो। एमालेसँगको गठबन्धनमा निर्वाचन क्षेत्र बाँडफाट समितिमा रहेका वर्षमानको टीका सम्भवतः रोल्पामा नै हुने भएको छ।  

वर्षमान पुनका एक दिदी र दुई बहिनी छन्। उनकी दिदी मनकुमारी घर्ती रोल्पामा नै छिन् भने लालकुमारी पुन 'सुशीला' ललितपुरमा बसोबास गर्छिन्। कान्छी बहिनी सिर्जना पुन भने जापानमा छिन्।

वर्षमान पुनले समय मिल्यो भने दिदीबाट भाइटीका लगाउने सुशीलाले बताइन्। उनी आफैं पनि ललितपुरबाट प्रदेशसभाका लागि समानुपातिकमा उम्मेदवार बनेकीले दाइलाई टीका लगाउन रोल्पा जान पाइनन्। जापानबाट सृजना नआएको चार वर्ष भइसकेको छ।

दिदीबहिनी र भाइहरु जनयुद्धमा भूमिगत भएका वर्षमानले २०५२ यता खासै दसैंतिहार रमाइलोसँग मनाउन पाएका छैनन्। उनको घरमा कहिले कोही हुँदैन कहिले सैकोही। सुशीलाले वर्षमानको दसैंबारे भनिन्, 'युद्ध पहिले भाइटीका खुबै रमाइलोसित मनाइन्थ्यो, २०५२ सालमा जनयुद्ध सुरु भएपछि दाइदिदी युद्धमा जानुभयो म पनि गएँ, घरमा बस्ने वातावरण भएन।' शान्तिप्रकृयापछिको दसैं पनि रमाइलोसँग मनाउन नसकेको सुशीलाले बताइन्। उनले भनिन्, 'शान्तिप्रकृयापछि पनि खासै राम्रोसँग मनाइएन, यसपाली चुनावले गर्दा परिवार एकत्रित भएर भाइटीकामा लाग्न सकिएन।'

ओनसरीको टीका रोल्पाका दाइलाई

नेपालकी पहिलो महिला सभामुख ओनसरी घर्ती पनि रोल्पा गएकी छन्। वर्षमान पुनकी पत्नी ओनसरीका एक दाइ काठमाडौंमा छन् भने अर्का रोल्पामा नै बसोबास गरिरहेका छन्। ओनसरीले रोल्पामा रहेका दाइ तुलावीरलाई टीका लगाउने कार्यक्रम छ। उनका अर्का दाइ ननीराम घर्ती भने काठमाडौंमा नै बसोबास गरिरहेका छन्। सभामुखको कार्यव्यस्तताले गतवर्ष तिहारमा रोल्पा जान नसकेकी उनी भाइटीकाको दिन रोल्पा पुगेकी छन्।

जनयुद्धमा लागेकी ओनसरीको दसैंतिहार र भाइटीका पनि लामोसमययता व्यवस्थित हुन सकेको छैन।

बहिनी विजयाको हातबाट जनार्दनले थाप्नेछन् टीका

पूर्व गृहमन्त्री एवं माओवादी नेता जनार्दन शर्माले ललितपुर नक्खुमा बसोबास गरिरहेकी बहिनी विजया शर्माको हातबाट टीका लगाउनेछन्। शर्माका तीन बहिनी छन्। विजयाबाहेकका बहिनीहरु रुकुममा नै बसोबास गरिरहेको उनका स्वकीय सचिव सन्तोष रिजालले जानकारी दिए। विजयाको हातबाट जनार्दनसँगै उनका दुईजना भाइले पनि टीका लगाउने छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.